हामीले ठेकेदारलाई कारबाही गर्दैछौं, जनताले ठेकेदारलाई माला लगाइदिए ; मुख्यमन्त्री गुरुङ
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काम नगर्ने ठेकेदारलाई दिउँसै बत्ती बालेर खोज्नुपरेको बताएका छन् ।
स्याङ्जाको फेदीखोला स्थित सर्केटारी गलेम पञ्चासे ग्रामिण सडकको भीरखण्डको उद्घाटन समारोहमा बोल्दै उनले काम नगर्ने केही ठेकेदारलाई कारबाहीको सिफारिस गरेको बताए । ‘संघीय सरकार मातहतका योजना प्रदेशलाई हस्तान्तरण भएपछि धेरै योजना अलपत्र रहेछन्, उनले भने, हामीले बेपत्ता भएका ठेकेदारलाई खोजी खोजी काम लगायौँ ।’
उक्त सडकको छङ्गाछुर भीर खण्डमा जोखिम मोलेर समयमा काम गरेको भन्दै ठेकेदार कम्पनी बाराही कन्स्ट्रक्सनलाई धन्यवाद दिए । हामीले त ठेकेदारलाई कारबाही गर्दैछौं, उनले भने, यहाँ त जनताले ठेकेदारलाई माला लगाइदिनुभयो, उनले भने, राम्रो काम गर्दा माला लगाउन पाइन्छ ।’
संघीय सरकारले कहिल्यै चासो नदिएको र ८, १० बर्षदेखि अलपत्र परेका योजना समेत ८ महिनामै प्रदेश सरकारले सम्पन्न गराएको उनले उदाहरण दिएका थिए ।विकास निर्माणका काम गर्न स्थानीयले ठुलो रकम जुटाएको भन्दै मुख्यमन्त्री गुरुङले प्रशंसा गरे ।
धेरै ठाउँमा सरकारको मात्र मुख ताक्ने प्रवृत्ती छ, उनले भने, यहाँ त घर घरै र विदेशमा बस्ने गाउँलेले पनि पैसा हालेको देखें, यहाँबाट अरुले पनि सिक्नुपर्छ ।उक्त सडक अर्को बर्षदेखि प्रदेश सरकारले जिम्मा लिने समेत उनले बताए । उनले यस बर्ष पनि प्रदेश सरकारको तर्फबाट सहयोग जारी रहने प्रतिवद्धता समेत जनाए ।
मुख्यमन्त्री गुरुङले खानेपानी र विजुलीको लागि पनि प्रदेश सरकारले सहयोग गर्ने बताए । प्रदेशभर खानेपानी र विजुली पु¥याउने सरकारको लक्ष्य छ, उनले भने, यहाँका पुराना पोल फेर्न र घरघरै धारा पु¥याउने योजना पनि लिएर आउनुहोला ।
उनले स्थानीयबासीलाई गाउँमै इलम गर्न समेत आग्रह गरेका छन् । इलम गर्न चाहनुहुन्छ भने आउनुहोला कुनै समस्या पर्दैन, उनले भने, समस्या त्यतिबेला पर्छ जतिबेला रिपोर्ट बनाउने तर काम नगर्ने अवस्था रहन्छ । उनले गरिब जनतालाई इलम गर्न प्रदेश सरकारले सबै समस्याको समाधान गरिदिने भन्दै इलम गर्न खोज्दा आइपर्ने जुनसुकै समस्या लिएर आउन आग्रह गरे ।
प्रदेश सरकारको ढोका जतिबेला पनि खुलै रहने भन्दै उनले नेता लगाउनुपर्ने, भनसुन गर्नुपर्ने अवस्था पनि नरहेको बताए ।
इजरायलमा कृषि तालिमका लागि गण्डकी प्रदेशबाट २०० सय किसान पठाउने तयारी रहेको समेत उनले बताए । तालिममा जाने किसान छनौट गर्दा गोठमा काम गरेका र माटोमा काम गरेकालाई मात्र पठाइने भन्दै उनले भने, किसान छान्दा सोर्स फोर्स, पार्टी र प्रतिपक्षीले भनेको नचल्ने बताए ।
गत बर्ष सोही स्थानमा रहेको शितलादेवी माविको बार्षिकोत्सबमा जाँदा स्थानीयले कर्णालीमा बस्नुपरेको गुनासो गरेको मुख्यमन्त्री गुरुङले संझिए । गण्डकी प्रदेशका कुनै पनि गाउँ कर्णालीको दुर्गमतासँग दाँज्नुपर्ने अवस्था आउनु दिँदैनौं, उनले भने, यही बाचा अहिले पुरा गरेका छौं, बाँकी काम पनि गर्दै जान्छौं ।
उक्त सडक निर्माण गर्न २ करोड ५ लाख ३५ हजार खर्च भएको थियो । जसमध्ये फेदीखोला गाउँपालिका, प्रदेश सरकार र संसद विकास कोषबाट १ करोड २५ लाख २२ हजार र देश विदेशमा रहेका स्थानीयले ८० लाख १३ हजार रुपैयाँ सहयोग जुटाएका थिए ।
Related