काठमाडौँ — २०६३ वैशाख ११, पछिल्लो राजनीतिक परिवर्तनको प्रस्थानविन्दु । लाखौंको संख्यामा जनता सडकमा निक्लिएको त्यो दिनभन्दा धेरै अघिदेखि सडक सुनसान थियो । नेताहरू थुना र नजरबन्दमा थिए । प्रेसमाथि सेन्सरसिप लगाएर राजाको शासनविरुद्ध लेख्न–बोल्न बन्देज गरिएको थियो ।
‘त्यो ऐतिहासिक दिन थियो, जो नेपालको राजनीतिमा न पहिले आएको थियो न फेरि आउने छ,’ नेपाल पत्रकार महासंघका पूर्वसभापति विष्णु निष्ठुरी भन्छन् । प्रत्येक पटक वैशाख ११ ले सडकभरि ओइरिएका मानिस अनि आक्रोश र उल्लास मिश्रित तिनका अनुहारको अभिव्यक्ति झल्काउने उनी बताउँछन् । ‘यस्तोमा पत्रकार महासंघले बिस्तारै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आवाज उठाएर आन्दोलन सुरु गर्यो,’ उनी सम्झन्छन्, ‘नेपाल बारले तुरुन्त त्यसमा साथ दियो, इन्जिनियरिङ एसोसिएसन, चिकित्सक संघ, प्राध्यापक संघ र शिक्षक संघ/संगठन पनि यसमा जोडिन आउँदा पेसागत संगठनको ठूलो गठबन्धन नै बन्यो जसका कारण आन्दोलनको राप रताप बढ्न थाल्यो ।’
आन्दोलनक्रममा निष्ठुरी १९ पटक पक्राउ परे भने २२ दिन लगातार थुनिए । तर उनले पत्रकार महासंघलाई आन्दोलनको केन्द्रमा राख्न छाडेनन् । बिस्तारै नागरिक अगुवा पनि यसमा सामेल भए । ‘नेताहरूप्रति चरम अविश्वास बढेकाले तिनले आन्दोलन गर्न सक्ने र गरे पनि जनताले साथ दिने अवस्थै थिएन,’ नागरिक अगुवा श्याम श्रेष्ठ सम्झन्छन्, ‘हामी सडकमा तारन्तार निक्लँदा आममानिसले साथ दिए ।’ दिन बित्दै जाँदा लाखौंलाख मानिस सडकमा ओइरिए । त्यही आन्दोलनका कारण २ सय ४० वर्ष पुरानो राजतन्त्रको जरो उखेलिएको ठान्छन् अर्का नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डे । ‘त्यही आन्दोलन थियो, जसले गर्दा नयाँ संविधान, गणतन्त्र र संघीयतासम्म जान सम्भव भयो,’ उनी भन्छन्, ‘यही आन्दोलनले हतियार उठाएको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्यायो र राजालाई बोक्ने दलहरूलाई गणतन्त्रको बाटोमा हिँडायो ।’
उपलब्धिका हिसाबले २०६२/६३ को जनआन्दोलनलाई नेपालको सबभन्दा ठूलो राजनीतिक परिवर्तन ठान्छन् उनी । ‘गणतन्त्र आउँदा सही अर्थमा लोकतन्त्र आएको छ र संघीयता कार्यान्वयन भइरहँदा बल्ल नागरिकको घरदैलोमा शासनसत्ता पुगेको म ठान्छु,’ उनी भन्छन्, ‘यति हुँदाहुँदै पनि यो १२ वर्षमा भएका उपलब्धिले महिला, जनजाति, मधेसी, आदिवासीलगायतलाई पूर्ण सन्तुष्टि दिन सकेको छैन । आउने दिनले देला भन्नेमा आशावादी छु ।’ नागरिक आन्दोलन चर्किंदै जाँदा कवि, लेखक, कलाकार पनि सक्रिय हुँदै गए । त्यसमध्येका एक थिए अर्जुन पराजुली, जो आन्दोलनकारीका माझमा गएर व्यंग्य कविता सुनाउँथे । ‘त्यो बेला सम्झँदा म रोमाञ्चित हुन्छु,’ उनी भन्छन्, ‘मान्छेको मुक्तिका लागि भएको आन्दोलनमा म पनि सहभागी थिएँ भन्ने तथ्यले भावुक पनि हुन्छु । एक जुगमा एकपटक आउने त्यो दिनका लागि हामीले संघर्ष गर्यौं र ल्यायौं पनि ।’
पाण्डे, श्रेष्ठ र निष्ठुरीले झैं पराजुली पनि जनआन्दोलनलाई ठूलो फड्को मान्छन् । ‘त्यो समयको माग थियो र आन्दोलन अनिवार्य,’ उनी भन्छन्, ‘त्यसपछि भएका वा नभएका घटना/परिघटना त्यसपछिकै समयमा गर्नुपर्ने काम थियो । जनआन्दोलनलाई यसमा दोष दिन मिल्दैन ।’कान्तिपुरमा खवरछ।
Related