नेपालको एक इन्च जमिन पनि छाड्दैनौंः रक्षामन्त्री पोखरेल
"समस्या समाधान गर्न भारतलाई औपचारिक पत्र "
तपाईको प्रतिक्रिया





उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भारतसँगको सीमा विवाद सुल्झाउन सरकारले कूटनीतिक पहल थालिसकेको बताएका छन् । प्रेस संगठन कास्कीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री पोखरेलले सीमा विवादबारे समस्या समाधान गर्न भारतलाई औपचारिक पत्र दिइसकिएको र सरकार वार्ताको तयारीमा रहेको बताए ।
उनले भारतले वार्ताका लागि मिति नतोकेका कारण सरकार उसको जवाफको पर्खाइमा रहेको बताए ।‘हामीलाई कसैको एक इन्च जमिन पनि चाहिँदैन र हाम्रो पनि एक इन्च जमिन कसैलाई छोड्दैनौं,’ उनले भने, ‘युद्धबाट नभई कूटनीतिक तवरले सीमा समस्या समाधान गर्न सरकार कटिबद्ध छ ।’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्यसमेत पोखरेलले सीमालगायत राष्ट्रियतासँग जोडिएका सबै विषयमा देखिएका समस्या समाधान गर्न नेपाल र भारतबीच औपचारिक प्रक्रिया अगाडि बढेको बताए । उनले दुई देशबीचको सहमतिबाट मात्रै सीमा विवाद समाधान हुने दाबी पनि गरे ।
यस्तै, मन्त्री पोखरेलले सुगौली सन्धिलाई आधार मानेर तथ्य र प्रमाणका आधारमा सरकारले सीमा विवादलाई सल्टाउने पनि प्रतिबद्धता जनाए । उनले नेपाललाई नोक्सानी हुने गरी एमसीसी सम्झौता नगर्ने पनि प्रतिबद्धता जनाए । बाहिर होहल्ला भएजस्तो अन्तर्राष्ट्रिय सैन्य गठबन्धन स्वीकार्य नभएको उनको भनाइ थियो ।
‘इन्टरनेसनल मिलिटरी एलायन्समा सहभागी हुने भनेर जसरी बाहिर आएको छ, पहिले त्यसको वास्तविकता के हो प्रष्ट बुझौं,’ उनले भने, ‘एलायन्समा हामी सहभागी हुँदैनौं, हाम्रो स्ट्यान्ड पोइन्ट त्यही नै हो । यो सरकारले गरेको निर्णय र संसदमा पनि पहिल्यै छलफल भएको विषय हो ।’
उनले एमसीसी पहिलेकै सरकारले माग गरेबमोजिम आएको भन्दै नेपालको अनुकूलताअनुसार निर्णय हुने बताए । नेपाल ट्रस्टका अध्यक्षसमेत रहेका पोखरेलले ट्रस्टको नीति नियमअनुसार सम्पत्तिको उपयोग गरिने जानकारी दिए ।
पोखराका रत्नमन्दिर, हिमागृहलाई प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर उच्चतम हित हुने गरी उपयोग गर्ने पनि उनले बताए ।
Related