पोखरा ।नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्दै आएको शान्ति पत्रकारिता पुरस्कारबाट शुक्रबार पोखरामा आयोजित कार्यक्रममा पत्रकार राजबहादुर गुरुङलाई सम्मान गरिएको छ।
पूर्णप्रसाद बराल, मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापित गण्डकी प्रदेशस्तरीय पुरस्कार २५ हजार ५ सय ५५ नगद सहित सम्मानपत्र र दोसल्लाले महायोगी सिद्धबाबा डा.श्री वैष्णव कृष्णदासजी महाराजले संस्थाका तर्फबाट प्रदान गरे।
कार्यक्रममा कृष्णदासजी महाराजले समाजमा सदाचार आवश्यक भएको र प्रत्येक व्यक्तिले आफ्नो साधनाका माध्यमबाट मानसिक शान्ति प्राप्त गर्ने बताउँदै यसले समाज एवं राष्ट्रका लागि योगदान गर्नसक्ने धारणा राखे।
मानव मिलन केन्द्रका संस्थापक डा. मणिभद्रमुनीजी महाराजले सकारात्मक सोच र चिन्तनका साथ समाजको परिवर्तन सम्भव भएको बताउँदै सकारात्मक भावनाका साथ पत्रकारले कलम चलाउनुपर्ने धारणा राखे।
कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुर थापा, कांग्रेस नेता शुक्रराज शर्मा, पूर्व सांसद शारदा पौडेल, पत्रकार गंगाधर पराजुली, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, युनियन कास्कीका अध्यक्ष शिरोमणि बराल, उपाध्यक्ष माधव रेग्मी, सम्मानित व्यक्तित्व राजबहादुर गुरुङ, भोला बराल, विमला भण्डारीलगायतले बोलेका थिए।
Related