एमसीसी राष्ट्र हित विपरीतः राजमो अध्यक्ष केसी
"एमसीसी लागुभए राष्ट्र र राष्ट्रियतामाथी गम्भीर प्रश्न चिन्ह खडा हुने "
तपाईको प्रतिक्रिया





राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मिलेनीयम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लागु भए त्यो राष्ट्र हित विपरित हुने बताएका छन् ।
मित्र राष्ट्र चीन बिरोधी गतिविधि सञ्चालन गर्नका लागि नेपाललाई प्रयोग गर्न एमसीसी ल्याईएको भन्दै केसीले यो कार्यक्रम लागुभए राष्ट्र र राष्ट्रियतामाथी गम्भीर प्रश्न चिन्ह खडा हुने दावी गरे ।
राष्ट्रिय जनमोर्चा बागलुङको प्रथम जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमको शनिवार बागलुङको बरेङ गाउपालिकामा उद्घाटन गर्दै केसीले एमसीसी राष्ट्र र राष्ट्रियताका लागि कुनै पनि हिसावले उपयुक्त नभएको बताए ।
अमेरीकाले आफ्ना स्वार्थका लागि नेपालमा एमसीसी लागु गर्न खोजेको भन्दै केसीले एमसीसीले देशलाई फाईदा भन्दा घाटा धेरै रहेको टिप्पणी गरे ।
‘नेपाललाई एमसीसीमा हस्ताक्षर गराएर इन्डो प्यासेफिक रणनीतिसम्म हस्ताक्षर गराउने योजनामा अमेरीका छ’ केसीले आफ्नो दावी प्रस्तुत गर्दै भने – ‘आफ्नो देशको सार्वभौमिकता, अखण्डता र स्वतन्त्रतालाई दाउमा राखेर, राज्य सञ्चालकहरु एमसीसी पास गराउन लागि परिरहेका छन् ।’
एक स्वतन्त्र र र सार्वभौम सम्पन्न मुलुकमा विदेशी हस्तक्षेप स्वीकार्य नहुने उनले बताए । केसीले राष्ट्रिय जनमोर्चाले संसद र सडकमा यो नीतिको विरोध गर्दै आएको बताए ।
मेचीदेखी महाकालीसम्म सबै नेपाली जनतालाई आफ्नो राष्ट्रियता नै खतरामा पार्ने सवालमा चनाखो भएर विरोध जनाउन र संसदबाट लागु गर्न नदिन सवै देशभक्त एक हुनुपर्ने उनको आग्रह थियो ।
Related