सिद्धार्थ माध्यमिक विद्यालयमा डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङको पढाइ सुरु
तपाईको प्रतिक्रिया





फेदीखोला गाउँपालिकाको वडा नं. २ स्थित सिद्धार्थ माविमा बुधबारबाट डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ कक्षा सञ्चालनमा आएको छ ।
फेदीखोला गाउँपालिकाको विशेष पहलमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त उक्त कोर्ष गण्डकी प्रदेशमा सामुदायिक विद्यालयतर्फ सिद्धार्थ माविले पहिलो पटक सञ्चालनमा ल्याएको हो ।
तीन बर्षमा छ सेमेष्टर सम्म पढाइ हुने उक्त कोर्षले विशेषत सफ्टवयर डेभलपमेन्ट, नेटवर्किङ तथा डाटावेस, कम्प्युटर ग्राफिक्स तथा एनिमेशन, इलेक्ट्रिल क्षेत्रमा जनशक्ति उत्पादन गर्ने विद्यालयले जानकारी दिएको छ ।
जिल्ला समन्वय समिति स्याङ्जाकी प्रमुख सिता सुन्दासले सैद्धान्तिक विषयका शिक्षाले देशमा शैक्षिक बेरोजगारी बढाएको बताइन । देशलाई समृद्धितर्फ लैजान प्राविधिक शिक्षालाई शैक्षिक नीतिले प्राथमिकतामा राखेको भन्दै गाउँपालिकामा प्रविधि र प्राविधिक शिक्षाका विभिन्न आयामहरुले निरन्तरता पाउनु गर्वलायक भएको बताइन् ।
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले गाउँपालिकालाई प्राविधिक शैक्षिक हब बनाउने उद्देश्यले स्थापनाकाल देखि नै प्रत्येक विद्यालयमा प्रविधि र प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै आइएको बताए । गाउँपालिकालाई शैक्षिक हब बनाउने उद्देश्य अनुरुप प्रत्येक विद्यालयमा प्राविधिक विषयमा डिप्लोमा कोर्षहरु गरिने अध्यक्ष सुवेदीले बताए ।
प्राविधिक शिक्षाका कोर्षहरु सञ्चालन हुने महाविद्यालयमा इन्जिनियरिङ तर्फ १ हजार बढि विद्यार्थीलाई पढाइने योजना छ । महाविद्यालयको पुर्वाधार तथा सर्भेका लागि मात्र प्रदेश सरकारले साँढे ४ करोड रकम विनियोजन गरेको छ ।
विद्यालयका प्रधानाध्यापक मनोजकुमार शर्माले विद्यालयले शैक्षिक गुणस्तरलाई कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्कीले सुरुवाती चरणमा विद्यार्थीको संख्या कम देखिएपनि आगामी बर्षमा गुणस्तरीयताकै कारण विद्यार्थीको चाप बढ्ने दावी गरे ।
Related