भुटानलाई हराउँदै नेपालले चुम्यो पुरुष फुटबलमा स्वर्ण
" नेपालको यू-२३ ले भुटानलाई २-१ ले पराजित गर्दै चौथो पल्ट सागमा स्वर्ण जित्यो "
तपाईको प्रतिक्रिया





१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको स्वर्ण नेपालले चुमेको छ। मंगलबार स्वर्णका लागि भएको प्रतिष्पर्धामा नेपालको यू-२३ ले भुटानलाई २-१ ले पराजित गर्दै चौथो पल्ट साग पुरुष फुटबलमा स्वर्ण जितेको हो।
नेपाल अपराजित रहँदै साग फुटबलको फाइनल पुगेको थियो। नेपालको जितमा अभिषेक रिजाल र सुनिल बलले गोल गरे। भुटानका लागि एकमात्रै गोल कप्तान चेन्चो ग्याल्सेनले गरे।
खेलमा अग्रता नेपालले १६औं मिनेटमा अभिषेक रिजालको गोलमार्फत लिएको थियो। अभिषेकले ६ यार्ड बक्स नजिकबाट प्रहार गरेको बलले पोष्टको जाली चुम्न पुगेको थियो।
त्यसपछि दोस्रो हाफमा आक्रामक देखिएको नेपालले थप एक गोल थप्यो। नेपालका लागि सुनिल बलले खेलको ५३औं मिनेटमा हेडमार्फत उत्कृष्ट गोल गरे। यसअघि समूह चरणबाट बाहिरिने भुटान यसपटक नेपाल बाहेक सबै राष्ट्रलाई हराउँदै फाइनल पुगेको थियो।
पहिलो खेलमा नेपालले भुटानलाई ४-०, दोस्रो खेलमा श्रीलंकासँग १-१ को बराबरी, तेस्रो खेलमा माल्दिभ्सलाई २-१ गोलले हराएको थियो। अन्तिम खेलमा नेपालले बंगलादेशलाई १-० ले हराएको थियो। भुटानले पहिलो खेलमा बंगलादेशलाई १-० ले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालसंग ४-० ले पराजित भएको थियो। तेस्रो खेलमा माल्दिभ्सलाई २-१ ले हराएको भुटानले लिगको अन्तिम खेलमा श्रीलंकालाई ३-१ ले हराएको थियो।
Related