पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान चीनको छेन्दुबाट हुने पक्का, चार्टर्ड उडानको अनुमति
तपाईको प्रतिक्रिया





पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्ततः अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।
चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले २१ जुन (६ असार)का दिन चीनको छेन्दु विमानस्थलबाट चार्टर्ड उडान गर्ने गरी शुक्रबार अनुमति पाएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरामा नियमित उडानका लागि समेत कम्पनीसँग छलफल जारी रहेको छ ।
पोखराको फेवातालमा हुने नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने चिनियाँ खेलाडीहरु बोकेर सिचुवानको जहाज पोखरा अवतरण गर्नेछ । यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो अन्तर्राष्ट्रिय उडान हुनेछ ।
चिनियाँ एक्जिम बैंकको झण्डै २२ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण भएको यस विमानस्थल बैंकको ऋणमध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको बिनाब्याजको ऋण ब्यहोर्ने सर्तमा निर्माण भएको हो ।
झण्डै ३७ सय रोपनी क्षेत्रफलमा निर्माण भएको विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को मामदण्डअनुसार ४ ‘डी’ मोडलमा निर्माण गरिएको छ ।
यस विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० का जहाज अवतरण हुनेछन् । विमानस्थलको धावनमार्गको लम्बाइ २५ सय मिटर र रन वेको चौडाइ ४५ मिटर रहेको छ ।
विमानस्थलका लागि सरकारले २०३२ मा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेको थियो । तर, त्यतिले नपुगेपछि ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो ।
जुलाई २०२१ सम्ममा सञ्चालनमा ल्याउने लक्ष्क्षसहित निर्माण गरिए पनि बिश्वभर फैलिएको कोरोना संक्रमणका कारण डेढबर्ष पछि धकेलिएको हो ।
पोखराबाट विभिन्न देशमा सीधा उडान भर्न थाई स्माइल, जजिरा, साउर्थन चाइनालगायतले चासो देखाएर अध्ययन गरिरहेको बताए पनि उडान भने सुरु भएको छैन।
Related