बेपत्ता पौडेलको अझै लागेन पत्तो, प्रशासनद्धारा उनको खोजीमा सेतीको ड्याम खोल्दै
तपाईको प्रतिक्रिया





पोखरा, असार १० । पोखरा लेखनाथ महागनरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेललाई खोज्नका लागि आज सेती ड्याम खोल्ने तयारी गरिएको छ । खोंचमा अड्केको हुन सक्ने भन्दै ड्याम खोल्न लागिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।मर्निङवाक जाने भनेर शनिबार विहान ५ बजे घरबाट निस्केका पौडेलको अवस्था अझै पत्ता लागेको छैन ।
पौडेल हराएको भन्दै परिवारले प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएको छ । निवेदन आएलगत्तै कास्की प्रहरीले शनिबार विहानैदेखि पौडेल जानसक्ने सम्भावित ठाउँहरुमा खोजी गरिरहेको छ । खोजी आइतबार पनि जारी रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए ।
स्थानीयले महेन्द्रपुलबाट सेती नदीमा हामफालेको भन्दै दिएको सूचनाको आधारमा शनिबार प्रहरीले सेती नदी वरपरसमेत खोजी गरेको थियो । विहान साढे ५ बजे हरियो टिसर्ट लगाएको व्यक्ति सेतीमा हामफालेको देखेको र आफूले तत्कालै प्रहरीमा जानकारी गराएको स्थानिय प्रत्यक्षदर्शी शान्ती श्रेष्ठले बताएकी छन् । प्रहरीले सेती वरपर रेस्क्यू टोली नै प्रयोग गरेर खोजी गरेपनि आझैसम्म केहिपनि पत्ता लगाउन सकेको छैन ।
प्रशासनले ड्याम खोल्दा नदीको आकार बढ्ने भएकाले सेती आसपासमा नबस्न सूचना जारी गरेको छ । ‘विशेष कारणबश सेतीको ड्याम खोल्नुपरेकोले यसबाट पर्ने भएको छ, सूचनामा भनिएको छ–काम वा अन्य कुनैपनि कारणले सेती आसपासमा नजान प्रशासनले आग्रह गर्दछ ।’
पौडेल शनिवार विहानदेखि बेपत्ता छन् । प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ । उनको शनिवार दिनभर खोजी गरेपनि भेट्टाउन सकिएको थिएन । त्यसपछि आईतबार पनि विहानैदेखि खोजीकार्य चलिरहेको छ ।
यसैबीच, पोखरा लेखनाथ महानगरपालिकाले बरिष्ठ अधिकृत पौडेलको बेपत्ताप्रति महानगर स्तब्ध भएको उल्लेख गर्दै उनको खोजीमा सघाइदिन अपील गरेको छ ।
महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आइतबार विज्ञप्ति जारी गर्दै पौडेलको खोजी भइरहेकाले त्यसमा सहयोग गरिदिन महानगरवासीमा अनुरोध गर्नुका साथै धैर्यधारण गरेर बसिदिनपनि आग्रह गरिएको छ ।प्रमुख जिसीले जारी गरेको विज्ञप्तिमा पोडेलको खोजीका लागि कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाइएको छ ।
Related