पोखराका शिवराज- जो मौरी पालेर वार्षिक २० लाख कमाउँछन्
"उच्च शिक्षा हासिल गरेका भण्डारीले अध्ययनपछि जागिर होइन कृषि पेशा रोजे "
तपाईको प्रतिक्रिया





रमेश भारती
कास्कीको लेखनाथ नगरपालिका- ३३ का शिवराज भण्डारीले नेपालीमा स्नातकोत्तर (एमए) सम्मको अध्ययन गरेका छन् । भण्डारीले जनसंख्या तथा वातावरणमा बीएड गरेका छन् ।
उच्च शिक्षा हासिल गरेका भण्डारीले अध्ययनपछि जागिर होइन कृषि पेशा रोजे । र, मौरी पालन व्यवसायमा संलग्न भए । उनले १८ वर्षदेखि ‘लामगादी मौरीपालन केन्द्र’ मार्फत गण्डकी प्रदेशमा मौरीको घार, मह उत्पादन र मौरी पालनसम्बन्धी तालिमसमेत दिँदै आएका छन् ।
भण्डारीका अनुसार उनले अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र काठमाडौंबाट मौरी पालनसम्बन्धी तालिम लिएका हुन् । भण्डारीका अनुसार उनी मह र मौरीका घार उत्पादन गरी केन्द्रबाट वार्षिक २० लाखभन्दा धेरै आम्दानी गर्छन् ।
अध्ययन सकेपछि जागिर खोज्नतिर नलागी आफू यो पेशामा संलग्न भएको बताउँछन् भण्डारी । ‘पढाइ सकेपछि जागिरभन्दा कृषि पेशा नै रोजेँ । कृषिमा सम्भावना देखेर मौरी पालनतिर लागेको हुँ । पढेका मान्छे कृषि पेशामा आउँदा समाजमा राम्रो सन्देश जान्छ,’
भण्डारी भन्छन्, ‘नेपालीहरूको मुख्य आयस्रोत अहिले पनि कृषि नै हो । कृषिलाई अर्थतन्त्रको पाटो बनाउनुपर्छ । खाडीमा देशमा वालुवामा कृषि गरिररहेका छन् । नेपालमा प्रकृतिले नै मौसमअनुसार खेतीपाती गर्न सजिलो छ ।’
कृषिले रोजगारीका साथै आर्थिक र सामाजिक पाटोसमेत सहज बनाउँदै आएको अनुभव छ भण्डारीको । सरकारले कृषिलाई स्थानीय तहमार्फत राष्ट्रिय बजारमा जोडनुपर्ने उनको माग छ ।
भण्डारीको मौरी पालन केन्द्रमा वार्षिक ३ सय घार सेरना जातको मौरी उत्पादन हुने गरेको छ । प्रतिघार १० हजार र मह प्रतिकेजी १२ सय रुपैयाँसम्म बिक्री गर्दै आएको भण्डारीले जानकारी दिए । उनले केन्द्रमा उत्पादन गरेको मौरीको घार र मह गण्डकी प्रदेशका जिल्लाहरूमा बिक्री गर्दै आएका छन् ।
उनले १२ रोपेनी जग्गामा मौरी पालन गरिरहेका छन् । अहिले उनले मौरीसँगसँगै केरा खेती पनि सुरु गरेका छन् ।
‘मौरीको मह र घार उत्वादन गरी वार्षिक २० लाखभन्दा बढी कमाइ हुन्छ,’ भण्डारी भन्छन्, ‘सबै खर्च कटाएर मौसमअनुसार वर्षमा ७ लाखसम्म बचत हुने गरेको छ ।’
भण्डारीको ५ जनाको परिवार छ । आम्दानीको स्रोत मौरी पालन हो । उनले मौरी पालन केन्द्रमा ज्यालादारीमा कामदार समेत राखेका छन् । कृषिको बजार व्यवस्थित हुन सके त्यसले बेरोजगारी समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने उनको बुझाइ छ ।
भण्डारीका अनुसार मौरीका लागि चरन आवश्यक छ । चर्न पाएको मौरीले धेरै मह उत्पादन गर्ने उनी बताउँछन् । मौरी पालन व्यवसाय वृद्धि गर्न सके विदेशमा पनि मह निर्यात गर्न सकिने बताउँछन् उनी ।
भण्डारीका अनुसार उनले मौरी पालनका लागि सरकारी अनुदान लिएका छैनन् । कृषि उत्पादन बढाउनका लागि सरकारले ल्याएको अनुदान राम्रो भए पनि त्यो कृषकमैत्री नभएको बताउँछन् भण्डारी ।
भण्डारीले मौरी पालनका नयाँ प्रविधि तथा रानी मौरी उत्पादन गर्ने तरिका समेटेर एक पुस्तक पनि लेखेका छन् । उनले मौरी पालक किसानका रूपमा सरकारले दिने पुरस्कार पनि पाइसकेका छन् ।
नेपालमा मौरी
नेपालमा एप्पिस सेराना जातको मौरी पालिन्छ । यो जातको मौरी नेपालमा प्राय ग्रामीण क्षेत्रमा घरैपिच्छे पाइन्छ । नेपालमा प्राय घरमा एक–दुई घार मौरी पाल्ने चलन जस्तै बनेको छ । हिमाल, पहाड र तराईका गाँउमा घरेपिच्छे मौरीको घार हुन्छ ।
मेलीफेरा जातको मौरीलाई तराई र भित्री मधेसमा पालना गर्न सकिन्छ भने सेराना जातको मौरीलाई उच्च पहाडी क्षेत्रमा पालन गर्न सकिन्छ ।
नेपालमा कठ्यौरी मौरी, खागो मौरी, भीर मौरी, एसियाली मौरी र युरोपेली मौरी पालिन्छ । नेपालमा ल्याङस्ट्रथ घार, न्युटन ‘ए’, न्युटन ‘बी’, न्युटन ‘सी’ जस्ता घारमा मौरीपालन गरिँदै आएको छ । तराईका लागि (सानो), मध्य पहाडका लागि (ठूलो) र उच्च पहाडका लागि (वाक्लो फल्याक) को घार बनाइन्छ ।
कृषि तथा पुशपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा वार्षिक १८ लाख किलो मह उत्पादन भइरहेको छ । नेपालमा उत्पादन भएको मह पछिल्लो समय भारत र चीनको बजारमासमेत बिक्री हुन थालेको छ ।
Related