पोखरा महानगरको नीति : पर्यटकीय क्षेत्र लेकसाइड २४ घण्टा खोल्ने,फेवातालको मापदण्ड ६५ मिटर कायम गर्ने
तपाईको प्रतिक्रिया





पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आइतबार मेयर धनराज आचार्यले १३औँ नगरसभामा आगामी आर्थिक वर्ष आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पर्यटकीय क्षेत्र लेकसाइड क्षेत्र २४ घण्टा नै खोल्ने व्यवस्था मिलाइने उल्लेख गरे ।
आन्तरिक तथा बाह्यि पर्यटक प्रबद्धन गर्ने उदेस्यले रात्रिकालीन व्यवसाय संचालन गर्न नियमन गर्ने संरचना तयार गर्ने योजना महानगरको रहेको छ ।
यस्तै महानगरले पोखरालाई पर्यटनको राजधानी शहर घोषणा गर्न, ‘चलिए पोखरा, ओमेन झाओ वा पोखरा, जाउ है पोखरा’ जस्ता नारा सहित छिमेकी मुलुकका पर्यटकीय गन्तव्यका प्रमुख पर्यटन बजारमा नेपाली तथा पोखरेली पर्यटन प्रचार, प्रसार र प्रवर्धन गर्ने नीति लिएको छ ।
फेवातालको ६५ मिटर मापदण्डभित्र परेका संरचना हटाउन सर्वोच्च अदालतले गरेको आदेश कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाइने मेयर आचार्यले बताए । फेवातालसहित पोखराका विश्व रामसार सूचीमा परेका अन्य तालको सिमसार र जलाधार क्षेत्रको पनि संरक्षण गरिने महानगरले नीति लिएको छ।
मेयर आचार्यले फेवा, बेगनास, रुपालगायत रामसार सूचीमा सूचीकृत तालहरुको जलाधार तथा सिमसार क्षेत्रको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने बताए । फेवाताल मापदण्ड ६५ मिटर कायम गर्न र उक्त मापदण्डभित्र परेका संरचना हटाउन सर्वोच्च अदालतले असार ५ गते फैसला गरेको थियो । फेवाताल संरक्षणको विषय यसअघि पनि नीति तथा कार्यक्रममा समावेश हुँदै आएको थियो ।
त्यस्तै पोखरा महानगरले हुनेले दिने, नहुनेले लिने योजना अनुसार कपडा बैंक स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको अभिलेख तयार पार्ने र प्रोत्साहन दिने महानगरपालिकाले नीति लिएको छ । विद्यालयस्तरीय खेलकुदलाई जोड दिइने, अपांगता भएकालाई खेलमा लाग्न प्रेरित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै, अतिक्रमणको चर्को चपेटामा परेको फिर्केखोला संरक्षणका लागि दुवैतर्फ मापदण्ड तय गरिने महानगरले जनाएको छ । मेयर आचार्यले फिर्केको मापदण्ड निर्धारण भइसकेपछि फुट्ट्रयाक तथा साइकल लेनको व्यवस्था गरिने कार्यक्रममा समाबेश गरिएको छ ।
महानगरले भारतले नेपाल सरकाराई दिएका मुर्रा राँगा मध्ये पाँच वटा पोखरा ल्याउन पहल गर्ने भएको छ । ‘नेपाल सरकारले ल्याएको मध्ये कम्तिमा पाँचवटा मुर्राै राँगा पोखरा स्थित पशु प्रजनन केन्द्रमा ल्याउन पहल गरि महानगर क्षेत्रमा नश्ल सुधारसहित भैंसी पालन व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गरिने छ’, आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
महानगरपालिकाले एक घर एक विरुवा लगाउने नीति लिएको छ । आगामी आर्थिक वर्षमा महानगरका विभिन्न ठाउँमा २ लाख विरुवा रोपिने छ ।महानगरले बाँदर व्यवस्थापनका लागि सामुदायिक वनसँगको सहकार्य गरी नीति ल्याउने भएको छ । त्यसका लागि जंगलमै बाँदरको ‘मन पर्ने’ बाली केन्द्रित अनुसन्धानात्मक परियोजना सञ्चालन गर्ने नीति तथा कार्यक्रमा उल्लेख छ ।
महानगरले २० वर्ष पुरानो सवारी साधनलाई विस्थापन गर्ने जनाएको छ । त्यस्तै पोखरामा संचालन हुने सार्वजनिक यातायातमा अनिवार्य जिपिएस र विद्युतीय भुक्तानी प्रणाली जडान गरिने मेयर आचार्यले उल्लेख गरे । उनले यात्रुहरुको हितलाई मध्यनजर गरेर ट्याक्सी अनिवार्य मिटरमा चल्नुपर्ने व्यवस्था कडाइ गर्ने बताए ।
आगामी आर्थिक बर्षमा महानगरले ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको प्रयोगलाई पूर्ण प्रतिवन्ध गर्ने बताएको छ ।
त्यस्तै, महानगरले प्रावितहका विद्यार्थीलाई दिँदै आएको दिवा खाजा खर्चमा १० रुपैयाँ थप गरिदिने उल्लेख छ ।
महानगरले आगामी आर्थिक वर्षदेखि विपन्न परिवारलाई १० हजार लिटरसम्म निशुल्क खानेपानी वितरण गर्ने जनाएको छ ।
Related