पोखराबाट प्रकाशित हुने पत्रिकामा कालो पोतिने,अनलाइन, टेलीभिजन र रेडियोले प्रसारण रोक्ने
तपाईको प्रतिक्रिया





पोखरा । पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै काठमाण्डौंमा प्रदर्शन गरिएको छ । अनलाइन पत्रकार संघले काठमाण्डौंको माइतीघरमा प्रदर्शन गरेको हो । विद्युतीय अपराधको तरबार नदेखाउ, पत्रकारले लेख्ने हो लेख्न पाउनुपर्छ भन्दै संघले माइतीघरमा प्रदर्शन गरेको हो ।
कास्कीबाट प्रकाशन हुने ताण्डव साप्ताहिक र ताण्डनन्युज डटकमका सम्पादक अर्जुन गिरीलाई साइबर अपराधमा मंगलबार जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरेको छ ।
सोमबार सिआइबीले पोखराबाट काठमाडौं लगेका गिरीलाई मंगलबार अदालतले म्याद थप गरेको हो । बिरामी गिरीलाई सिआइबीकै नियन्त्रणमा रहने गरी अस्पताल भर्ना गरिएको छ ।
पोखराका व्यवसायी विपेन्द्र बतासले ठगी गरेको लेखेका गिरीलाई साइबर क्राइम अन्तर्गत प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको हो । सिआइबीले अनलाइन नै दर्ता नगरी चलाएको भनी मुद्दा दायर गरे पनि उनका पत्रिका र अनलाइन दुवै दर्ता छन् ।
मंगलबार प्रक्रिया पु¥याएर गिरीलाई रिहा गरिने अपेक्षा गरेका पत्रकार ३ दिन म्याद थप भएपछि आन्दोलित भएका छन् । गण्डकी प्रदेशका विभिन्न जिल्लामा मंगलबार जिल्ला प्रशासन र प्रहरी कार्यालय अगाडि पत्रकारले धर्ना दिएका छन् ।
बुधबार पोखराबाट सञ्चालन हुने सञ्चार माध्यमले सामूहिक विरोध जनाउने भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले विरोधका कार्यक्रम तय गरेको हो । महासंघको आग्रहमा पत्रिकाहरुले सम्पादकीय कोलममा कालो पोतेका छन् भने टेलिभिजन र रेडियोले बिहान ६ बजे ९० सेकेन्ड प्रसारण रोक्नेछन् । यहाँका अनलाइनले कालो ब्यानर राखेका छन् ।
त्यसैगरी पत्रकारहरुले काठमाण्डौंमा ‘पक्राउ परेका पत्रकारलाई तत्काल रिहाई गर, लेख्नपाउन पत्रकारको संवैधानिक अधिकार रक्षा गर, विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिएको छ ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट सहितका पदाधिकारी, अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।
पत्रकार गिरीलाई यसअघि सोमबार पत्रकार महासंघको रोहवरमा छाडिएपनि मंगलबार पुन नियन्त्रणमा लिइएको हो । काठमाण्डौ जिल्ला अदालतले गिरीलाई अनुसन्धानका लागि ३ दिनको म्याद थप गरेको छ ।
व्यवसायी विपेन्द्र जिल्ला प्रहरी कार्यालय कास्कीमा सोमबार ठगी उजुरी दर्ता भएको थियो । मंगलबार जिल्ला अदालत कास्कीले विपेन्द्रलाई पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी हुने बित्तिकै विपेन्द्रले उच्च अदालत पोखरामा परमादेशसहितको आदेश माग गर्दै रिट दायर गरेका छन् ।
Related