पोखरा उद्योग वाणिज्य संघद्धारा आगामी बजेट राहत प्याकेजमा केन्द्रित गर्न माग
"असर न्यूनिकरण गर्दै निजी क्षेत्रलाई राहत दिनेखालको हुनुपर्ने "
तपाईको प्रतिक्रिया





उद्यागी तथा ब्यवसायीहरुको छातासंगठन पोखरा उद्योग वाणिज्य संघले आगामी बजेट कोभिड–१९ ले अर्थतन्त्रमा पु¥याएको असर न्यूनिकरण गर्दै निजी क्षेत्रलाई राहत दिनेखालको हुनुपर्ने बताएको छ ।
बिहीबार पोखरामा आयोजना गरेको आउँदोको बजेट तथा गण्डकी प्रदेशको अपेक्षा विषयक अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष नारायण कोइरालाले कोभिड–१९ को दोस्रो लहर सुरु भएको र यसले समग्र आर्थिक क्षेत्रमा प्रभाव पार्नसक्ने देखिएकोले बजेट राहत प्याकेजमा केन्द्रित हुनु पर्नेमा जोड दिएका हुन् ।
‘अर्थतन्त्र उकास्नका लागि सरकारले घोषणा गरेको कार्यक्रम कार्यान्वयनमा सुस्तता देखिएको छ, राजनीतिक तरलताले लगानी सुरक्षित नहुने जोखिम बढेको छ’, उनले भने,‘ लागत बढ्ने र उत्पादकत्व घट्ने परिस्थिति निजी क्षेत्रको लागि अभिषाप भएको छ,अबको बजेट वर्तमान परिस्थितिले सृजना गरेका समस्या सल्टाउनेमा केन्द्रीत बनोस् ।’
उनले गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र संघीय सरकारको बजेट निर्माणमा सल्लाहकारको भूमिका निर्वाह गर्दै आएका अर्थशास्त्री केशव आचार्यलाई संघको तर्फबाट बजेटमा समेटिनुपर्ने विषयहरु लिखित रुपमै हस्तान्तरण गरे ।
गण्डकीका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश सरकार निजी क्षेत्रको माग संवोधन गर्न सकारात्मक भएको बताए ।
संघका निवर्तमान अध्यक्ष दामु अधिकारीले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले उद्योगको कच्चा पदार्थ र विद्युतीय सामानहरुमा भन्सार छुटको माग पनि गरे ।
महासघंका केन्द्रीय सदस्य बाबुराम गिरीले बजेट वितरणमुखी हैन कि अर्थतन्त्र उकास्ने खालको हुनुपर्नेमा जोड दिए ।
अर्थशास्त्री केशव आचार्यले मानव विकास सूचकांकमा गण्डकी प्रदेश अगाडि रहेको तथ्य पेश गर्दै सरकारले आउँदो बजेट सार्वजनिक स्वास्थ्यको क्षेत्रमा लगाउनुपर्ने धारणा राखे ।
उनले गण्डकीको अर्थतन्त्रमा सेवा क्षेत्रको ५२.६४ प्रतिशत योगदान रहेकोले पनि सेवा क्षेत्र तहसनहस हुँदा अर्थतन्त्र खस्कन सक्ने चिन्ता व्यक्त गरे ।
प्राध्यापक डाक्टर यादव शर्मा गौंडेलले बजेट विनियोजन गर्दा कार्यप्रगतिलाई आधार बनाउनुपर्ने बताए ।
पृथ्वीनारायण क्याम्पसका अर्थशास्त्र विभागका अध्यक्ष लेखनाथ भट्टराईले प्रदेश सरकारले पर्यटन, जलस्रोत र जडिबुटीको क्षेत्रमा बढी लगानी गर्नुपर्ने बताए ।
नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न बिदा पर्यटनको अवधारणा कार्यान्वयन हुनुपर्ने बताए ।
Related