पोखराका पर्यटन ब्यवसायीद्धारा भारतीय सहरमा पोखरा प्रबर्दन
"पोखराको प्रवद्र्धन गर्न भारतको पश्चिम बंगालस्थित सिलिगुरी र कोलकाता पुग्ने "
तपाईको प्रतिक्रिया





भारतका उत्तर पूर्वी सहरमा पोखराको प्रवद्र्धन गर्न पर्यटन व्यवसायी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । पोखरा पर्यटन परिषदको आयोजनामा २१ जनाको टोली भारततर्फ लागेको हो ।
परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलको नेतृत्वमा रहेको ‘भारत सेल्स मिसन २०२०’ को संयोजन राजेश पहारीले गरेका छन् । उक्त टोली पोखराको प्रवद्र्धन गर्न भारतको पश्चिम बंगालस्थित सिलिगुरी र कोलकाता पुग्ने छ ।
फागुन १० मा भारतको सीमावर्ती सहर सिलिगुरीमा हुने बंगाल ट्राभल मार्ट (बीटीएम) मा टोली सहभागी हुने छ । बीटीएममा रहेको नेपालको स्टलमा पोखराका होटल, ट्राभल, टे«ेकिङ, माउन्टेनियरिङ सम्बद्ध १२ व्यवसायीले डेस्क राख्नेछन् । फागुन ११ मा बीटीएममै ‘पोखरा नाइट’ हुने छ । उक्त नाइटमा पोखरा सम्बन्धी वृत्तचित्र प्रदर्शनी गरिने छ । पोखराको लोक संस्कृति झल्किने प्रस्तुती समेत राखिने छन् ।
फागुन १२ मा उक्त टोली पश्चिम बंगालको राजधानी कोलकाता पुग्ने छ । फागुन १३ मा कोलकाता र पोखराका पर्यटन व्यवसायीबीच बीटूबी सेल्स मिसन कार्यक्रम हुने छ । उक्त कार्यक्रममा पोखराका पर्यटन व्यवसायीले कोलकाताका पर्यटन व्यवसायीलाई आफ्ना प्याकेजका बारेमा जानकारी दिनेछन् । पोखरामा भारतीय पर्यटक आकर्षित गर्न व्यवसायीले योजना प्रस्तुत गर्नेछन् ।
कोलकाताबाट बागडोरा, भद्रपुर, काठमाडौं हुँदै उक्त टोली फागुन १५ मा पोखरा फर्किने छ । बंगाल ट्राभल मार्टमा पोखरा पर्यटन परिषदको यो पाँचौं सहभागिता हो । सेल्स मिसनको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गरेको छ ।
परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले भारतका उत्तरपूर्वी सहरमा विगतमा भएका प्रवद्र्धनात्मक कार्यक्रमले भारतीय पर्यटकको पोखरा आगमनमा वृद्धि भएको बताए ।
उनले यतिबेला कोरोना भाइरसले चिनियाँ पर्यटकको आगमनमा कमि भएकोले पनि भारतीय सहरका प्रवद्र्धन आवश्यक भएको उल्लेख गरे । ‘चिनियाँ पर्यटकको कमिलाई पूर्ति गर्न पनि भारतीय सहरमा प्रवद्र्धन रोजेका हौं,’ उनले भने, ‘पर्यटनमा परेको संकटलाई यसले थोरै भएपनि राहत पुग्ने छ ।’
सेल्स मिसनका संयोजक राजेश पहारीले भारतीय पर्यटकलाई आकर्षित गर्न बंगाल ट्राभल मार्ट उपयोगी हुने बताए । ‘यो पोखराका पर्यटन व्यवसायीका लागि अवसर पनि हो,’ उनले भने, ‘भारत पर्यटक वृद्धिमा पक्कै भूमिका खेल्ने छ ।’
टोलीलाई शुक्रबार गण्डकी प्रदेश सांसद राजीव पहारी, पर्यटन विज्ञ समूह सदस्य बासु त्रिपाठी, नाट्टा अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतले विदाइ गरेका थिए ।
Related