पीडितले उक्साहटमा परेको बयान दिएकाले पल शाहलाइ दोषी भन्न नमिल्ने उच्च अदालतको फैसला
तपाईको प्रतिक्रिया





उच्च अदालत पोखराले अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई बलात्कारसम्बन्धी मुद्दामा सफाइ दिएको छ ।
गत फागुन १४ गते उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहमाथि लागेको बलात्कारको अभियोगमा सफाइ दिएवपनि आदेशको पूर्णपाठ भने बल्ल सार्वजनिक भएको छ ।
उच्च अदालत पोखराले पीडितले ‘निज निर्दाेष छन’ भन्ने बकपत्र गरेपछि बालिका बलात्कार मुद्दामा सफाइ पाएका पल शाहलाइ दोषी भन्न नमिल्ने बताएको छ ।
पीडित भनिएकी युवतीले नै बकपत्रमा शाह निर्दोश छन् भनेपछि दोषी भन्न नमिल्ने अदालतले जनाएको छ । ‘निज निर्दोष छन् भन्ने समेत बेहोराबाट बकपत्रमा गरेको देखिन्छ । यसरी जो व्यक्ति पीडित भयो भनी जाहेरी दरखास्त परेको छ र आफू जबरजस्ती करणीको वारदातमा परि पीडित भएको भनी मौकामा कागज गर्दछिन् उनै व्यक्तिले अदालतमा उपस्थित भई आफू पीडित होइन, मेरो बुवाले अरुको उक्साहटमा जाहेरी दिएको र प्रतिवादीबाट कुनै प्रकारको यौन दुरुपयोग नभएको भनी सुरु अदालतमै व्यक्त जाहेरवाला निज पीडित कै पिता र नाबालिकाले बकपत्र गरेको स्थितिमा अभियोग दावी बमोजिमको जबरजस्ती करणीको वारदात भएको भन्न मिल्ने देखिएन,’ आदेशको पूर्णपाठमा भनिएको छ ।
गत फागुन ११ गते नाबालिकाका बुबाले पलविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । त्यसअघि मुद्दाको थुनछेक बहसमा जिल्ला अदालत तनहुँले २०७८ चैत १० मा र जिल्ला अदालत नवलपुरले चैत २३ गते पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो ।
विवाहको प्रलोभन देखाएर जबरजस्ती करणी गरेको, मध्य रातमा पीडितको कोठामा गएको स्वीकार गरेको र गर्भवती भएमात्र स्वीकार्छु भन्ने पीडकको अडियोलाई आधार मानेर अदालतले अभियोग पुष्टि हुने थुप्रै आधार देखिएको भन्दै शाहलाई थुनामै राखेर अनुसन्धानअगाडि बढाउन आदेश गरेको थियो ।
शाहलाई नाबालिकामाथि बाल यौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।
फैसलाविरुद्ध सरकारी वकिल कार्यालय र शाह दुबै उच्च अदालत पोखरा पुगेका थिए ।
Related