सोमनाथ प्यासीः राष्ट्रिय पञ्चायत सदस्यदेखि प्रदेश प्रमुखसम्म
"पूराना बामपन्थी नेता सोमनाथ अधिकारी प्यासी नियुक्त "
तपाईको प्रतिक्रिया





सरकारले सातवटै प्रदेशमा प्रमुख नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सातै प्रदेशको प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिले सरकारको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
जसअन्तर्गत प्रदेश १ को प्रमुखमा पोखराका पूराना बामपन्थी नेता सोमनाथ अधिकारी प्यासी नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले उनलाई प्रदेश–१ को प्रदेशको प्रमुखमा सिफरिस गरेको छ ।
प्यासी गण्डकी प्रदेशका बासिन्दा भएका कारण गण्डकी प्रदेशको प्रमुखमा नियुक्त हुने पोखरेलीले आँकलन गरेका थिए । तर, सरकारले उनलाई प्रदेश–१ को प्रमुखका रूपमा जिम्मेवारी दिएको छ । यसअघि नियुक्त भएका प्रदेश प्रमुख आइतबार बर्खास्तीमा परेपछि नयाँ प्रदेश प्रमुखहरू नियुक्त गरेको हो ।
उनी पोखरा बाटुलेचौर निवासी हुन् । प्यासी २०२४ सालदेखि कम्युनिस्ट पार्टीमा लागेका थिए । उनले आफ्नो जीवनको कालखण्डमा पटकपटक जेल जीवन बिताएका छन् ।
विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा प्रारम्भ गरेका प्यासी २ पटक पृथ्वीनारायण क्याम्पसको स्ववियू सभापति बने । विद्यार्थी राजनीतिबाट कम्युनिस्ट आन्दोलनको अगुवाइ गर्दै पञ्चायतकालमै राजनीतिमा होमिएका प्यासीको यात्रा प्रदेश प्रमुखसम्म पुगेको छ ।
प्रदेश प्रमुख प्यासीको राजनीतिक यात्रा
२२ पुस वि.सं २००७ मा पोखरा महानगरपालिका–१६, बाटुलेचौरमा प्यासीको जन्म भएको हो । उनले पृथ्वीनारायण क्याम्पस पोखरामा अंग्रेजी विषयमा स्नातक तहसम्म अध्ययन गरेका छन् ।
२०२४ सालमा प्रगतिशील विचार अध्ययन समूहको सदस्य हुँदादेखि नै प्यासीकोे राजनीतिक यात्रा सुरू भएको हाे । तत्कालीन मार्क्सवादी लेनिनवादी क्रान्तिकारी कम्युनिस्ट दल (गण्डकी धौलागिरी) को २०२५ जेठ ३० मा संस्थापक सदस्य भएका प्यासी २०२७ सालमा एक कार्यकाल पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भए ।
उनी त्यस समय प्रगतिशील प्यानलबाट स्ववियु सभापतिमा निर्वाचित भए । पार्टीमा रहँदा अनेकौं रचनात्मक कामको सिर्जना गर्ने र निरन्तरता दिने प्यासीको स्वभाव रहेको उनका समकक्षीहरू बताउँछन् ।
प्यासी २०२९ सालमा तत्कालीन नेकपा मार्क्सवादी लेनिनवादी क्रान्तिकारी कम्युनिष्ट दलको कास्की जिल्ला सचिव भए । पार्टीको जिम्मेवारी सम्हालेपछि २०३१ सालमा पार्टी संगठन विस्तारका लागि म्याग्दी जिल्लाको दरबाङ र दोभामा शिक्षण पेशामा आबद्ध भए ।
त्यसैगरी, उनले धादिङको बैरेनी माविमा समेत करिब नौ महिना पार्टी कामसहित शिक्षण पेशामा आबद्ध भए । क्रान्तिको अगुवाइ र पञ्चायती व्यवस्थाको विरोधका आन्दोलनहरूमा प्यासीले दर्जनौं पटक जेलजीवन बिताएका छन् । २०३२ देखि २०३४ सालसम्म मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, पाल्पा, पोखरा र नख्खु जेलमा गरी करिब ३ वर्ष जेलजीवन बिताए ।
विद्यार्थी राजनीतिमा अध्यक्ष हुँदै २०३७ सालमा अनेरास्ववियुको पाँचौ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भए । उनलाई पार्टीले पश्चिमाञ्चल क्षेत्रको विशेष जिम्मेवारी समेत सुम्पिएको थियो ।
सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्दै अगाडि बढ्ने झोंकी स्वभावका प्यासी २०३७ देखि २०३९ सम्म तत्कालीन नेकपा (माले) इलाका कमिटी कास्कीको सचिव थिए । २०४३ सालमा पार्टीले पञ्चायती चुनाव उपयोगको नीति लिएपछि उनी नेकपा (माले) का तर्फबाट जनपक्षीय राष्ट्रिय पञ्चायत सदस्यमा कास्कीबाट अत्यधिक मतले निर्वाचित भए ।
मनमोहन अधिकारी नेतृत्वको नेकपा मार्क्सवादी र मदन भण्डारी नेतृत्वको नेकपा (माले) एकीकरण भएपछि २०४८ सालमा अञ्चल कमिटी सदस्य भएर काम गरे । त्यसलगत्तै २०४८ सालमा उनले एमाले कास्की उपसचिवको जिम्मेवारी पाए ।
२०४८ मा कास्की जिल्ला क्षेत्र नम्बर ३ बाट प्यासी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । त्यसपछि उनी नेकपा एमाले संसदीय दलको सचिव चुनिए ।
२०५४ मा प्यासी राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्षमा मनोनयन भए । २०५२ सालमा एमाले चौथों जिल्ला अधिवेशनबाट कास्कीको सचिवमा निर्वाचित भए । २०५४ मा पार्टी विभाजित भएपछि उनी पुनर्गठित जिल्ला कमिटी एमालेको सचिव भए । त्यसैगरी, २०६७ सालमा अञ्चल कमिटीको सचिव भए ।
२०६८ सालमा एमाले राष्ट्रिय प्रतिनिधि परिषद्को प्रथम बैठकबाट केन्द्रीय निर्वाचन आयोगको अध्यक्ष बने । तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेको एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी आमन्त्रित सदस्य छन् ।
सामाजिक संस्थामा आवद्धता
राजनीतिक निरन्तरतासँगै प्यासीले सामाजिक संस्थाहरूसमेत आफ्नो उपस्थिति जनाएका छन् । उनी पोखरा विश्वविद्यालयको सभासद, पृथ्वीनारायण क्याम्पसको सञ्चालक समिति, विन्ध्यवासिनी माविको व्यवस्थापन समिति अध्यक्ष, सोही क्याम्पसको अध्यक्ष गरी उनले दुई कार्यकाल भूमिका निभाइसकेका छन् ।
Related