पोखराबाट सवारी चालक अनुमतिपत्रको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा शुभारम्भ
तपाईको प्रतिक्रिया





पोखराबाट सवारी चालक अनुमतिपत्रको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा शुभारम्भ भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रमका बीच भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र गण्डकी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्जालीले हिजो संयुक्तरूपमा सेवाको शुभारम्भ गरेका हुन् ।
परीक्षणका रूपमा गण्डकी प्रदेशको पोखराबाट सुरु भएको अनलाइन राजस्व भुक्तानी सेवा एक महिनाभित्र देशका सातवटै प्रदेश राजधानीबाट सुरु हुनेछ ।
पहिलो चरणमा गण्डकी प्रदेशबाट सुरु भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नवीकरण अनलाइनबाटै गर्न सकिने भएको छ ।
आगामी दिनमा यातायात व्यवस्था कार्यालयबाट हुने सम्पूर्ण कार्यलाई अनलाइन प्रणालीबाट हुने व्यवस्था गर्ने मन्त्रालयको योजना छ ।
लाइसेन्स नवीकरण गर्दा लाग्ने शुल्क पनि अनलाइनबाट तिर्न सकिने भएको छ । सुरुमा लाइसेन्स लिँदा बायोमेट्रिकसमेत गर्नुपर्ने हुँदा कार्यालय नै जानुपर्छ । तर नवीकरणका लागि बायोमेट्रिक पहिल्यकै हुने हुँदा अनलाइनबाट फर्म भरी काम गर्न सकिने भएको हो ।
बिचौलिया र लाइन बस्नुपर्ने झन्झटको अन्त्य गर्न अनलाइन प्रणाली सुरु गरिएको गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बताए ।
अनलाइनबाट भुक्तानी गर्न मिल्ने भएपछि सहज हुने भए पनि अझै केही कानुनी जटिलता र ऐनको समस्याहरु रहेको मन्त्री जुग्जालीले बताए ।
Related