• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराका पर्यटन ब्यवसायीको चिन्ता ; विमानस्थल संचालनमा आएपछि प्याराग्लाइडिङको अवस्था के हुने

"प्याराग्लाइडिङलाई पनि सोही स्थानमा सञ्चालन गर्न सक्ने गरी योजना बनाउन व्यवस्थापन समक्ष माग "
  •    शुभेच्छा न्यूज  /२८ श्रावण २०७८, बिहीबार ०९:०६ ,  प्रकाशीत
  • पोखरा प्राकृतिक सुन्दरतासँगै साहसिक पर्यटनको सहरका रुपमा पनि परिचित छ ।

    पोखराको प्याराग्लाइडिङले साहसिक पर्यटनका क्षेत्रमा धेरै पर्यटकको मन जितेको छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो पटक प्याराग्लाइडिङ पनि पर्ने गरेको छ ।

    पहिलो चरणको कोरोना महामारीको बन्दाबन्दीपछि खुलेको समयमा त पोखराको प्याराग्लाइडिङ आन्तरिक पर्यटकको पनि विशेष रोजाइमा पर्यो ।

    सायद महिनौँदेखि घरमै थुनिएर बस्नु परेका नेपालीहरु बन्दाबन्दी खुकुलो भएसँगै राम्रोसँग रमाउन चाहेर पनि हुनसक्छ, पोखरा आएका धेरैले प्याराग्लाइडिङ नै रोजेका थिए । पोखराको पर्यटनलाई चलायमान बनाउन पनि यसले निकै सहयोग पुर्यायो ।

    कम्पनीले ५० देखि ६० प्रतिशत छुटसहित दैनिक पाँच सयदेखि सात सय उडानले पोखराको आकाशलाई रङ्गीन बनाएको थियो भने आन्तरिक पर्यटक बढ्दा व्यवसायीमा पनि बन्दपछिको अवस्थामा केही आशा पलाएको थियो ।

    यतिबेला पोखराको पर्यटन फेरि कोरोना भाइरसको नयाँ प्रजातिका कारण क्षेत्र ठप्प छ । पर्यटन व्यवसायीहरु सहज खोप र पर्यटनमैत्री नीति ल्याएर यस क्षेत्रका व्यवसायीलाई विस्थापित हुनबाट जोगाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेका छन् ।

    यसैबीच पोखराको क्षेत्रीय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगिरहँदा यस क्षेत्रका प्याराग्लाइडिङ व्यवसायीहरु व्यवसायको भविष्य खोज्दै निरन्तरताको खोजीमा जुटेका छन् ।

    सन् २०१७ मा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य प्रारम्भ भएदेखि नै पोखराको सराङकोटबाट प्याराग्लाइडिङ उडान निरन्तरता हुन सक्छ कि सक्दैन भन्ने विषयले चर्चा पाएको थियो ।

    अहिले विमानस्थलको काम करिब ८२ प्रतिशत सम्पन्न भइसकेको छ । निकट भविष्यमै सञ्चालनमा आउन लागेको विमानस्थलका कारण वर्षौंदेखि सञ्चालन भइरहेको प्याराग्लाइडिङ विस्थापित गर्नुपर्ने अवस्था आउने त होइन भन्ने चिन्ता यतिबेला व्यवसायीमा देखिएको छ ।

    यसैबीच हवाई खेलकुद संस्थाको टोलीले केही दिनअघि विमानस्थलको अवलोकन गरेर व्यवस्थापन समक्ष प्याराग्लाइडिङ व्यवसायीका संस्थागत धारणाहरू राखेको छ ।

    संस्थाका अध्यक्ष कृष्ण भण्डारीले पोखराको साहसी खेलका रुपमा ब्रान्डिङ भएको प्याराग्लाइडिङलाई उच्चतम प्रविधि र व्यवस्थापनमा जोड दिएर सोही स्थानबाट निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको बताए ।

    उनले भने, “केही प्राविधिक कुराहरु देखाइएको छ तर उच्च प्रविधिको प्रयोगसँगै व्यवस्थापन गर्न सक्यो भने उडान असम्भव छैन, सिङ्गापुरमा प्रत्येक सेकेन्डमा हवाई उडान सम्भव छ भने यहाँ यी कुराहरु व्यवस्थापन गर्न असम्भव छैन ।”

    उनले नेपालकै लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल विश्वकै जोखिमयुक्त विमानस्थलमध्ये एक नम्बरमा रहे पनि कुशल व्यवस्थापनका कारण सुरक्षाको प्रत्याभूतका साथ सञ्चालन भइरहेको उदाहरण दिए ।

    “नागरिक उड्डयन प्राधिकरणले पनि कुशल व्यवस्थपनमा जोड दिन सके विमानस्थल सञ्चालनसँगै प्याराग्लाइडिङ सञ्चालनमा बाधा पुग्दैन”, भण्डारीले भने ।

    विमानस्थल निर्माण कार्य अन्तिम चरणमा पुग्दै गर्दा अब हुने ‘अपरेशन प्रोस्युडियर डिजाइन’मा प्याराग्लाइडिङलाई पनि सोही स्थानमा सञ्चालन गर्न सक्ने गरी योजना बनाउन व्यवस्थापन समक्ष माग गरेको बताए ।

    संस्थाका महासचिव बलराम आचार्यले पोखरामा प्याराग्लाइडिङ उडान प्राविधिक हिसाबले समस्या देखिएको हो भने अन्तर्राष्ट्रिय अभ्यासहरू हेरेर सोही मोडेल अनुरुप निरन्तरता दिन सकिने बताउँछन् ।

    “समस्याहरु होलान् तर समाधान हुनै नसक्ने समस्या देखिँदैन, मात्र विज्ञले ‘सेफ जोन’ बनाएर नीति नियमको कडाइका साथ पालन गर्ने हो भने विमानस्थलसँगै प्याराग्लाइडिङ पनि उडान गर्न सकिन्छ”, आचार्यले भने ।

    पर्यटकीय गतिविधिको एउटा उत्पादन प्याराग्लाइडिङ पनि भएकाले यसलाई यहाँबाट विस्थापित गर्दा पर्यटकीय आकर्षण कमी आउन सक्ने अनुमान उनको छ ।

    उनले २०७६ साल भदौ १६ गते नागरिक उड्डयन मन्त्रालयको निर्णयअनुसार प्याराग्लाइडिङ सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सुभाष झाको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन भएको र त्यसले क्षेत्रीय विमानस्थल सञ्चालनमा आएपश्चात् आउने अवस्थाका बारेमा जानकारी गराएको बताए ।

    कार्यदलले प्याराग्लाइडिङबारे बुझाएको प्रतिवेदनमा दुई विकल्प उल्लेख छ । पहिलो विकल्पमा साबिकको क्षेत्रबाट सेवा सञ्चालन गर्नका लागि केही सर्त अघि सारेको छ जसमा आधुनिक प्रविधिको प्रयोग गर्दै वा अन्य कुनै व्यवस्थापकीय माध्यम अपनाई यस्तै

    प्रकृतिका अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा प्याराग्लाइडिङ अपरेशन गरिरहेका स्विट्जरल्यान्ड, इटाली, फ्रान्स लगायतका देशले अवलम्बन गरेका नमूनास्वरुप गर्न सुझाएको छ ।

    प्याराग्लाइडिङ अपरेशनका लागि दुई घण्टा समय तोक्ने, ‘प्याराग्लाइडिङ जोन’को अधिकतम उचाइलाई कडाइका साथ पालन गरेर एटीसी टावरमा अत्याधुनिक प्रविधिबाट निगरानी गर्ने र कन्ट्रोल गर्न सकिने प्रतिवेदनको सुझाव दिएको छ ।

    त्यसैगरी दोस्रो विकल्पका रुपमा कार्यदलले साबिक क्षेत्रभन्दा अन्य क्षेत्रबाट सञ्चालन गर्न सक्ने उल्लेख गरेको छ ।

    हाल सञ्चालनमा आइरहेको सराङकोट, तोरीपानी, मान्द्रेढुङ्गा क्षेत्रबाहेकका क्षेत्रहरुबाट प्याराग्लाइडिङ सञ्चालन गराउनु पर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको एयरस्पेसभन्दा बाहिर पर्ने तर पोखरा उपत्यका आपासका क्षेत्रहरु पञ्चासे, माछापुच्छ्रे«े गाउँपालिका लगायतका क्षेत्रहरुबाट सञ्चालन गराउनसक्ने जनाएको छ ।

    विमानस्थल आयोजना प्रमुख बिनेश मुनकर्मीले अन्तर्राष्ट्रिय उडान र अवतरणमा सराङकोट क्षेत्र प्रयोग नहुने भए पनि अवतरण हुन नसकेका अवस्थामा सिधै जहाज सराङकोटतर्फ उड्ने भएकाले सो ठाउँ सुरक्षाका हिसाबले त्यति उपयुक्त हुन नसक्ने धारणा राखे ।

    अर्कातर्फ आन्तरिक उडानको रुट नै त्यही क्षेत्र पर्ने भएकाले प्याराग्लाइडिङ सञ्चालनमा बाधा पुग्न सक्ने उनको भनाइ थियो ।

    मुनकर्मीले यस विषयमा आफूहरु सकारात्मक रहेपछि जहाज उडान र अवतरणको काम निकै संवेदनशील भएकाले सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

    यद्यपि, उनले आफू यस विषयको विज्ञ नभएकाले अहिले नै हुन्छ या हुन्न भन्नुभन्दा पनि प्राविधिक विज्ञहरुको अध्ययन पश्चात् मात्र आधिकारिक धारणा बाहिर आउँदा राम्रो हुने बताए ।

    परामर्श समूहका प्रमुख यम भण्डारीले समग्र अध्ययन र ‘म्यापिङ’ बिना नै अहिले यस विषयमा भन्न नमिल्ने बताए । “प्राविधिक तथा हवाई सुरक्षाको अवस्था अध्ययन गरेर मात्र विकल्पहरु खोज्न सकिन्छ तर अहिले नै प्याराग्लाइडिङ सञ्चालन गर्न सकिन्छ, सकिँदैन भन्ने निष्कर्षमा जान मिल्दैन,” भण्डारीले भने ।

    पोखरा र आसपास क्षेत्रमा सर्वप्रथम सन् १९९७ देखि अल्ट्रालाइट विमानबाट तथा सन् २००१ देखि यन्त्ररहित प्याराग्लाइडरबाट सेवा सञ्चालन भएको थियो । त्यसयता ७९ वटा कम्पनी सञ्चालनमा आएका छन् ।

    प्याराग्लाइडिङ कम्पनी ७०, प्याराग्लाइडिङ फ्लाइङ स्कुल तीन, अल्ट्रालाइट कम्पनी चार र हटएयर बेलुन कम्पनी एकवटा सञ्चालनमा छन् ।

    संस्थाका उपाध्यक्ष अनिल केसीका अनुसार हाल प्याराग्लाइडिङका ६० वटा कम्पनी सञ्चालनमा रहेका छन् ।

    करिब रु एक अर्बको लगानी रहेको यस क्षेत्रमा पोखरामा मात्रै तीन सय ४२ जना नेपाली प्यारापाइलटले व्यावसायिक उडान भरिरहेका छन् ।

    विदेशी प्यारापाइलट करिब १५ जना रहेका छन् । प्याराग्लाइडिङ क्षेत्रमा एक हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको केसीको भनाइ छ ।

    विगत केही वर्षयता दिनानुदिन बढ्दै गइरहेको साहसिक, मनोरञ्जनात्मक उड्डयन क्रियाकलापहरूको बढोत्तरीले गर्दा यस क्षेत्रको सञ्चालन र व्यवस्थापनमा थप नयाँ समस्या र चुनौतीहरु थपिँदै गइरहेको संस्थाका सल्लाहकार शैलेन्द्र राउतले बताए ।

    उनका अनुसार उडान नियमावलीको व्यवस्था र अन्तर्राष्ट्रिय प्रचलनसमेतका आधारमा प्याराग्लाइडिङको नियमन र व्यवस्थापनका लागि

    नेपाल नागरिक उड्डयन प्राधिकरणले गण्डकी प्रदेशभित्र सञ्चालन हुने प्याराग्लाइडिङ सेवाको प्रभावकारी नियमन र सञ्चालन गर्न÷गराउनका लागि हाल नेपाल हवाई खेलकुद संस्था ९ना० पोखरालाई प्राधिकारिक संस्था तोकी सोही संस्थामार्फत तोकिएका कार्यहरु सम्पादन हुँदै आएको छ ।

    सन् २०१७ को नोभेम्बरदेखि राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ को जुलाई १० मा निर्माण सक्नुपर्ने सम्झौता थियो ।

    चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईले तोकिएको समय सीमाभन्दा छ महिनाअघि निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बताउँदै आए पनि कोरोनाका कारण विमानस्थलको एक वर्ष थप गरेर १० जुलाई २०२२ सम्म धकेलिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.