• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्वास्थ्य सेवा विभाग मेरो पेवा हो,डीजी मै बन्नुपर्छ भन्ने छ र ?

  •      /४ फाल्गुन २०७४, शुक्रबार १६:१३ ,  प्रकाशीत
  • तपाई काठमाडौं आएको फापेन है, डा. राजेन्द्र पन्तले देख्नै सकेनन् त ?

    म विगत ३६ वर्षदेखि नेपालको दुर्गम जिल्लाहरु डडेलधुरा, बाजुरा जस्ता क्षेत्रमा काम गरेको मान्छे । ३६ वर्षको करियरमा मैले धेरै जिल्लाहरुको नेतृत्व पनि लिँए । गुल्मी जिल्लालाई मानव सुचकांकमा देशकै सर्वोत्कृष्ट जिल्ला बनाउन सफल भयौं । वुटवलकै कुरा गर्दा वार्षिक ६० लाख आम्दानी हुने ठाउँमा मेरै नेतृत्वको टिमले ९ करोड २० लाख पुर्याउन सफल भयो । बुटवलमा काम गर्दा हालका स्वास्थ्यमन्त्री दीपक बोहरा त्यहिँ क्षेत्रको भएकोले चिनजान हुँदा उहाँले मेरो काम हेर्नु भएको थियो । पोखरामा पनि राम्रो काम गरिरहेको अवस्था थियो ।

    उहाँले मेरो काम गराई देखेर, संघियताको बदलिँदो अवस्थामा ‘यसले काम गर्न सक्छ’ है भनेर मलाई यहाँ ल्याएको अवस्था हो । र, डा. पन्तको विषयमा उहाँलाई नै धेरै थाहा होला मैले बोलिरहनु पर्दैन । मिल्दैन पनि । मेरो भनाई यत्ति मात्र हो की सरकारले मलाई जे जिम्मवारी दिएको छ त्यो पुरा गर्नु मेरो काम कर्तब्य र अधिकार कर्तब्य हो । म त्यहि काम गरिरहेको छु ।

    तपाई नियमित प्रकृयाबाटै विभागमा आईरहँदा डा. पन्तले विवाद झिक्नुको कारण चाहिँ के हो ? कतै पहिला तपाईहरु विच कुनै तुष त थिएन ?

    यो बुझाईको दृष्टिकोण हो । विभागको महानिर्देशक पद भनेको १२ औं तहको हो । डा. पन्त र म ११ औं तहका निमित्त हौं । निमित्त भनेको सरकारको दजविजको कुरा हो । सरकारले जिम्मेवारी दियो काम गर्यो जाउ भन्छ गयो । उहाँले जिकिर गर्न मिल्छ मिल्दैन उहाँलाई नै थाहा होला । उहाँले यसअघि आफुभन्दा ८ वर्ष सिनियर डा. पुष्पा चौधरीलाई हटाएर आउनु भएको पनि हो । म अहिलेसम्म काठमाडौं भ्यालीमा छिरेको पनि थिईन । म जस्तो मध्यम वर्गको ब्यक्तिले अवसर पाउँदा डा. पन्तलाई यत्रो पिडन हुनुपर्ने केहि देख्दिन । बरु मलाई कसरी हुन्छ फलाउनु, फुलाउनु पर्नेमा उल्टै अनेक बखेडा झिक्नु भयो । तुष त केहि थिएन ।

    मैले जान्न चाहेको तपाईहरु एउटै लेवलको ब्यक्ति विच यसरी टकराव हुनुको कारण पहिला पनि थियो की यहाँ आएपछि मात्रै भएको हो ?

    कसरी शुरु भयो, भन्ने कुरा मलाई भन्दापनि जसले टकराव गर्दैछ उसलाई नै सोध्दा ठिक होला । म सरकारले आईज भन्यो म आएँ, नियमित काम गरिरहेको थिए । आज १ महिना भयो अझैपनि कामै गरिरहेको छु । स्वास्थ्य सेवामा धेरै समस्या छ । स्थानीय निकायहरुमा आउनु भएका सरहरु इलेक्टेड हुनुहुन्छ, हामी लोकसेवाबाट आएकाहरु सेलेक्टेड छौं । अहिले इलेक्टेड र सेलेक्टेड विच द्वन्द्व भईरहेको छ । यसलाई द्वन्द्व नबनाईकन कलेक्टिभ रुपमा आपसी द्वन्द्वहरु घटाएर अगाडी बढ्नुपर्ने अवस्था छ । अब समयले यस्तै पार्यो भन्दैमा हामी विचलित पनि हुनुहुँदैन । अझ जिम्मेवारी लिएर ब्यवस्थित भएर अघि बढ्नु पर्छ ।

    तपाई स्वास्थ्यमन्त्री दीपक बोहराले च्यापेर उहाँकै चाहना र स्वार्थमा आउनु भएको भनेर चर्चापनि भयो नी ?

    हैन, मन्त्रीले च्याप्यो भन्दा पनि कसले कसलाई च्याप्यो भन्ने कुरा हो । ‘यसलाई विभागमा ल्याउँदा स्वास्थ्य क्षेत्रको ब्यवस्थापन गर्न सहज होला’ भनेर मन्त्री र सचिवको तजविजले आएको हो । उहाँहरुले मलाई कसरी ल्याउनु भयो त्यो उहाँहरुको पाटो हो ।

    ठ्याक्कै एक महिना भयो विभागमा आउनु भयो यहाँ भित्रको समस्याहरु केके देख्नु भयो त ?

    हेर्नुस्, यहाँका समस्याहरु मात्रै केलाउने हो भने, यो कोठा भरी हुन्छ । विभागको आन्तरिक समस्या, कर्मचारी ब्यवस्थापनका समस्या, चिकित्सकका समस्या, सरुवा बढुवाका समस्या छन् । यो भन्दा बढि समस्या देशमा देखिएको छ । जनताले सर्वसुलभ स्वास्थ्य सेवा पाएका छैनन् । जाजरकोट, कपिलवस्तु विरामी परेको छ । स्थानीय तहमा जनताले औषधोपचार पाएका छैनन् । त्यहाँको ब्यवस्थापन कसरी गर्ने ? स्थानीय निकाय र जिल्ला जनस्वास्थ्य कार्यालय विच समन्वय भईरहेको छैन यसलाई कसरी हल गर्ने ? यो घेराबाट उठेर अगाडी बढ्नु पर्नेमा हामी यहिँ भित्र अल्झिएर बस्दा राज्यलाई घाटा भएको छ । हामीले ब्यक्तिको समस्यालाई छाडेर राष्ट्रको समस्या हल गर्न अघि बढ्नुपर्छ ।

    कसैबाट प्रभावित भएर नियुक्ति हुँदा, जनताले पाउने सेवा सर्वसुलभ र गुणस्तरीय हुन्छ भन्नेमा कसरी विस्वास गर्ने ?

    प्रभावित भयो भन्ने कुरा हैन, को–कोबाट प्रभावित भयो भन्ने कुरा हो । उहाँले सात वर्ष सिनियरलाई पदबाट हटाएर डीजी बन्दा गगन थापाबाट प्रभावित हुनु भएको पो थियो की ? अझ त्यसअघि आएका पनि प्रभावित नै भएर आएकी यो सोध्नु पर्छ ।

    मन्त्री र सचिवले उर्पयुक्त पात्रहरु छनौट गरेर त्यस मध्येबाट एक जना छान्नुहुन्छ । संयोगले यसपटक म परे भन्दैमा मेरै विरुद्ध लाग्नुपर्छ भन्ने त हुँदैन । कसरी सेटल गर्ने, कसरी सहयोग गर्ने, स्वास्थ्यका समस्या कसरी हल गर्ने भन्नेमा पो जानुपर्छ । स्वास्थ्य सेवा मेरो पेवा हो, यहाँको डिजी मै बन्नुपर्छ भनेर हुन्छ ? आजै यहाँ १२ औं तहका डा. विनोदमान श्रेष्ठ डीजी भएर आउनु भएको छ । अब मैलेपनि उहाँलाई किन आएको भनेर मुद्दा हाल्न त मिल्दैन । म उहाँलाई हार्दिकताका साथ स्वागत गर्न चाहन्छु ।

    देशको स्वास्थ्य समस्या र विभागका समस्या केलाउँदा केके समस्या देख्नुहुन्छ ?

    मैले अघिपनि भनेको छु समस्याहरु । स्वास्थ्यकर्मीको ब्यवस्थापनमा समस्या छ । दुर्गममा अझैपनि जनशक्ति नभएर र भएकालाई समेत ब्यवस्थापन गर्न नसकेर पठाउन सकिएको छैन । कर्मचारीका सरुवा बढुवा लगायत समस्या छन् । हामी आफैंले तय गरेका कार्यक्रम समेत गर्न सकिरहेका छैनौं ।

    मुख्य रुपमा हामी स्वास्थ्यका मान्छेहरुमा काम गर्ने दृढ इच्छाशक्ति छैन । हामीविच काम गर्ने जनशक्ति छ तर, सम्बन्धित ठाउँमा पुर्याउन सकिरहेका छैनौं । अझैपनि ढिलो भएको छैन, हामसित जतिपनि महाशाखा र केन्द्रहरु छन् सबैले निश्चित कार्य क्षेत्र र परिधिभित्र रहेर काम गर्ने हो भने धेरै गर्न सकिन्छ ।

    औषधि उपकरण खरिदमा विभागले हरेक वर्ष करोडौं खर्च गरिरहेको हुन्छ, तर, ती औषधि उपकरण सम्बन्धित क्षेत्र र जनतामा पुग्न सकिरहेका छैनन्, खरिद गरेको औषधी उपकरण कहाँ जान्छ ?

    एकदमै ठिक कुरा उठाउनु भयो, हाम्रो अहिलेसम्मको सिष्टममा ‘सेन्ट्रल विडिङ लोकल पर्चेजिङ’ भन्नुको अर्थ बजेटको ७० प्रतिशत केन्द्रबाट टेण्डर हुन्थ्यो । ७० ओटा वस्तुहरु खरिद गर्दा विभिन्न झमेलाका कारण कहिले २० ओटा कहिले २२ ओटा मात्र खरिद हुन्थ्यो । यसले गर्दा जिल्लाहरुमा भनेजति औषधि जान सकेन । बरु, जिल्लाको २० प्रतिशत र क्षेत्रको १० प्रतिशत काम भने समयमै भएको पाएका छौं । टेण्डर प्रकृया झन्झटिलो र ढिलो भएको कारणले त्यस्तो भएको हो । अहिले ३५–३६ ओटा औषधि खरिद गर्न टेण्डर गरिसकेका छौं । निकट भविश्यमा सुधार हुँदै जानेमा म विस्वस्त छु ।

    विभागबाट खरिद गर्ने औषधि उपकरण खरिदमा पदाधिकारीहरुको चर्को चलखेल हुन्छ, डा. राजेन्द्र पन्तको वर्हिगमन नहुनुमा पनि केहि ब्यापारीको हात छ भन्ने कुरा बजारमा आएका छन् तपाईले के पाउनु भयो ?

    विगतमा चलखेल भयो भएन, यस बारेमा केहि बोल्दिन । तर, म आएको एक महिनामा त्यस्तो एउटै काम भएको छैन । विशुद्ध टेण्डरको परिधिभित्र रहेर काम गरिरहेका छौं । टेण्डर प्रकृयाको पनि आफ्नै नियम छ । सार्वजनिक खरिद नियमावलीलाई हेर्ने हो भने, आफ्नै घरको सामान समेत खरिद गर्न सकिने अवस्था छैन । ५ लाख भन्दा माथिको कुनैपनि सामान खरिदमा टेण्डरबाटै गरिएको छ ।

    टेण्डर प्रकृयामै विभागका कर्मचारी र हाकिमले ब्यापारीसँग सेटिङ गर्छन् र त्यहि अनुकुलको स्पेशिफिकेशन बनाउँछन् नी ?

    यो कुरा मेरो जानकारीमा छैन । मैले बोलेर काम छैन । तर, खरिद नियमावलीलाई आगामी दिनमा अझ ब्यवस्थित गर्न जरुरी छ । तपाईले भन्नु भएको विषयमा हामी सर्तक छौं ।

    दुर्गम क्षेत्रमा कार्यरत कर्मचारी र चिकित्सकलाई दिने सेवा सुविधा र दरवन्दी अनुसार काम हुन नसक्नुको कारण के हो ?

    यो मन्त्रालयले पोलिसी बनाएर कार्यान्वयन गर्ने कुरा हो । विभागले विभिन्न जिल्लाहरुमा रहेका डाक्टर र करारमा रहेकाहका विषयमा समस्या समाधान गर्ने कोशिष गरिरहेको छ । धेरै कुरा मन्त्रालयले गर्छ । दरबन्दीको ब्यवस्थापन २०४८ बल्लबल्ल ०६३ मा आउँदा सम्म केहि संसोधन भयो तर, अझै गर्न धेरै बाँकी छ । त्यत्तिबेलाको दरबन्दीले अहिलेको बढ्दो जनसंख्यालाई थेग्न सकिरहेको छैन । यसलाई अझ परिमार्जित गरेर जान आवश्यक छ । अहिले नयाँ संरचना अनुसार प्रत्येक गाउँपालिकाको हस्पिटल, जनस्वास्थ्य कार्यालयहरु र जनशक्तिको लेवलिङ गरिरहेका छौं । समय त लाग्छ नै तर, निराश भईहाल्नु पर्ने अवस्था चाहिँ छैन ।

    खासगरी दुर्गम क्षेत्रमा जाने चिकित्सक र कर्मचारीलाई दिने सेवा सुविधा कम भयो भन्ने गुनासा किन सुनिएन ?

    पक्कै कम छ, तर उहाँहरुले लोकसेवामा आउँदा नै यो सेवा सुविधामा काम गर्छु भनेर आउनु भएको हो । त्यसो भनिरहँदा उहाँहरुलाई पेल्नेपनि हैन । भत्ता ब्यवस्थापन, पारिवारिक ब्यवस्थापन कसरी गर्ने विषयमा सेवा सुविधा बढाउनै पर्ने देखिएको छ ।

    देश संघिय संरचनामा गईसकेको अवस्थामा अबको स्वास्थ्य प्रणाली र नीति कसरी अगाडी बढ्ला ?

    हाम्रो देशको संघिय संरचनामा केहि द्विविधाहरु रहेका छन् । जस्तो अहिले केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कुरा आएको छ । हामीले ७ ओटै प्रदेशमा स्वास्थ्य मन्त्रालय रहनु पर्छ भनेर माग गरेका छौं । देशभर ९० हजारको हाराहारीमा ३८ हजार मात्रै हाम्रा कर्मचारी छन् । तीनको ब्यवस्थापन गर्न पनि प्रदेशमा मन्त्रालय रहनुपर्छ । यो कुरा सामान्य प्रशासन मन्त्रालयलाई राम्ररी बुझाउन नसक्दा र मन्त्रालयले नबुझिदिँदा समस्या आइरहेको छ ।

    यसरी प्रदेश पिच्छे हरेक मन्त्रालयबाट मन्त्रालय थप्दै जाँदा देशको अर्थतन्त्रले थाम्न सक्छ ?

    फेडलिजम भनेकै त्यहि हो, यसमा राज्यलाई बढि आर्थिक भार हुन्छ भने, जनताले सेवा बढि पाउँछन् । हामी जनताको सेवा पट्टि रहेकोले यसलाई ब्यवस्थापन कसरी गर्ने कुरा त राज्यले तय गर्ने हो । आय आर्जनका स्रोत बढाउने, बैज्ञानिक र प्रगतिशिल स्वास्थ्य शिक्षा दिने, करको दायरा बढाउने कुरा राज्यले निर्धारण गर्ने कुरा हो ।

    हामी समस्या थाहा पाउँछौं तर, समाधान गर्न किन लाग्दैनौं ?

    तपाईको कुरा ठिक हो, यसो हुनुमा राजनीतिक अस्थिरता पनि एउटा पाटो हो । ६/६ महिनामा सरकार परिवर्तन हुँदा कर्मचारी पनि स्थिर भएनन् । विभागमै हेर्दापनि २०–३० वर्षमा २०–२१ जना डिजी भए । वर्षको एक जना डिजीसमेत स्थिर भएर काम गर्न नसकेपछि असर परिहाल्छ नी ! सबैतिर भागवण्डाको राजनीति छ । भागवण्डाको राजनीतिले देश उँभो लाग्दैन । भागवण्डाको ठाउँमा बरु एउटा शक्तिशाली आयोग बनाएर पो जाने होकी ! देशको विकास चाहने हो भने, एजेण्डा चाहिन्छ । हामीसँग कुनै एजेण्डा छैन । हाम्रो विकासको गति ‘काँशी जानु कुतिको बाटो’ जस्तो भएको छ ।

    ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन के के भईरहेको छ ?

    स्वास्थ्य नीति ड्राफ्ट भईरहेको छ । कुन ठाउँमा कस्तो प्रकारको हस्पिटल बनाउने कुरा आईरहेको छ । गाउँपालिकामा कम्तिमा १५ वेडको हस्पिटल बनाउने, त्यहाँ त्यहि अनुरुपको जनशक्ति ब्यवस्थापन गर्ने कुरा आएको छ । यस हिसाबले काम गर्ने हो भनेपनि, हामीले ७५३ ओटा हस्पिटल बनाउनुपर्ने देखिएको छ । त्यहि अनुसार जनशक्ति समेत ब्यवस्थापन गर्नुपर्ने अवस्था छ ।

    कुरा कहाँ निर आयो भने, ७५३ ओटा हस्पिटल बनाउन योजना त चाहियो नी, त्यो योजना बनेको छैन । वर्षको सय ओटा मात्र बनाउन सकियो भनेपनि ८ वर्ष लाग्ने भयो । दुई अढाई सय ओटा बनाएर जाँँदा पनि जनताले दुखः पाउने भए । यस्तो अवस्थामा हामीले अहिले भएका संरचनालाई प्रयोग गर्दै, सुधार गर्दै आवश्यक्ताका आधारमा अगाडी बढाउनु पर्छ । कतिपय अवस्थामा हामीले शक्ति र भक्तिको भरमा पनि काम गर्नुपर्ने अवस्था छ, यसलाई हटाउनुपर्छ ।

    जनताको स्वास्थ्य विमा सफल हुन नसक्नुको कारण के हो ?

    सफल नभएको हैन । कार्यान्वयन तहमा केहि समस्या चाहिँ छ । जनताले सेवा खोजे, राज्यले ब्यवस्थापन गर्न सकेन । स्वास्थ्य विमा कार्यक्रम स्वास्थ्य जनशक्तिसँग जोडिएको कुरा पनि हो । आउँदो वर्ष सम्ममा ७७ ओटै जिल्लाहरुमा विमा कार्यक्रम लैजाने योजना छ । नयाँ बजेटमा कार्यक्रम पार्नका लागि योजना बनाउने क्रममा छौं ।

    भोलीदेखि नयाँ डिजी आउँदै हुनुहुन्छ, तपाई पोखरा फर्कने की कतै सेटल हुने ?

    म नेपाल सरकार स्वास्थ्य सेवाको कर्मचारी भएकोले सरकारले मलाई जुन किसिमको भूमिका दिन्छ निर्वाह गर्न तयार छु । म भन्दा सिनियर आउँदै हुनुहुन्छ, उहाँका विरुद्ध म अदालत जाने कुरा हुँदैन । १ महिनाको कामले मैले के सिकेँ भन्ने कुरा ठूलो हो । सिस्टम अनुसार जान सकिन, जान दिएनन् केहि खल्लो भने अवस्य भएको छ । मन्त्रालयले कहिँ न कहिँ सेटल गर्ला ।

    मकालु खबर

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.