पर्यटकीय घान्द्रुकमा कल्चर रिसोर्ट ; आन्तरिक तथा बाह्यि पर्यटक प्रवद्र्धनसंगै कला संस्कृतिको जर्गेना गर्ने
"साढे १७ करोडको लगानीमा निर्माण "
तपाईको प्रतिक्रिया





कास्कीको अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुकमा ‘घान्द्रुक कल्चर रिसोर्ट’ संचालनमा आएको छ । ८ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्ट ब्यवसायी कुलप्रसाद गुरुङले साढे १७ करोडको लगानीमा निर्माण गरेका हुन ।
रिसोर्टको नयाँ बर्षको अबसर पारेर सगरमाथा टिभीका प्रबन्ध निर्देशक निर्मल गुरुङ र प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले उद्घाटन गरेका हुन् ।
नयाँ वर्षको अवसर पारेर ८० प्रतिशत कार्यसम्पन्न भएको रिसोर्टको उद्घाटन गरिएको घान्द्रुक कल्चर रिसोर्ट प्रालिका सञ्चालनक एवं अध्यक्ष कुलप्रसाद गुरुङले बताए ।
उद्घाटनको क्रममा सगरमाथा टिभीका प्रबन्ध निर्देशक गुरुङले रिसोर्टले घान्द्रुकको पर्यटन क्षेत्रमा टेवा पुग्ने बताए । उनले भने,‘पछिल्लो समय घान्द्रुकमा पर्यटकको चहलपहल बढिरहेको छ । रिसोर्ट संचालनसंगै पर्यटन क्षेत्रमा एउटा इट्टा थप्ने काम अवश्य गर्नेछ ।’सभाहल सहतिको रिसोर्ट निर्माणले घान्द्रुकमा खड्किएको अभाबलाई परिपुर्ति गर्ने उनको भनाई थियो ।
प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले रिसोर्टले घान्द्रुक मात्र नभएर नेपालकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । उनले यस क्षेत्र हुँदै अन्नपूर्ण बेस क्याम्प र घोडेपानी पुग्न सकिने भएकाले खर्च गर्न चाहने पर्यटकका लागि रिसोर्ट सहयोगी हुने बताए ।
करिब ३ वर्ष अघिदेखि निर्माण भइरहेको रिसोर्टको ८० प्रतिशत काम सकिएको रिसोर्ट सञ्चालक कुलप्रसाद गुरुङले जानकारी दिए । उनले भने,‘रिसोर्ट निर्माणको काम कोरोनाको समय देखि नै सुरु गरिएको हो । तर, पनि हिम्मत नहारी अनवरत रुपमा निर्माणको काममा लागियो । आज ८० प्रतिशत काम सकेर नयाँ वर्षको दिन उद्घाटन गर्न पाउँदा साह्रै खुसी लागेको छ ।’
रिसोर्टमा करिब ३ सय जना अट्ने सभाहल, रेष्टुरेण्ट, ५० वटा कोठा रहेको उनले बताए । सभाहलमा सेमिनार, गोष्ठी लगायत कार्यक्रम गर्न सकिन्छ । रिसोर्टमा बन्ने कोठा मध्ये २७ वटा तयारी अवस्थामा छन् । २३ वटा निर्माणाधिन अवस्थामा छन् । अहिले तत्काल ६० जना पाहुनाको व्यावस्थापन गर्न सकिने गुरुङले बताए । रिसोर्ट पूर्ण रुपमा सञ्चालन भएमा २ सय जना पाहुना राख्न सकिने छ ।
यहाँ २ वटा कल्चर कोठा, ४ वटा अतिविशिष्ट, १५ वटा विशिष्ट र अन्य सामान्य कोठा रहेको उनले बताए ।
लोप हुन लागेका पुराना संस्कार, संस्कृति जगेर्ना गर्ने उद्देश्यले रिसोर्टको परिकल्पना गरिएको सञ्चालक गुरुङले बताए । उनले भने,‘अहिले हाम्रो संस्कार संस्कृति हराउँदै जान थालेका छन् । लोप हुने अवस्थामा रहेको संस्कृति जगेर्ना गर्न सकिन्छ की भनेर प्रयास थालेको हुँ । हाम्रा कला, संस्कृति झल्काउने घुमाउने घर, ढिकी, जातो, घट्ट, पुराना धातुका सामान, डोका, नाङ्लो लगायत राखेका छौं । यो सँगै राती सांस्कृतिक कार्यक्रम पनि गरिन्छ ।’
रिसोर्टको माथि हेलिप्याड पनि बनाइएको छ । रिसोर्टमा विद्यार्थी, संघ संस्थाका समुह आएमा विशेष छुटमा राख्न सकिने गुरुङले बताए ।
Related