• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

डेंगुले आक्रान्त बन्दै पोखरा,२ सय ३० जनामा संक्रमण भेटियो

  •    नरहरि पौड्याल  /८ भाद्र २०७६, आईतवार ०५:२३ ,  प्रकाशीत
  • पोखरामा डेंगु रोगको संक्रमण झन् फैलिएको छ । करिब तीन हप्ताभित्र २ सय ३० जनामा डेंगुको संक्रमण देखिएको छ । तीन साताअघि शिवालय चोकका १ व्यक्तिमा डेंगु देखिएको थियो । शुक्रबारसम्म डेंगु संक्रमितको संख्या २ सय ३० पुगेको हो ।

    सरकारी तथ्याङकमा यो संख्या देखिए पनि डेंगूको संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको अनुमान गरिएको छ ।

    कतिपय बिरामीले आफूलाई पायक पर्ने निजी अस्पताल, क्लिनिक र औषधि पसलमा उपचार गराउँदै आएका छन् । उपचार गर्ने सबैको ल्याब परीक्षण गरिएको छैन । कतिपय बिरामीलाई स्वास्थ्यकर्मीले लक्षणका आधारमा उपचार गर्दै आएका कारण सरकारी तथ्याङभन्दा वास्तविक संक्रमितहरुको संख्या बढी रहेको सहजै अनुमान गर्न सकिन्छ ।

    तीन हप्ताअघि १ सय १९ जनामा देखिएको डेंगुको संक्रमण बढेर २ सय ३० पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयका सूचना अधिकारी डा.भोजराज गौतमले बताए । उनका अनुसार मानिसको जनघनत्व बढी पोखरा महानगरपालिकाका ८, ९ ,१० र १७ वडाहरुमा सबैभन्दा बढी डेंगुको संक्रमण देखिएको छ ।

    ‘दैनिकजसो डेंगुका बिरामीको संख्यामा वृद्धि हुँदै गएको छ,’ उनले भने, ‘पोखरा क्षेत्रमा यसवर्ष हालसम्म २ सय ३० जना डेंगुका बिरामी भेटिएका छन ।’

    पोखराका विभिन्न अस्पतालमा उनीहरुको उपचार भइरहेको डा.गौतमले बताए । ‘अहिलेसम्मको रिपोर्टमा २ सयभन्दा बढीमा डेंगु सेरोलोजी टेस्ट पोजिटिभ देखिएको छ,’ उनले भने, ‘कतिपय बिरामी अस्पतालमा उपचार गराइरहनु भएको छ । केही बिरामीहरु भने चिकित्सकको प्रत्यक्षमा निगरानीमा घरमै उपचार गरिरहेका छन् ।’्

    पोखराका विभिन्न अस्पतालमा झुलसहित छुट्टै कोठामा राखेर उच्च निगरानीका साथ डेंगुका बिरामीको उपचार भइरहेको उनले बताए ।

    उनकाअनुसार १५ साउनमा पोखरा–८, शिवालयचोकका एक व्यक्तिमा डेंगु संक्रमण भेटिएको थियो । पछि विस्तारै यसको संक्रमण पोखराका विभिन्न क्षेत्रहरुमा फैलिँदै गएको हो । शुक्रबार साँझसम्म पोखराका विभिन्न क्षेत्रबाट २ सय ३० जनामा संक्रमण भेटिएको छ ।
    पोखरा महानगरका ८ र ९ वडामा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । यस्तै पोखराका १, २, ४, ५, ६, १०, १७, २५ वडामा पनि डेंगु संक्रमितको संख्या बढ्दो छ ।

    पोखरामा विभिन्न संघसंस्थाको अगुवाईमा डेंगू सचेतना तथा खाली भाडामा पानी जम्न नदिने गरी घर दैलो कार्यक्रममा भइरहेको छ । संक्रमितहरुको गण्डकी मेडिकल कलेज (जिएमसी), फेवा सिटीमा, पश्चिमाञ्चल क्षेत्रीय अस्पताललगायतका ठाउँहरुमा उपचार भइरहेको डा.गौतमले बताए । ‘पोखरामा गत वर्ष डेंगुको टाइप २ भाइरस देखिएको थियो । अहिले उनीहरुको रगतको सेरोटाइप जाँचमा २ सयभन्दा बढीमा पोजेटिभ आएको छ । ‘टाइप १ देखि टाईप ४ सम्मको भाइरस डेंगुमा हुन्छ १ र २ नर्मल हुन्छ भने टाईप ३ र ४ खतरा हुन्छ ।’

    गत वर्ष पनि पोखरामा ५ सय ७१ जनामा डेंगू संक्रमण देखिएको थियो । लामखुट्टेको वृद्धि र संक्रमण गराउने उपयुक्त मौसम भएका कारण पोखरामा डेंगु संक्रमणको उच्च जोखिम अझै रहने बताउँदै उनले सावधानी अपनाउन सबैलाई आग्रह गरे ।

    लामखुट्टेको बासस्थान नै नष्ट पार्नु डेंगुको प्रमुख रोकथाम भएको उनको भनाइ छ । कास्कीबाहेक गण्डकी प्रदेशअन्तर्गत स्याङजाका दुई जनामा र तनहुँका एक जनामा डेंगु आउँदा भेटिएको डा. गौतमले बताए ।

    यसबाहेक यो वर्ष प्रदेशका अन्य जिल्लामा हालसम्म डेंगुका बिरामी नभेटिएको उनले बताए ।

    डेंगु नियन्त्रण गर्न २१ लाख बजेट
    गण्डकी प्रदेश सरकारले पोखरामा देखिएको डेंगु संक्रमण रोकथाम गर्न २१ लाख रुपैयाँ बजेट निकासा गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदको बुधबारको बैठकले २१ लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एंवं भौतिक योजनामन्त्री रामशरण बस्नेतले बताए ।

    ‘डेंगु नियन्त्रण गर्न मन्त्रालयमार्फत प्रदेश सरकारले बजेटसमेत निकासा गर्दै छ,’ उनले भने, ‘डायग्नोसिस किट खरिदलगायत उपचारका लागि बजेट खर्च हुनेछ ।’

    डेंगु परीक्षण किडकाे अभाव
    गण्डकी प्रदेशको ठूलो अस्पताल ‘पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा’ (स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा) मा डेंगू रोग परीक्षण किड अभाव छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा डेंगु परीक्षण गर्ने डायग्नोसिस (रोग पहिचान) किट नहुँदा उपचारमा समस्या भएको चिकित्सकले बताएका छन् ।

    डेंगु परीक्षण गर्ने डायग्नोसिस (रोग पहिचान) किट नहुँदा अस्पतालमा समस्या भएको डा. लक्ष्मण बास्तोलाले बताए । ‘अस्पतामा डायग्नोसिस किटको व्यवस्था छैन,’ उनले भने, ‘बाहिर मौका छोपेर चर्को मूल्य लिने गर्दा बिरामीलाई थप समस्या छ ।’

    के हो डेंगु ?
    डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो । यस एडिस लामखुट्टेले मानीसलाई दिउसो मात्र टोक्ने गर्दछ । यस डेंगू रोग मानिबाट मानिसमा सिधै सर्दैन् । यस प्रजातिको लामखुट्टेले सफा पानी जमेको ठाउँमा साना साना स्थानहरुमा फुल पार्दछ । खासगरी वर्षाको पानी जम्ने स्थान, पानी जम्ने टिनका डब्बा, टायर, ड्रमहरु, फूलदानी र गमलालगायतका स्थानमा यसले फुल पार्दछ । वर्षातको आगमनसँगै जताततै पानी जम्न थालेपछि यस रोगको संक्रमण फैलिने गर्दछ ।

    २० देखि ३० डिग्रिसेल्सियस तापक्रम लामखुट्टेलाई उपयुक्त हुने हुँदा अत्यधिक फूल पार्ने गर्दछन् । पोखराको तापक्रम अहिले त्यस हाराहारीमै हुँदा संक्रमणको बढेको स्वास्थ्य निर्देशनालयका डा. गौतम बताउँछन् ।

    कसरी सर्छ ?
    रोगबाट बच्न एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट बच्नुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । यो लामखुट्टेले दिउँसोको समयमा मात्र टोक्ने गर्छ । डेंगु रोग नियन्त्रणको प्रमुख उपाय लामखुट्टेको लार्भा र प्यूपा बस्ने बासस्थान नष्ट नै रहेको जानकारी डाक्टर गौतमले दिए । ‘डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । यो जातको लामखुट्टेले दिनमा मात्र टोक्ने गर्छ,’ डाक्टर गौतमले भने, ‘भाइरसबाट सर्ने यो रोगको खोप तथा खास उपचार नै छैन ।’

    डेंगुको प्रकोप देखिएपछि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयले सरकारी तथा निजी अस्पतालबाट प्रत्येक दिन त्यस्ता रोगीको तथ्याङ्क लिने र लामखुट्टे धपाउने अभियान शुरु गरिसकेको छ ।

    निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले पोखराका नगर क्षेत्रमा लामखुट्टेको बासस्थान खोज, नष्ट गर्ने र सचेतना अभियान सञ्चालन भइरहेको बताए ।

    उनका अनुसार मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज (जिएमसी) का मेडिकलमा अध्ययनरत विद्यार्थीसहितको टोलीले पोखरा–८ र ९ लगायका स्थानहरुमा लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिरहेको छ ।

    लक्षण र बच्ने उपाय
    डेंगु लागेपछि देखिने लक्षणमा उच्च ज्वरो आउने, जीउ दुख्ने, जोर्नी तथा हाडहरु बेस्सरी दुख्ने, आँखाको गेडी वरपर दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, खाना खान मन नलाग्ने, छालामा रगत जमेको धब्वाहरु देखा पर्ने, नाक, गिँजा र शरीरका अन्य अंगबाट रगत बग्नेलगायतका चिन्ह र लक्षणहरु देखापर्ने डाक्टर गौतम बताउँछन् ।

    डेंगु ज्वरो विषाणुको कारणबाट हुने भएकाले यसको घरेलु उपचार छैन । डेंगु ज्वरोबाट हुनसक्ने जटिलताबाट बच्न तुरुन्त स्वास्थ्य जाँच र उपचारका लागि स्वास्थ्य संस्थामा जानुको विकल्प छैन ।

    लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय हो । त्यसका लागि दिउँसोको समयमा अनावश्यक रुपमा नाङ्गो जीउ बाहिर ननिस्कने, जमेको पानीमा यो जातको लामखुट्टले फुल पार्ने भएकाले आफू बस्ने वरिपरी फालिएका खाली बोटल, अलकत्रा तथा मट्टीतेलका खाली ड्रमहरु, पुराना टायरलगायतमा पानी जम्न नदिने, पानीट्यांकीमा लामखुट्टे बस्न नदिने, गमलामा पानी जम्न नदिने, भाँडामा पानी जम्न नदिई घोप्ट्याएर राख्ने, लामखुट्टे टोकाइबाट बच्न मल्हम लगाउन चिकित्सकले सल्लाह दिएका छन् ।

    उपचार विधि
    डेंगु ज्वरो विषायु (भाइरस) का कारणले हुने भएका कारण यसको खास उपचार नै नभएको चिकित्सक बताउँछन । स्वास्थ्य संस्थाहरुमा यसको लक्षण अनुसारको मात्र उचपार गरिन्छ । यसको संक्रमणसँगै स्वास्थ्यमा थप क्षति वा संक्रमण नहोस् भनेर आवश्यक उपचार विधिहरु अपनाइन्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.