‘पोखरा म्याराथन’ प्रदेशको समृद्धिसँग गाँसिएको छः पर्यटनमन्त्री लम्साल
"‘प्रदेश सरकार खेलकुदका विभिन्न प्रतियोगिताहरू सञ्चालन गर्ने पक्षमा छ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरामा हुने १४औं अन्तर्राष्ट्रिय ‘पोखरा सफल म्याराथन’ गण्डकी प्रदेशको समृद्धि र प्रतिष्ठासँग गाँसिएको बताएका छन् ।
शुक्रबार भूतपूर्व खेलाडी मञ्च पोखराले आयोजना गरेको म्याराथन विषयक अन्तक्र्रियामा बोल्दै मन्त्री लम्सालले पोखरा म्याराथन पोखराको मात्रै नभई समग्र गण्डकी प्रदेशको समृद्धिसँग गाँसिएको एक महत्त्वपूर्ण कार्यक्रम भएको बताए । ‘प्रदेश सरकार खेलकुदका विभिन्न प्रतियोगिताहरू सञ्चालन गर्ने पक्षमा छ,’ उनले भने, ‘सरकार खेलकुदको विकाससँगै प्रदेशकै विकास र समृद्धिका पक्षमा अगाडि बढेको छ । प्रदेश सरकार पोखरा म्याराथन सफल बनाउन यहाँहरूको साथमा छ ।’
पर्यटनमन्त्री लम्सालले विश्वका विभिन्न देश खेलकुदलाई जोडेर विकास र समृद्धिको यात्रामा अगाडि बढेको बताए । उनले पोखरा म्याराथनलाई निरन्तरता दिन सके भोलिका पिँढीलाई समेत खेलकुदको विकासमा खाका कोर्न सहयोग पुग्ने बताए । उनले पोखराको रंगशाला संरक्षण गर्दै पोखरालाई खेलकुदको माध्यमबाट विभिन्न मुलुकसमक्ष चिनाउन कार्य गरिरहेको भन्दै पदाधिकारीहरूको प्रशंसा गरे ।
मञ्चका अध्यक्ष तेज गुरुङले ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ले शान्ति र स्वास्थ्यसँगै पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेलेको बताए । ‘पोखरा म्याराथनले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका साथै स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पारेको छ,’ उनले भने ।
१४औं संस्करणको पोखरा म्याराथनमा ‘वर्ल्ड पिस रन’ का सदस्यहरूले पोखरा म्याराथनलाई शान्तिका लागि दौडका रूपमा उपयोग गर्ने योजना बनाएको आयोजकले जनाएको छ । यस अभियानका लागि १३ देशका २७ भन्दा बढीको सहभागिता रहनेछ ।
पोखरालाई म्याराथन शहरको रूपमा विश्वसामु चिनाउन र विदेशी धावकहरूलाई आकर्षित गर्न पुरस्कार राशिमा वृद्धि गरिएको आयोजकले बताए ।
खेलाडी मञ्च पोखराका अनुसार ४२.१९५ किमिको पोखरा म्याराथनमा प्रथम हुनेलाई २ लाख नगद प्रदान गरिनेछ । त्यसैगरी, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद १ लाख र ७५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । चौथो हुनेलाई सान्त्वनास्वरुप नगद १५ हजार प्रदान गरिनेछ ।
पोखरा म्याराथनमा १० किलोमिटर महिला–पुरुष, ५ किलोमिटर छात्र–छात्रा, ह्विल चियर र दृष्टिविहीनहरूको सहभागिता रहनेछ । १० किलोमिटरतर्फको दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
५ किमि दौडतर्फ पनि प्रथम, द्वितीय र तृतीय हुनेलाई १० हजार, ५ हजार र ४ हजार प्रदान गरिनेछ । महिला–पुरुष ह्विल चियर र दृष्टीविहीन दौडका लागि समेत ५, ३ र २ हजार प्रदान गरिने आयोजकले जनाएका छन् । यो प्रतियोगितामा कुल २८ जना धावकलाई पुरस्कृत गरिनेछ ।
Related