पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल प्रति विज्ञको धारणा विकास विरोधी भएको आरोप
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा । सरकार र चीन सरकारबीच सहमति भएर निर्माण प्रक्रिया अगाडी बढेको पोखरामा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल बन्न नदिन बिज्ञटोलीको आडमा षडयन्त्र सुरुभएको भन्दै पोखरेलीहरुले आक्रोश पोखेका छन्।विज्ञ समूहले पोखरा विमानस्थल निर्माणबारे निकालेको प्रतिवेदन विकास विरोधी भएको पोखरेलीले आरोप लगाएका छन्।
पोखराका उद्योगी ब्यवसायी सहित पर्यटन र राजनीतिकर्मीहरुले कुनैपनि बाहनामा एयरपोर्टको निर्माण नरोक्न सरकारसँग आग्रह गरेको छन्। पर्यटन मन्त्रालयले गठन गरेको विज्ञ समूहले पोखरामा जेट विमान अवतरण गराउन नसकिने भन्दै विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य भएको प्रतिवेदन पेश गरेको थियो। पोखराको हवाई चापले पोखरा विमानस्थल सजिलै आत्मनिर्भर हुन कठीन हुने र लामो समयसम्म घाटामा विमानस्थल चलाउनुपर्ने भन्दै विमानस्थल निर्माणमा पुनःविचार गर्न सरकारलाई सुझाव दिएको थियो ।
बिज्ञको प्रतिवेदन प्रति पोखरेलीले बिकास विरोधि र पोखराको हित नचाहने समूहले विमानस्थल रोक्ने कुचेष्टा गरेको आरोप लगाएका छन्। ‘काठमाण्डौंका विज्ञ कर्मचारी र पर्यटन ब्यवसायीले पोखराको हित चाहेका छैनन् । त्यसकै प्रतिविम्ब यो प्रतिवेदन आएको हो,’ नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले भने–हाम्रा मन्त्रीजी पनि तिनीहरुको चक्रब्यूहमा परेका छन्।,पोखरेलीलाई कुनैपनि हालतमा यो मान्य हुदैन।’
विमानस्थल निर्माण चरणमा पुगिसकेको अवस्थामा कसैले पनि रोक्न नसक्ने उनको भनाई छ । ‘पर्यटनमन्त्रीको काम विज्ञ समूह गठनमा सबै छर्लङग छ । गलत मान्छेलाई समूहमा राखेर अहित हुने काम सरकार र मन्त्रीहरुले गरेका छन, उनले भने–अव ओलिले पनि यो प्रोजेक्ट रोक्न सक्दैन, मन्त्री त परको कुरा । मन्त्रीहरुले केही ढिलाई चाहीँ गर्न सक्लान् ।’
नेपाली काँग्रेसका सभापति कृष्ण केसीले विमानस्थल निर्माणमा राजनीति नगर्न चेतावनी दिए । ‘हामी अहिले प्रतिपक्षमा छौं । तर, कहिल्यै चर्को बोल्दैनौं,’ उनले भने। बाध्यता बस हामीलाई कडारुपमा प्रस्तुत हुन बाध्य नपारियोस्। विमानस्थल रोक्ने काम भए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ,बेलैमा सचेत हुदा राम्रो होला।’
विमानस्थल विरोधीलाई परास्त गर्न पोखरेली समूदाय पुनः एक पटक उठ्नुपर्ने उनको भनाई छ । दुईबर्षअघि देखि निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलमा बखेडा झिकेर निर्माणमा अवरोध गर्न खोजिएको भन्दै उनले भाँजो नहाल्न चेतावनी दिएका छन् ।
नेकपाका केन्द्रिय सदस्य राजकाजी गुरुङले पोखराप्रति काठमाण्डौंको हेपाहा प्रबृत्ति जीवितै रहेको बताए । ‘विश्वका अति साना र कमजोर भूमिमा पनि ठूला विमान ल्याण्ड हुने विमानस्थल बनेका छन, उनले भने–पोखरामा कुनै समस्या छैन । यो पोखराको विकास विरोधी कुतर्कहो।’ कुनैपनि हालतमा विमानस्थल निर्माण रोकिन नहुने भन्दै उनले अवरोध पन्छाएर निर्माण कार्य पूरा गर्न आग्रह गरे ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखले पोखराको बिकास र समृद्धिको विरुद्ध जत्था खडा गरिएको आरोप लगाए । ‘सँधै पोखराको विपक्षमा आवाज उठाउनेलाई कथित विज्ञ समूहमा राखेर एयरपोर्ट निर्माणलाई कमजोर बनाउन खोजिएको छ’ उनले भने । ‘विज्ञ समूहले निकालेको प्रतिवेदन पनि सही होईन भन्दै सरकारले झुक्याउन खोजेको छ,।’ प्रतिवेदन नियतबश आएको अध्यक्ष पालिखेले आरोप लगाए। साना बडीको जहाज पनि ल्याण्ड गर्न मिल्दैन भन्नु नै विमानस्थल निर्माण नगर भन्नु हो । यो पोखरेलीलाई मान्य छैन ।’
एयरपोर्टको बिषयमा बाहिरिएको रिपोर्टप्रति पर्यटन मन्त्रालय र पर्यटन मन्त्री रवीन्द्र अधिकारीले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाई छ ।
‘एयरपोर्ट कसरी सम्पन्न गर्ने भनेर छलफल गर्ने हो । निर्माण सम्भव छैन भनेर बखेडा निकाल्ने हैन, काँग्रेस नेता प्रकाश खनालले भने। ‘बिभागिय मन्त्री नै पोखराको हुँदा छिटो निर्माण हुनुपर्नेमा विज्ञ समूह भन्दै बखेडा झिक्नु गलत नियत हो।’
सरकारले नै राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि सारेर काम गरेको अवस्थामा सरकारकै विज्ञ समूहले विकास विरोधी प्रतिवेदन सार्वजनिक गर्नु दुर्भाग्यपूर्ण भएको उनको भनाई छ । उनले विमानस्थलमा प्राविधिक र आर्थिक कुनैपनि दृष्टीकोणले योग्य अयोग्य छुट्याउने समय नरहेको भन्दै निर्माण सम्पन्न गर्नुको विकल्प नभएको बताए ।
प्रतिवेदन बेमौषमी बाजा ः मूख्यमन्त्री गुरुङ
प्रदेश नम्बर ४ का मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन मन्त्रालयले गठन गरेको विज्ञ समूहको प्रतिवेदनलाई बेमौषमी बाजाको संज्ञा दिएका छन् ।
‘यो बेलामा के को विज्ञ समूह ?’, पोखरा उद्योग वाणिज्य संघले पोखरा विमानस्थल निर्माणप्रति विज्ञ समूहको नाममा आएको प्रतिवेदनप्रति असन्तुष्टी जाहेर गर्दै ज्ञापनपत्र बुझाएपछि उनले भने,‘पोखरामा जसरी पनि एयरपोर्ट बन्छ, अझ यसको रनवे ५ सय मिटर थपिन्छ ।’
उनले पर्यटनमन्त्री रवीन्द्र अधिकारीले गठन गरेको विज्ञ समूहलाई औचित्यहीन भएको बताए । केन्द्र सरकारले प्रदेशहरुलाई अधिकार दिन आनाकानी गर्दै आएको अभिव्यक्ति दिँदै आएका मूख्यमन्त्री गुरुङले आफू पर्यटनमन्त्री हुँदा देखि नै विमानस्थलको जग्गा मुआब्जा र निर्माण कार्यलाई अगाडि बढाउन खेलेको भूमिकाको स्मरण पनि गरे ।
Related