१० औँ संस्करणको पोखरा महोत्सवको तयारी अन्तिम चरणमा
"महोत्सवमा करिव २ लाख ५० हजार दर्शकको सहभागीता रहने "
तपाईको प्रतिक्रिया





युनाइटेड क्लब पोखराको आयोजनामा १० औँ संस्करणको पोखरा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
पर्यटकीय नगरी पोखरामा चिडियाखाना संचालनार्थ महोत्सव गर्न लागिएको हो । पोखरा महानगरपालिका वडा नं. ३०,३१ र ३२ मा रहेको पचभैयामा निमार्ण भइराखेको चिडियाखानाको लागि क्लबले हरेक वर्ष महोत्सव गर्दै बचत भएको रकम चिडियाखाना निमार्णमा खर्च गर्ने गरेको छ ।
पोखरा पचभैया, चापापानी, चिसाकुना र चैनपुर समुदायिक बनको १ सय ३४ हेक्टर भुभाग ओगटेको चिडियाखानामा हाल वन्यजन्तु उद्दार केन्द्र भवन, मृगस्थली, बाघ,भालु,बादर लगाय बन्यजन्तु राख्ने खोर निमार्ण भइसकेको छ ।
पोखरा घुम्न आउने पर्यटकको लागि नयाँ आकर्षण केन्द्रको रुपमा समेत निमार्ण गर्न लागिएको हो । पोखरामा शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महोत्सव प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले मेलाको लक्ष्य नै पोखरामा चिडियाखाना निमार्ण गर्नु रहेको बताए ।
महोत्सवकै आयोजना गरी पोखरामा नयाँ गन्तब्य चिडियाखाना निर्माणका लागि उक्त स्थानमा क्लबको तर्फबाट हालसम्म ५५ लाख रुपैयाँ नगद प्रदान गरिसकेको र हाल केही स्थानीयको विवादका कारण चिडियाखानाको काम रोकिएकाले आफूहरु निकै दुखि बनेको समेत अध्यक्ष गुरुङले बताए ।
चिडियाखाना निर्माण क्षेत्रमा वन्यजन्तु उद्धार केन्द्रका लागि भवन निर्माण, खानेपानी जडान, यातायातको सहजीकरणको लागि बाटो निर्माण, मृगस्थली , बाघ राख्ने खोर,सिडी बाटो निमार्ण सम्पन्न भईसकेको वताउदै अध्यक्ष गुरुङले उक्त क्षेत्रमा भालुको खोर, बाँदरको खोर निमार्ण क्रममै रहेको समेत बताए ।
चिडियाखाना निमार्णको लागि गण्डकी प्रदेश सरकारबाट गत आर्थिक वर्ष ७३ लाख २४ हजार ४ सय ७७ रकम विनियोजित भएकोमा जनसहभागिता कटाई निमार्ण कार्य अनुसारको ५८ लाख ५९ हजार ८ सय २६ रकमको भुक्तानी भएको युनाईटेड क्लबबाट ५५ लाख, साविकको लेखनाथ नगरपालिकाबाट १० लाख, पोखरा महानगरपालिकाबाट १२ लाख ८८ हजार र साविक जिल्ला बन कार्यालय,कास्कीबाट २४ लाख गरी १ करोड ५१ लाख ४७ हजार ८ सय २६ रुपैया खर्च भइसकेको समेत गुरुङले जानकारी दिए ।
१३ दिन सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी नेपाली संस्कृति झल्किने विधालय स्तरीय खुल्ला नृत्य प्रतियोगिता र बुद्धिचाल प्रतियोगिता हुने महोत्सव प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरका ब्याण्डहरु मंगोलियन हर्ट, कोववेव, सुगम पोख्रेल एण्ड बाजा गाजा व्याण्ड, मन्त्र ब्याण्ड, सविन राइ एण्ड फारोह ब्याण्ड, अर्को मुखर्जी एण्ड द कलेक्टिभ ब्याण्ड, लाहुरे, भीटेन, मेलिना राई, शनिश श्रेष्ठ, अनुप्रस्था र लोकल ब्याण्डहरुको प्रस्तुती रहने महोत्सव सांस्कृतीक उपसमिती संयोजक राजु श्रेष्ठले जानकारी दिए ।
गायन संगै महोत्सवमा हांस्यब्यङ्ग्य प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, शैक्षिक जगरण सम्बन्धि डकुमेन्ट्रि प्रदर्शनी, चमेना गृहको ब्यवस्था, बाल उद्यान, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु र बुद्धिचाल प्रतियोगिता समेत हुने श्रेष्ठले वताए ।
पोखराको अमरसिंह चौरमा पुस २९ देखि १२ गते सम्म संचालन हुने महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु, नेपालका चर्चित व्याण्ड, लोक नृत्य,विधालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता, बाल उधान लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुने छन भने विभिन्न जातजाती, भेषभुषा, उत्पादन लगायतका गतिविधि समेत हुने छन् ।
महोत्सवमा करिव २ लाख ५० हजार दर्शकको सहभागीता रहने आयोजकले अनुमान गरेको छ । महोत्सवबाट करिव एक करोड ४० लाख आम्दानि हुने छ भने ३९ लाख ५० हजार रुपैयाँ बचत हुने अनुमान आयोजकको रहेको छ ।
Related