पुलिस क्लब ३–० गोल अन्तरले आहा रारा गोल्डकपको फाइनल प्रवेश
"थ्री स्टार क्लबलाई ३–० गोलले पराजित गर्दै पुलिस फाइनल प्रवेश "
तपाईको प्रतिक्रिया





१८औँ संस्करणको आहा रारा गोल्डकपमा विभागीय टोली नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ । सहारा क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लबलाई ३–० गोलले पराजित गर्दै पुलिस फाइनल प्रवेश गरेको हो ।
नेपाल पुलिसका लागि खेलको सातौँ मिनेटमा कप्तान भरत शाहले पहिलो गोल गरेका थिए । उनले रवि पाशवानको क्रसमा गोल गर्न सफल भए । दोस्रो गोल खेलको ५२औँ मिनेटमा नीरकुमार राईले गोल गर्न सफल भएका थिए । ७१औँ मिनेटमा राईले दोस्रो गोल गर्दै पुलिसलाई ३–० को अग्रता दिलाए ।
खेलको १८औँ मिनेटमा थ्री स्टारका अन्जन राईले गोल गर्ने निकै राम्रो मौका पाए पनि गोल गर्न सकेनन् । सन्जोक राईले निकालेको पासमा अन्जनले गरेको प्रहार पुलिसका डिफेन्डर सन्तोष हेमरुनले रोक्न सफल भए ।
खेलको ३३औँ मिनेटमा कर्नर किकको रिबाउन्ड बललाई प्रहार गरेका सन्जोक राईको बल पुलिसका गोलरक्षक रोशन खड्काले बचाए । खेलको ६२औँ मिनेटमा थ्री स्टारका २ प्रहारको पुलिसका गोलरक्षक खड्काले उत्कृष्ट बचाउ गरे ।
नेपाल पुलिस क्लबले क्वार्टरफाइनलमा घरेलु क्लब सहारालाई टाईब्रेकरमा पाखा लगाउँदे सेमिफाइनल यात्रा तय गरेको हो । यता, थ्री स्टार भने क्वार्टरफाइनलमा गान्टोक सिटी एफसी भारतलाई पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको थियो ।
दोस्रो सेमिफाइनलको खेल भोलि हुनेछ । उक्त खेलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लबले मनाङ–मस्र्याङ्दीको सामना गर्नेछ ।
प्रतियोगितामा विजेता टोलीले १० लाख १ हजार रुपैयाँ पुरस्कार पाउँदा उपविजेताले ५ लाख १ हजार रुपैयाा पाउनेछ ।
Related