धर्मराजको पौरख : २७ वर्ष विदेशमा पसिना बगाए, अहिले गाउँमै कागती खेतीबाट मनग्य आम्दानी गर्दै
तपाईको प्रतिक्रिया





पछिल्लो समय दिनप्रति दिन युवा शिक्षा तथा रोजगारीका लागि विदेशी जान थालेपछि गाउँ सुनसान बन्दैछन् ।
सुनसान गाउँका खेतीयोग्य जमिनमा वनमारा पलाउन थालेका छन् । गाउँमा भएका बालबालिका पढ्न बजार आउन थालेका छन् । अहिले धेरैको रोजाइ विदेश र शहर/बजार पर्न थालेको छ ।
बागलुङको निसीखोला गाउँपालिका–५ कारिगाउँका धर्मराज पोखरेलले भने गाउँमा कृषि कर्मबाट मनग्य आम्दानी गरिरहेका छन् । पोखरेल पनि १२ वर्ष अगाडिसम्म विदेशमै थिए । २५ वर्ष भारत र दुई वर्ष कतारमा पसिना बगाएका पोखरेल अहिले भने गाउँमै व्यावसायिक कृषि कर्ममा छन् । पोखरेल बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीमै काम गर्छन् । उनको बारीमा कागती, सुन्तला, टिमुर लटरम्म फलेका देखिन्छन् । अहिले तीन सय बोट कागती, झन्डै एक सय सुन्तला र २५ टिमुरका बोट रहेका पोखरेलले जानकारी दिए । उनका अनुसार सबै बोटमा फल लागेका छन् ।
‘कागती खेतीलाई विशेष प्राथमिकतामा राखेको छु । कागतीसँगै सुन्तला र टिमुर उत्पादन राम्रै भइरहेको छ’, पोखरेलले भने, ‘बोटबाटै एक सयमा कागती बिक्री हुन्छ ।’ उनले कागतीको माग पहिलेको तुलनामा अहिले बढे्को भन्दै यहाँ उत्पादित कागती स्थानीय बजारका साथै बुटवलसम्म जाने गरेको बताए । यस वर्ष १३ लाख बढीको कागती, सुन्तला र टिमुर बिक्री भएको उनले जानकारी दिए ।
वर्षभरी घरपरिवारसँगै बसेर काम गर्दा लाखौँ आम्दानी गर्न सकिने भएकाले विदेश गएर परिश्रम गर्नुभन्दा स्वदेशमै स्वरोजगार बन्नु उपयुक्त हुने पोखरेलले सुझाव दिए । कागतीसँगै यसबाट बनेको काँचो तथा पकाएको चुकसमेत बजारमा पठाउने गरेको उनले बताए । कागती खेतीमा कृषकको राम्रो भविष्य रहेको जनाउँदै उनले यो बहुउपयोगी हुने हुँदा धेरै ठाउँबाट माग आउने गरेको बताए । गाउँमा भएका बाँझो जमिनमा पनि कागती खेती विस्तार गर्ने योजना रहेको पोखरेलले बताए ।
‘हाम्रो ठाउँमा कागती राम्रो उत्पादन हुन्छ । छोटो समयमा धेरै उत्पादन गर्नसक्ने, जाडो र गर्मी दुवै याममा खपत हुने भएकाले पनि बजारमा यसको माग धेरै छ’, उनले भने, ‘पहिले माग धेरै आएपछि उत्पादन बढाएको थिए । अहिले भनेअनुसारको बजार पाउन सकिरहेको छैन । उत्पादन भएका सबै कागतीले बजार पाउने हो भने यसबाट मात्रै लाखौँ कमाउन सकिन्छ ।’
पोखरेलजस्तै बागलुङमा थुप्रै कृषक कागती खेतीतर्फ आकर्षित भएका छन् । एक दशक अगाडिसम्म जिल्लामा परम्परागत खेती हुने गरेकामा पछिल्लो समय यहाँका किसान व्यावसायिक रूपमा कागती खेतीतर्फ आकर्षित भएका हुन् । निसीखोला, बडिगाड, गलकोट, बरेङ, काठेखोलालगायत अधिकांश पालिकामा कागती खेती गर्नेको संख्या बढेको छ । पाँच वर्ष पहिले बागलुङका बजारमा भारतबाट आयातित कागती पाइन्थ्यो तर अहिले स्थानीयस्तरमै उत्पादन भएका कागती बजारमा आउने गरेका स्थानीय बताउँछन् ।
निसीखोला–४ झिम्पाका रेमबहादुर क्षेत्रीले १८ वर्ष कतारमा बिताए । लामो समय विदेशमा बिताउँदा नपाएको खुसी अहिले आफ्नै बारीमा कागती खेती गरेर पाएको उनले अनुभव सुनाए । हाल चार सय कागतीका बोटमध्ये दुई सयले फल दिन थालेका क्षेत्रीले बताए । उनका अनुसार बारीमा कागतीसँगै एभोकाडो र टिमुरका बोट पनि छन् । सात वर्षदेखि व्यावसायिक रूपमा कागती खेती थाल्नुभएका क्षेत्रीले यस वर्ष चार लाख बराबरको बिक्री गरेको जानकारी दिए ।
‘विदेशमा धेरै दुःख गरियो, सुख मिलेन । अहिले परिवारसँगै बिहान बेलुका आफ्नै बारीमा काम गर्छु, फलफूलसँगै रमाउछु, आम्दानी पनि राम्रो हुँदै गएको छ’, उनले भने, ‘पहिले बाध्यताले विदेश गएँ, पैसा आफ्नै बारीमा कमाउन सकिने रैछ ।’ क्षेत्रीले सात वर्षदेखि कागती खेतीमा लगानी गर्दै आएको जनाउँदै अहिले प्रतिफल आउन थालेको बताए । उत्पादित कागती बिक्री हुन थालेपछि जीविकोपार्जनमा सहज भएको उनको भनाइ थियो ।
समुद्री सतहबाट एक हजार पाँच सय मिटरसम्म कागती खेतीको राम्रो सम्भावना रहेका कृषि ज्ञानकेन्द्र बागलुङले जनाएको छ । जिल्लामा ४० हेक्टर क्षेत्रफलमा कागती खेती गरिँदै आएको केन्द्रका सूचना अधिकारी कुमार पुन मगरले जानकारी दिए । ‘कागती स्वास्थ्यका लागिसमेत निकै लाभदायक मानिन्छ । यसबाट भिटामिन ‘सी’ प्राप्त हुन्छ’, उनले भने, ‘यसको काँचो र पकाएको चुक, अमिलो अचारलगायत विभिन्न परिकार बनाएर बिक्री गर्न सकिन्छ ।’
सूचना अधिकारी मगरले ४० हेक्टरमा खेती गरिए पनि अहिले २५ हेक्टरबाट उत्पादन भइरहेको जानकारी दिए । उनका अनुसार जिल्लाभर तीन सय मेट्रिक टन कागती उत्पादन हुने गरेको छ । पछिल्लो समय कागती खेतीको उत्पादन हुने क्षेत्रफल बढ्दो क्रममा रहेको भन्दै उनले केन्द्रले कृषकलाई बिरुवा वितरण, कागती खेतीसम्बन्धी तालिम तथा परामर्श सेवा दिँदै आएको बताए ।
‘जिल्लामा कागती खेतीको क्षेत्र व्यापकरुपमा विस्तार भइरहेको छ । उत्पादन पनि हरेक वर्ष बढेको पाएका छौँ, बजारका लागि खास्सै गुनासो आएको छैन, कतिपय किसानले गाउँ नजिकैको बजारमा बिक्री गर्नुहुन्छ भने कतिले बुटवललगायत शहरसम्म पुर्याउने गर्नुभएको छ’, सूचना अधिकारी मगरले भने, ‘कागतीखेती गर्दा किसानलाई आइपरेका समस्या समाधानका लागि हामी लागिरहेका छौँ । अहिले समस्या नआए पनि आउँदाबित्तिकै कृषकलाई खबर गर्न भनेका छौँ ।’
बजार व्यवस्थापन, बिरुवा वितरण, रोग लागेमा रोगको पहिचान गरी उपचार, आवश्यक परामर्शलगायत काममा केन्द्र सहजीकरण गर्न तयार रहेको उनको भनाइ थियो ।
Related