स्थायी करार शिक्षक भन्छन – ‘कि मर्छौ, कि त स्थायी भएरै छाड्छौं’ , असोज १५ र १६ गते सामूदायिक विद्यालय बन्द गर्ने
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा । संयुक्त अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले अब जारी हुन लागेको संघीय शिक्षा ऐनमा विज्ञापन नं १ र २ लाईझैं विज्ञापन नम्बर ३ का शिक्षकहरुलाई पनि न्यूनतम अंक ल्याउँदा लिखित परीक्षामा नाम निस्कने वातावरण मिलाईदिन सरोकारवाला सबै पक्षलाई आग्रह गरेको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो आग्रह गरेको हो । समितिले धेरैभन्दा धेरै परीक्षार्थीको लिखित परीक्षामा नाम निकाल्ने अवसर प्रदान गर्नको लागि विज्ञापन नम्बर १ र २ मा बढी भएका दरवन्दीहरु विज्ञापन नम्बर ३ मा परीक्षा दिने परीक्षार्थीहरुको व्यवस्थापनमा समायोजन गर्नुपर्नेपनि माग गरेको छ ।
त्यस्तै समितिले आन्दोलन वा विविध कारणले आन्तरिक परीक्षाबाट बञ्चित भएका अस्थायी शिक्षकहरुलाई पुनः परीक्षा दिन पाउने अवसर दिलाउनुपर्ने पनि माग गरेको छ । समितिले यति गर्दागर्दैपनि यदि कोही साथीहरु विस्थापन हुने अवस्था देखिएमा अर्को विद्यालय, तह वा राहत कोटामा पुनस्र्थापना गर्नुपर्ने पनि माग अघि सारेको छ ।
त्यस्तै सुविधाको फारम भरेका अस्थायी शिक्षकहरुलाई दिईने भनिएको उपदान रकम औषधोपचारको खर्चसहित एकमुष्ट प्रदान गर्न अविलम्ब प्रकृया शुरु गर्नुपर्ने पनि माग विज्ञप्तीमा उल्लेख गरेको छ ।
आफूहरुले अघि सारेका मागहरु पूरा गर्न अविलम्ब प्रकृया अगाडि नबढाईएमा समितिले पुनः विगतका भन्दा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ ।आफूहरुले २० औं वर्ष पढाउँदापनि अहिलेसम्म स्थायी नगरिएकोमा आक्रोश पोखेका थिए । अब सर्वोच्च अदालतको फैसलाबमोजिम आफूहरुलाई स्थायी गराउन जस्तोसुकै आन्दोलन गर्नपनि पछि नपर्ने उनीहरुको भनाई छ ।
उनीहरुले बाँच्नको लागिपनि अब आन्दोलन गर्नको विकल्प नरहेको स्पष्ट पारे । उनीहरुले आफूहरुसँग अब कि त मर्नु र कि त स्थायी हुनुको विकल्प नभएकोपनि जिकिर गरे ।
Related