कस्तो संस्कार ! सरसफाइ गर्न पनि विदेशी आउनु पर्ने, मोदीको स्वागतमा राजेन्द्र महतोको झाडु
तपाईको प्रतिक्रिया





काठमाडौं । नेपाली राजनीतिक संस्कार अचम्मको छ । काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश शहरमा उचित फोहोरको व्यवस्थापन हुन सकेको छैन । नेता र सरकारले यसप्रति गम्भीर चासो पनि दिएको देखिन्न । तर, कुनै विदेशी उच्च पाहुना आउने भए सरसफाइ गर्न नेता तथा मन्त्रीहरु आफैं झाडु लिएर सडकमा उत्रन्छन् ।करिब एक वर्षअघि
मेयरमा निर्वाचित भएलगत्तै झाडु लिएर सडकमा उत्रिएका थिए काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य । तर, अहिलेसम्म काठमाडौं फोहोर र दुर्गन्द हट्न सकेको छैन ।बिहीबार फेरि यस्तै दृश्य देखियो जनकपुरमा । पूर्वमन्त्री तथा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र २ नम्बर प्रदेश मुख्यमन्त्री लालबाबु राउतसहितका नेताहरुले झाडुले सडक बढारे । कारण थियो यही वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण गर्न जनकपुर आउने कार्यक्रम छ ।
उनको स्वागतमा उनीहरु सडक बढार्न झाडु लिएर सडकमा उत्रिएका हुन् । आफ्नो शहर, गाउँ, टोल सफा गर्न विदेशी उच्च तहका पाहुना आउनु पर्ने हो ? नत्र जिम्मेवार तहमा पुगेका राजेन्द्र महतोले शहर सफा राख्ने बाध्यकारी व्यवस्था गर्न किन सकेनन् ? राउत मुख्यमन्त्री भएको पनि धेरै महिना भइसक्यो । जनकपुर सफा राख्न के कदम चाले ? छिमेकी देशका प्रधानमन्त्री आउने भएपछि आफैं झाडु लिएर सडक बढार्न जानु पर्ने अवस्था किन आयो ?नेता तथा उच्च प्रशासकहरु सरसफाइ गर्न जान नहुने भन्ने होइन । नीति निर्माताहरु आफैं सबै ठाउँमा पुग्ने भन्दा पनि व्यवस्था लागू गरेर सधैं सरसफाइ हुने अवस्था सृजना गरेर स्वच्छ वातावरणयुक्त मुलुकको विकास गर्ने तर्फ उनीहरु लाग्नु पर्छ ।
Related