मित्रमिलन सहकारी ठगी प्रकरण : सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
तपाईको प्रतिक्रिया





पोखरा नयाँबजारस्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
सहकारीका सबै सञ्चालकसहित ठगीमा संलग्न भएको हुन सक्ने ३० जनाविरुद्ध कास्की जिल्ला अदालतबाट प्रहरीले आइतरबार पक्राउ पुर्जी लिएको हो।
पक्राउ पुर्जी लिएपछि उनीहरूको खोजी कार्य शुरु गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
प्रहरीले सहकारीका सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी, लेखा समितिका सदस्यहरु, पूर्व लेखासमितिका संलग्न देखिएका सदस्यका साथै कानुनी सल्लाहकार, पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपक सुवेदीलगायतलाई पक्राउ गर्न अदालबाट पुर्जी लिएको छ।
यस्तै नेकपा एमालेका जिल्ला सदस्य अर्जुन गिरी, सहकारीका उपाध्यक्ष विजय लम्साल र सहकारीका कानुनी सल्लाहकार जनकल्याण पराजुलीलाई पनि पक्राउ गर्न पुर्जी लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
संस्थाका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी यसअघि नै चेक अनादर मुद्दामा पक्राउ परी हिरासतमै छन्। सहकारीको बचतकर्तालाई दिइएको चेक बाउन्स भएपछि उनीहरु प्रहरीले कात्तिक ४ गते पक्राउ गरिएको हो।
बचतकर्ताहरुले रकम नपाएपछि दिएको निवेदनका आधारमा सहकारी रजिष्ट्रारको कार्यालय पोखराले सहकारीको वित्तीय विवरण सम्बन्धमा देखिएका कैफियतहरु उपर छानबिन गर्दा यो गिरोहको संलग्नतामा सहकारीको २६ करोड भन्दा बढि रुपैयाँ हिनामिना गरेको तथ्य भेटिएको थियो।
छानबिन समितिको प्रतिवेदनमा सहकारी ऐन २०७४ को दफा १२२ बमोजिमको कसुर लगायत मुलुकी अपराध संहिता २०७४ को दफा २५३ बमोजिम अपराधिक लाभ लिएको र कर छली गरेको लगायतका मुद्दामा अनुसन्धान गर्नुपर्ने देखिएकोले पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
सहकारीका ३४ जना बचतकर्ताले कार्तिक १२ गते एकमुष्ठ रूपमा सहकारी रजिष्ट्रार कार्यालय, गण्डकीमा उजुरी दिएका थिए।
Related