पर्वत : पूर्व निर्धारित कार्यक्रमअनुसार शुक्रबारदेखि काठमाडौं–बलेवा–काठमाडौं नियमित विमान सेवा संचालन सुरु भएको छ। काठमाडौंदेखि बागलुङको बलेवाका लागि शुक्रबारको पहिलो उडान तारा एयरले गरेको हो।
बागलुङ नगरपालिका र दुई विमान कम्पनीहरू तारा र नेपाल एयरलाइन्ससँग पालैपालो उडान भर्ने सम्झौता भएको छ। दुई जना प्रतिनिधिसभा सदस्यसहित १५ जना यात्रु लिएर विमान शुक्रबार दिउँसो १ बजे बलेवा विमानस्थलमा अवतरण गरेको थियो। त्यसरी नै शुक्रबार पहिलो दिन बलेवा विमानस्थलबाट सात जना यात्रु लिएर तारा एयरको विमान काठमाडौं उडेको छ।
बलेवा–काठमाडाैँ-बलेवाका लागि नियमित रूपमा सातामा दुई उडान गर्ने जनाइएकाे छ। नगरपालिका र विमान कम्पनीबीच भएको सम्झौतामा उल्लेख गरिएको शर्तअनुसार १२ जनाभन्दा कम यात्रु भएमा नपुग यात्रुहरूको भाडा बागलुङ नगरपालिकाले तिर्नुपर्नेछ। संचालनमा आएसँगै विमानले लिने यात्रु भाडा निकै बढी भएकाले समायोजन गर्नुपर्ने माग पनि उठेको छ। बलेवा विमानस्थल बागलुङकाे सदरमुकामदेखि झण्डै १० किलोमिटर दक्षिणमा छ। जहाजमा चढ्नुपर्ने यात्रीलाई सदरमुकामदेखि स्थानीय यातायात व्यवसायीले जिपमार्फत् नि:शुल्क आउजाउको व्यवस्थापन पनि गरेकाे छ।
बिहीबार नगरपालिका, जिल्ला यातायात व्यवस्थापन समिति र यातायात व्यवसायीको भेलाले कालीगण्डकी करिडोरको बाटोमा जहाज चढ्ने र आउने यात्रीलाई नि:शुल्क सेवा दिने निर्णय गरेको हो। नि:शुल्क आउन पाउने भएपछि जहाजमा आएकाहरूले बजारसम्म सहजै यात्रा गर्न पाउनेछन्।
Related