२५ करोडका लगानीमा पोखरामा बायोग्यास उद्योग सञ्चालन, दैनिक २ सय सिलिण्डर ग्यास उत्पादन हुने
तपाईको प्रतिक्रिया





पोखरा । पर्यटकीय नगरी पोखरामा गण्डकी उर्जा प्रालिले बायोग्यासको ब्यवसायीक उत्पादन शुरु भएको छ ।स्थानिय १४ युवाब्यवसायीले २५ करोडको लगानीमा बायोग्यास उद्योग सञ्चालनमा ल्याएका हुन् ।
पोखरा महानगरपालिका ३२ मझुवामा स्थापना गरिएको उद्योगले अहिले दैनिक १ सय सिलिन्डर ग्यास उत्पादन गरिरहेको छ । कम्पनीले ४५ टन फोहोर प्रशोधन गरी दैनिक २ सय सिलिण्डर बायोग्यास उत्पादन गर्ने योजना रहेको जनाएको छ ।
कम्पनीले प्रतिसिलिन्डर १ हजार १ सय ५९ रुपैयाँमा मुल्य तोकेको छ। यस कम्पनीबाट उत्पादीत बायोग्यास बजारमा पाइने एलपी ग्यासभन्दा बढी प्रज्वलनशील, सस्तो र वातावरण मैत्री रहेको उपभोक्ताको अनुभव छ ।
पोखराको मोर्डन चाउमिन उद्योगले एलपी ग्यासमा मासिक ६५ हजार खर्च गर्दै आएको थियो । तर, पोखरामा उत्पादन हुन थालेको बायोग्यास सिलिन्डर प्रयोग गर्न थालेपछि मासिक ३५ हजारको मात्र ग्यासले महिना दिनलाई पुगेको सञ्चालक बताउँछन् ।
स्थानीय युवा उद्यमी मिलेर प्लान्टको निर्माण गरेको गण्डकी ऊर्जा प्रालिका सञ्चालक कुशल गुरुङले बताए । उनका अनुसार प्लान्टमा अहिले गाई भैंसीको गोबर, कुखुराको सुली र बंगुरको खोरबाट निस्किएको फोहोरलाई कच्चा पदार्थकारुपमा प्रयोग गरिन्छ ।
उद्योगमा फोहोर घोल्न तीनवटा टंकी निर्माण गरिएको छ । सुरुमा गाई, भैंसी, कुखुराको मल, घरबाट निस्कने कुहिने फोहोर र पानीको उचित मात्रा मिलाएर मिक्सिङ टंकीमा घोलिन्छ । घोल पाइपको माध्यमबाट डाइजेस्ट टंकीमा पठाइन्छ । डाइजेस्ट टंकीबाट रेसिड्यु टंकीमा पुगेपछि ग्यास पाइपमार्फत फिलिङ स्टेसनमा पठाइन्छ भने मल अर्को ठाउँमा जम्मा गरिन्छ ।
उद्योगका मेकानिकल इञ्जिनियर जितेन्द्र रामका अनुसार यो ग्यास प्रकृतिका ज्वलनशील पदार्थहरु मिथेन, कार्बनडाइअक्साइड र हाइड्रोजन सल्फाइडको मिश्रण हो । ‘यसले जलवायु परिवर्तनलाई रोक्छ र वातावरण स्वच्छ राख्न मद्दत र्पुयाउँछ,’ उनले भने, ‘त्यसैले यसलाई सफा ऊर्जा अर्थात क्लिन इनर्जी भनिएको हो ।’
गण्डकी प्रदेशको नवलपुर र स्याङजाको नौडाँडामा समेत यस्ता उद्योग गतबर्षबाटै सञ्चालनमा आएका छन्। तर नेपालका बायोग्यास उत्पादन गर्ने यही उद्योग सबै भन्दा ठूलो भएको कम्पनीको दावी छ ।
सन् २०१६ मा निर्माण थालेर २ महिनाअघि परीक्षण उत्पादन थालेको उद्योगमा अहिले २५ जना कामदारहरु कार्यरत छन् । अहिले उद्योगका विभिन्न रेस्टुरेन्ट र उद्योग गरी १० वटा नियमित ग्राहक रहेका छन् ।
पूरा क्षमतामा उत्पादन थालेपछि थप ग्राहकलाई ग्यास उपलब्ध गराउने उद्योगले जनाएको छ ।
Related