कास्की कांग्रेसको तेस्रो चरणका कार्यक्रम सार्वजनिक ; केन्द्रको हाइकमाण्डनै कास्कीमा
"सभालाई कांग्रेस नेताहरू गगन थापा, बालकृष्ण खाँड, डा. मिनेन्द्र रिजाल, तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत, उदय समशेर राणा, विद्वान गुरुङ लगायतले संवोधन गर्ने "
तपाईको प्रतिक्रिया





नेपाली कांग्रेस कास्कीले चुनाव प्रचार अभियान अन्तर्गत तेस्रो चरणका कार्यक्रमहरू सार्वजनिक गरेको छ । उम्मेदवारसहित हुने तेस्रो चरणका कार्यक्रम ५ दिनको हुने कांग्रेसले जनाएको छ । कार्यक्रम १२ गतेसम्म जारी रहने कास्की कांग्रेसले जनाएको छ ।
कार्यक्रम अन्तर्गत मंसिर ६ गते पोखरा–४ र ९ मा घरदैलो, ७ गते पोखरा–१६ मैदानमा चुनावीसभा, पोखरा–१५ मा घरदैलो, ९ गते पोखरा–११, १७ मा घरदैलो कार्यक्रम हुनेछ । यसैगरी मंसिर १० गते पोखरा–८ र पोखरा–२० मा घरदैलो, ११ गते पोखरा–२१ र ३३ मा घरदैलो कार्यक्रम हुने कास्की कांग्रेसले जनाएको छ ।
यसैगरी कांग्रेसको चुनावी सभाको कार्यतालिका समेत सार्वजनिक भएको छ । जस अनुसार मंसिर ६ गते पोखरा–९, बसपार्क, पोखरा–४ रामकृष्णटोल, मंसिर ७ गते पोखरा–१५ मा चुनावी सभा गर्ने कास्की कांग्रेसका सभापति एवं चुनाव प्रचार समितिका संयोजक कृष्ण केसीले जानकारी दिए ।
यस्तै मंसिर ७ गते बिहान ८ बजे पोखरा–१६ मैदानमा चुनावीसभा हुनेछ । उक्त सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला लगायतका नेताहरू सहभागी हुने कास्की कांग्रेसका सभापति केसीले जानकारी दिए ।
उनका अनुसार मंसिर ६ गते नै नेपाल तरुण दल कास्की क्षेत्र नं. २ ले मंसिर ६ गते चुनावीसभा आयोजना गरेको छ । पोखरा–७ स्थित राष्ट्रबैंकचोक रत्नचोकको बीचमा सडक डिभिजन कार्यालय अगाडि कार्यक्रम हुनेछ । सभालाई कांग्रेस नेताहरू गगन थापा, बालकृष्ण खाँड, डा. मिनेन्द्र रिजाल, तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत, उदय समशेर राणा, विद्वान गुरुङ लगायतले संवोधन गर्ने कार्यक्रम तय भएको छ ।
यसैगरी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा पनि पोखरा आउने कार्यक्रम छ । उनी मंसिर ९ गते पोखरा–११, रानीपौवा, पोखरा–१७ विरौटा, मंसिर १० गते पोखरा–८, पोखरा–२०, भलाम, पोखरा–२१ ीनर्मलपोखरीको चुनावीसभामा सहभागी हुने कार्यक्रम छ ।
यस्तै, नेता शर्मा मंसिर ११ गते पोखरा–२१ को कृस्ति र पोखरा–३३ को कालिकास्थानमा हुने चुनावीसभामा समेत सहभागी कास्की कांग्रेसले जनाएको छ ।
कांग्रेसका ३ ‘राज’ एकैटाउँमा भेट हुँदा….
नेपाली कांग्रेसका नेताहरू धनराज गुरुङ र देवराज चालिसेको नाम यो उपनिर्वाचनमा सर्वाधिक चर्चामा रह्यो । गत जेठतिर धनराज गुरुङको नाम चर्चामा थियो । असोजतिर देवराज चालिसेको नाम अगाडि आयो र कात्तिक १८ गतेसम्म उनकै नाम चर्चामा रह्यो ।
जब पार्टीको केन्द्रीय तहमा उम्मेदवार छनोटमा सहमति जुट्न सकेको थिएन, त्यसबेला धनराजको नाम सर्वाधिक चर्चामा रह्यो कात्तिक २० गते दिउँसो २ बजेसम्म । सबै सञ्चारमाध्यम, सामाजिक सञ्जालले ‘धनराज कास्कीमा लड्ने’ शीर्षकको समाचार प्रकाशित गरिरहेका थिए ।
सोही दिन २ बजे धनराज आफै पार्टीको बैठकमा पुगेर आफू कास्की नजाने जानकारी गराएपछि पार्टीका नेताहरू एकाएक खेमराजतर्फ मोडिए । त्यसपछि पार्टीका कोही पनि नेताहरू बोल्नै सकेनन् । उनीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई सबै जिम्मा लगाउँदै बैठक छाडे । त्यसपछि सभापति देउवाले खेमराजलाई टिकट दिएर पठाए ।
संयोगवस सोमबार चुनावी प्रचारको क्रममा यी तिनै जना नेताको एकैठाउँमा भेट भयो । भेट साविक भरतपोखरीको जिव्रेढुंगामा भएको थियो । भेटपछि तिनै जना नेताले एकअर्कामा अंकमाल गरे । यो चुनावमा प्रमुख दावेदार रहेका धनराज, देवराज र टिकट पाएका खेमराजको भेट हुँदा अन्य नेता कार्यकर्तामा खुशीको सीमा नै रहेन । उम्मेदवारको मुहारमा पनि औधी खुशी देखिन्थ्यो । नेता कार्यकर्ताहरू पनि खुशीले उफ्रिंदै कांग्रेसको पक्षमा चर्का नारा घन्काए ।
कार्यकर्ताको माझमा ३ राज ‘पार्टीको थ्री स्टार अर्थात ३ नक्षत्र’ भन्ने चर्चा पनि भयो । कार्यकर्ताको उत्साह देखेर यी तीनै नेताले आआफ्नो हातमा हात मिलाउँदै ‘गुरु’ लाई जसरी जिताउँछौं भन्ने अठोट गरे ।
धेरैबेर यी तीनै नेता घरदैलोमा खटिए । कार्यकर्ता मात्र उत्साहित भएनन्, मतदाता पनि अभियानमा थपिए । विभिन्न स्थानमा आयोजित कोणसभामा पनि धनराज र देवराजले उम्मेदवार खेमराजको प्रशंसा नै प्रशंसा गरे । नेता देवराजले त शुरुदेखि निकै प्रशंसा गरेका थिए । उनी खेमराज संगसंगै खटिएका पनि छन् ।
कोणसभामा धनराज र देवराजले खेमराजलाई सादगी, निष्ठावान, त्यागी, सन्त, सबैले सम्मान गर्न लायक व्यक्तित्व जस्ता शब्दले प्रशंसा गरेका थिए । नेता धनराजले ‘यत्तिका महान व्यक्तित्वलाई यो पटक जिताउन नसके इतिहासले धिक्कार्ने’ बताएका थिए ।
Related