सहकारीलाई ब्यवस्थित गर्न पोखरा महानगरद्धारा अनुगमन सुरु
" स्तरीकरण र प्रविधि युक्त बनाउन सहकारीको अनुगमन थालिए "
तपाईको प्रतिक्रिया





पोखरा महानगरपालिकाले सहकारीको अनुगमन सुरु गरेको छ । सहकारी ऐन तथा नियमावलीको प्रावधान अनुसार महानगर क्षेत्र भित्र कार्य क्षेत्र भएका सहकारीको महानगरपालिकाले अनुगमन शुरु गरेको हो ।
वित्त सुशासन कायम गराई सहकारीको दीगो बिकास संगै स्तरीकरण र प्रविधि युक्त बनाउन सहकारीको अनुगमन थालिएको पोखरा महानगरपालिकाको सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले जानकारी दिए ।
उनका अनुसार सहकारीको वास्तविक अवस्थाको पहिचान, तथ्यांक संकलन, सहकारी ऐन, नियमावली लागू, सम्पत्ति शुद्धीकरण निर्देशिका र समसामयिक कानुनको पालना सम्बन्धमा सहकारी संस्थाको विश्लेषण गर्न अनुगमनले सघाउने छ।
पहिलो चरणमा ५० वटा सहकारीको अनुगमन गरिने र अनुगमन गर्न ५ वटा टिम बनाइएको अधिकारीले बताए । सोमबार पोखरा ३ मोहोरिया टोलमा रहेको करुणा बचत तथा ऋण सहकारी संस्था र पोखरा १ को समावेशी बचत तथा ऋण सहकारी संस्थामा अनुमगन गरिएको सहकारी शाखाका अधिकृत अर्जुन नेउपानेले बताए ।
सोमबार सहकारी विज्ञ ज्ञानबहादुर कार्कीको संयोजकत्वमा सहकारी समितिका सदस्य तथा वडा नम्बर २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङ, सहकारी शाखाका नेउपानेको टिमले अनुमगन गरेको हो ।
५० वटा सहकारीको अनुमगन गरेपछि प्रतिवेदन तयार गरिने सहकारी सदस्य गुरुङले बताए । विशेष गरी सहकारीमा वित्तीय अनुशासन, संस्थागत सुशासन अवस्था र सहकारीको मर्म र उद्देश्य अनुरुप सञ्चालन भएका छन् कि छैनन् त्यसबारे अनुगमन गरिने छ ।
सहकारी संस्थाको योदानको कदर गर्दै स्थानीय विकासको साझेदार बनाउने, असल काम गर्ने संस्था र व्यक्तिलाई सम्मान तथा पुरस्कृत गर्ने, गलत कार्य गर्ने संस्था वा व्यक्तिलाई कानुनी दायरमा ल्याई सुसंस्कृति सहकारी क्षेत्र निर्माण गर्ने उद्देश्य अनुगमनको रहेको सहकारी विज्ञ ज्ञानबहादुर कार्कीले बताए ।
पोखरा महानगरमा सूचीकृत नभएका सहकारीलाई सूचीकृत गर्न पनि अनुगमनले सघाउने महानगरको भनाइ छ । पोखरा महानगरपालिका ३ सय ५७ वटा सहकारी रहेका छन् ।
सहकारीको दर्ता, अनुगमन, निरीक्षण तथा व्यवस्थापन गरी सुशासनयुक्त र दीगो सहकारी निर्माणको लागि महानगर सहकारी नियमावली अनुसार अनुगमन थालिएको हो ।
Related