पोखरा महानगरमा बेथिति : जग्गा खरिद गर्न वडा अध्यक्षको व्यक्तिगत खातामा ५५ लाख जम्मा
तपाईको प्रतिक्रिया





पोखरा महानगरपालिकाले वडा अध्यक्षको व्यक्तिगत खातामा ५५ लाख रुपैयाँ पठाएको पाइएको छ ।
महानगरले फोहोर प्रशोधन केन्द्र निर्माणका लागि जग्गा खरिद गर्न भन्दै वडा नम्बर ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको व्यक्तिगत बैंक खातामा ५५ लाख रूपैयाँ पठाएको पाइएको हो ।
स्थानीय तह सञ्चालन ऐनमा पनि विकास निर्माणको बजेट जनप्रतिनिधिको व्यक्तिगत खातामा पठाउन नमिल्ने उल्लेख छ । तर, पोखरा महानगरपालिकाले कानुन विपरित ५५ लाख रुपैयाँ वडा अध्यक्षको व्यक्तिगत खातामा पठाएको हो ।
विकास निर्माणको बजेट सिधै जनप्रतिनिधिको व्यक्तिगत खातामा पठाउन नहुने कानूनी प्रावधान लत्याउदै विकासको बजेट जनप्रतिनिधिको व्यक्तिगत खातामा पठाउनु गैरकानुनी काम भएको एक जनप्रतिनिधिले बताए ।
यसअघि विकास बजेटको रकम कुनै पनि जनप्रतिनिधिको खातामा पठाइएको रेकडनै नभएको उनको भनाइ छ ।
यसरी विकास बजेट जनप्रतिनिधिको व्यक्तिगत खातामा सोझै पठाउँदा भ्रष्टाचार हुने भन्दै अहिले यसको चर्को विरोध पनि भईरहेकोछ ।
महानगरपालिकाका ती पदाधिकारीका अनुसार गत पुस २५ गते भएको महानगर कार्यपालिकाको बैठकले जग्गा खरिदका लागि वडाध्यक्ष अधिकारीको व्यक्तिगत खातामा उक्त रकम पठाउने निर्णय गरेको थियो ।
महानगर प्रशासन शाखाले कार्यपालिकाको निर्णयअनुसार फोहोरमैला प्रशोधन तथा जग्गा व्यवस्थापनका लागि वडाध्यक्षलाई पेस्की स्वरूप ५५ लाख रकम रुपैयाँ दिएको व्यहोरामा उल्लेख गरेको छ । तर, वडाअध्यक्षको खाताको रकम जम्मा भएको पाँच महिना बित्न लाग्दा पनि काम भने सूचारु भएको छैन ।
काम सुरू नभएपछि महानगरको वित्त शाखा प्रमुख जयराम पौडेलले वडाध्यक्ष अधिकारीलाई ७ दिनभित्र रकम फर्छ्यौट गर्न भन्दै गत वैशाख १५ गते पत्र लेखेका थिए ।
वडाध्यक्ष अधिकारीले पत्र पाएको साढे एक महिना हुन लाग्दा पनि रकम फर्छ्यौट गरेका छैनन् ।
Related