कास्की प्रहरीले सुरु गर्यो चाडबाड विशेष सुरक्षा योजना,अब रोकिएला त चोरी र अपराधिक घट्ना
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा । कास्की प्रहरीले नजिकिँदै गरेको चाडबाडलाई लक्षित गरी ‘चाडबाड विशेष सुरक्षा योजना–०७५’ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले चाडबाडको समयमा हुन सक्ने सम्भावित अपराधिक घटना तथा सवारी दुर्घटनालाई नियन्त्रण गर्न विशेष सुरक्षा योजना ल्याएको कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिए ।
‘जिल्लाभरी सम्पूर्ण स्थानमा जम्माजम्मी ५८६ प्रहरी परिचालन गरिनेछ,’ उनले भने, ‘१७ प्रकारका सुरक्षा विशेष योजनासहित प्रहरीले जिल्लाबासीलाई सुरक्षा दिने हुँदा ढुक्क भएर चाडबाड मनाउन आग्रह गर्दछु ।’
प्रहरीले सुरक्षा योजना विशेष निर्देशिका बनाई कार्यान्वयनमा ल्याइने एसपी रानाको भनाई छ । कमाण्डपोष्ट, सिआरभी परिचालन, हाइवे पेट्रोलिङ, मोबाइल गस्ती, मोटरसाइकल गस्ती वित्तिय क्षेत्र, एम्बुसिङ शहरका मुख्य १९ विशेष स्थानमा, धार्मिक स्थल सुरक्षा, सादा पोशाकमा प्रहरी परिचालन गरिने एसपी रानाले बताए ।
त्यस्तै, सडक दुर्घटना न्यूनिकरणका लागि प्रहरीले बसपार्क क्षेत्रमा यात्रु सहायता कक्ष निर्माण गर्ने भएको छ । पृथ्वीचोक र बाग्लुङ बसपार्कमा स्थापना गरिने सहायता कक्षले यात्रुबहाक बसले सिट क्षमताभन्दा बढी यात्रु ओसार्न खोजे वा भाडा असुलीमा मनोमानी गर्न खोजेमा नियन्त्रण गरिने प्रहरीले जनाएको छ ।
ग्रामिण क्षेत्रमा हुन सक्ने अपराधिक क्रियाकलापलाई रोक्न प्रहरीले ग्रामिण सुरक्षा सयन्त्र निर्माण गरिने भएको छ ।
त्यस्तै, चाडबाडलाई नै लक्षित गरी लागु औषध कारोबार समेत फस्टाउन सक्ने पूर्वानुमान सहित प्रहरीले कोत्रे, गगनगौडा, विजयपुर, तालचोक, याम्दी, हेमजा, कालिमाटी, खाडेखोला सहितका क्षेत्रमा कुकुरसहितको प्रहरी चेकिङ कडाईका साथ गर्ने भएको हो ।
नागरिकको आवश्यकता अनुसार कुनैपनि समयमा प्रहरी सेवाबाट बञ्चित नरहने अवस्था निर्माणका लागि कार्यालयले २४ सैं घण्टा जनशक्तिलाई प्रभावकारी तवरले परिचालन गरिएको डिएपी एवं प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।
Related