फेवातालमा चिनियाँ ड्रागनको रौनक : नेपाल र चाइनाका टिम फाइनल प्रवेश (फोटो फिचर)
तपाईको प्रतिक्रिया





पोखराको फेवातालमा शुक्रबारदेखि ‘नेपाल-चाइना फ्रेन्डशिप ड्रागन बोट रेस फेस्टिभल’ शुरू भएको छ।
महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, पोखराका मेयर धनराज आचार्यसँगै चीनबाट आएका चार जना मेयर-उपमेयरले संयुक्त रुपमा उद्घाटन गरेका छन्।
प्रतियोगितामा आठ टोली सिचुवान ड्रागनबोट, युवान बोट, एसजी ड्रागन बोट (सिङ्गापुर), चाइना-नेपाल फ्रेन्डसीप ड्रागन बोट (पोखरा), नारा ड्रागन बोट (नेपाल), एनआरसीए बोट (नेपाल), फेवा ड्रागन बोट (नेपाल) र पोखरा महानगर ड्रागन बोट टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।
ड्रागन बोट रेस प्रतियोगितामा पहिलो दीनको खेलबाट ४ टोली फाइनल चरणमा प्रवेश गरेका छन्। नेपालका ४ र विदेशका ४ गरी ८ टिम बिच आज भएको दुई चरणको प्रतिस्पर्धाबाट २ टोली नेपालका र २ टोली चाइनाको फाइनल चरणमा प्रवेश गरेका हुन् ।
सिचुवाङ ड्रागन समूह, युनान ड्रागन समूह र नेपालको नेपाल र्याफ्टीङ एण्ड क्यानोइङ एशोसियसन (एनआरसीए) र नेपाल एसोसियसन अफ र्याफ्टीङ एजेन्सिज (नारा) फाइनल चरणमा प्रवेश गरेको प्रतियोगिताका प्राविधिक प्रमुख मिन बहादुर मगरले बताए /
आज २ सय र ५ सय मिटरको दुई÷दुई चरणको प्रतिस्पर्धा भए पनि दुवै तर्फको विधामा ४ टोली नै छनौट भएको मगरले बताए । २ सय मिटरमा सिचुवाङले १ मिनेट ४८ सेकेन्ड र ५ सय मिटरमा भने ४ मिनेट ३८ सेकेण्डमा उक्त दुरी पार गर्दै फाइनल चरणमा यात्रा बनाएको हो ।
त्यसै गरी नाराकोले २ सय मिटरको दुरी १ मिनेट ५३ सेकेण्डमा पार गरेको थियो भने ४ मिनेट ४७ सेकेण्डमा ५ सय मिटरको दुरी पार गर्दै फाइनल चरणमा यात्रा सुनिश्चित गरेको हो ।
यूनानको टोलीले २ सय मिटरको दुरी १ मिनेट ५५ सेकेण्डमा र ५ सय मिटरको दुरी भने ४ मिनेट ५३ सेकेण्डमा पार गर्दै फाइनल चरणको यात्रा पक्का गरेको हो ।
एनआरसीएले २ सय मिटरको दुरी १ मिनेट ५६ सेकेण्डमा र ५ सय मिटरको दुरी ५ मिनेट २ सेकेण्डमा पुरा गरी फाइनल चरणमा प्रवेश गरेको हो।
चाइना नेपाल फ्रेण्डसिप, पोखरा महानगरपालिका, सिंगापुरको जिएस ड्रागन समूह र फेवा डुङ्गा व्यवसायी सङ्गठनको टिम पहिलो दिनको प्रतिस्पर्धाबाट बाहिरिएका हुन् ।
डुंगा दौड अन्तरगत पाँच सय र दुई सय मिटरको दूरीमा हुने प्रतियोगिता शनिबारसम्म चल्नेछ। प्रतियोगितामा पाँच सय मिटरतर्फ विजेताले नगद पाँच लाख, उपविजेताले नगद तीन लाख र तेस्रो हुनेले दुई लाख पुरस्कार पाउनेछन्।
त्यस्तै, दुई सय मिटर दौडतर्फ विजेताले नगद तीन लाख, उपविजेताले नगद दुई लाख र तेस्रो हुनेले एक लाख पुरस्कार पाउनेछन्।
प्रतियोगितामा विजेता हुने टिमलाई जनही ५ लाख ५० हजार पुरस्कार प्रदान गरिने भएको पोखरा महानगरका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले बताए । उक्त प्रतियोगितामा पुरस्कारको लागि मात्र नगद ३० लाख खर्च हुनेछ । प्रतियोगितामा सहभागी सबै प्रतिस्पर्धी टिमलाई पुरस्कारको व्यवस्था गरिएको पौडेलले बताए ।
प्रतियोगिताका लागि चीनबाटै केरुङ नाका हुँदै आठवटा विशेष खालका बोट तथा अन्य आवश्यक सामग्री ल्याइएको छ। प्रतियोगितापछि बोट पोखरा महानगरलाई नै हस्तानन्तरण गरिनेछ।
दुईदिने महोत्सवमा नेपाली, चिनियाँ खाना, चिनियाँ सांस्कृतिक कार्यक्रम आकर्षण रहेका छन्। महोत्सवमा सहभागी हुन ६० जना खेलाडी सहितको झण्डै दुई सय जनाको चिनियाँ टोली बुधबार पोखरा पुगेको थियो।
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा शुरू भएको महोत्सवको पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसन सह-आयोजक हुन्।
दक्षिण एसियामै पहिलो पटक पोखरामा आयोजना भएको उक्त बोट रेसमा सहभागी हुन सिंगापुर, चाइना र नेपालका गरी ८ टिमको सहभागिता रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । पोखरा लेकसाइडको क्याम्पिङचोकमा चाइना तथा नेपालका केही स्टलहरू समेत रहेका छन् ।
नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसीज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएशन नेपाल (हान) लगायतका संस्थाहरूसँगको सहकार्यमा बोट रेस फेष्टिभवल भएको हो ।
तस्विर सौजन्य : सुदर्शन रञ्जित
Related