पोखरा महानगरले ३३ वटै वडामा गठन ग¥यो समन्वय समिति
"प्रत्येक वडामा वडा अध्यक्ष, वडासचिव र वडाको स्वास्थ्य संस्था प्रमुख रहेको तीन सदस्यीय समन्वय समिति "
तपाईको प्रतिक्रिया





विश्वब्यापीरुपमा फैलिएको कोरानो भाइरसको संक्रमण फैलिन नदिन पोखरा महानगरपालिकाले ३३ वटै वडामा समन्वय समिति गठन गर्ने भएको छ।
कारोना भाइरसको संक्रमणको रोकथाम र न्यूनिकरण गर्नका लागि महानगरपालिकाले ३३ वटै वडा कार्यालयको समन्वय समिति गठन गरी कामलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बिहीबार बसेको बैठकले प्रत्येक वडामा वडा अध्यक्ष, वडासचिव र वडाको स्वास्थ्य संस्था प्रमुख रहेको तीन सदस्यीय समन्वय समिति गठन गरी कामलाई प्रभावकारी बनाउने निर्णय गरेको महानगरपालिकाका सूचना अधिकारी भरतराज पौडेले जानकारी दिए ।
उनका अनुसार वडामा तेस्रो मुलुक तथा भारतबाट आएका व्यक्तिहरुको स्वास्थ्य सम्बन्धी विवरणसहितको अभिलेख हरेक दिन अध्यावधिक गरी पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखमा पठाउने र यसका लागि हरेक टोलमा टोल विकास संस्थाका प्रतिनिधिको सहयोगमा विवरण संकलनको व्यवस्था मिलाउन वडालाई मेलमार्फत् पत्र पठाइएको छ ।
वडामा रहेका खाद्य सप्लायर्सबाट खुद्रा किराना पसलमा सामग्री ढुवानीको व्यवस्था मिलाउन र खुद्रा किराना पसलमा सामान खरिद गर्दा सामाजिक दुरी कायम हुने (भीडभाड नगर्ने) गरी व्यवस्था मिलाउन वडालाई महानगरले भनेको छ ।
वडामा क्वारेन्टाइन व्यवस्थापन गर्न सम्भावित स्थानको पहिचान गर्न पनि समन्वय समितिलाई भनिएको पौडेलले बताए । कोरोना रोकथाम तथा न्यूनीरकणका लागि आवश्यक काम गर्न हरेक वडालाई ५० हजार उपलब्ध गराउने निर्णय भएको पौडेलले जानकारी दिए ।
खाद्यान्न र स्थानीय व्यवस्थापन गर्न समिति
यसैगरी बैठकले विभिन्न वडा र भेग समेटेर ५ वटा खाद्यान्न तथा स्थानीय व्यवस्थापन समिति गठन गरेको छ ।
वडा नम्बर ३० का अध्यक्ष श्रीराम पोखरेल संयोजकत्वमा वडा नम्बर २६ देखि ३३ सम्मका वडा अध्यक्ष, लेखनाथ उद्योग वाणिज्य संघ र शिशुवा अस्पताल, डाँडाकोनाक प्रहरी कार्यालयका प्रतिनिधि सदस्य रहने गरी समिति बनाइएको छ ।
त्यसैगरी वडा नम्बर १३ का अध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा)को संयोजकत्वमा वडा नम्बर १० देखि १६ र वडा नम्बर २० का वडा अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ प्रतिनिधि, वडा प्रहरी कार्यालय रामबजार प्रतिनिधि र स्वास्थ्य महाशाखाका हरिलाल आचार्य सदस्य रहेको समिति बनाइएको सूचना अधिकारी पौडेलले जानकारी दिए ।
वडा नम्बर ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजुको संयोजकत्वमा वडा नम्बर १, २, १९, २५ का वडा अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ, वडा प्रहरी कार्यालय बगरका प्रतिनिधि र स्वास्थ्य महाशाखाका फूलदेव तिमिल्सिना सदस्य रहेको समिति बनाइएको छ ।
वडा नम्बर ४ का अध्यक्ष शंकरप्रसाद बास्तोलाको संयोजकत्वको समितिमा वडा नम्बर ८ र ९ का अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्याल कास्कीका प्रतिनिधि र स्वास्थ्य महाशाखाका राजेन्द्र रेग्मी सदस्य रहेका छन् ।
वडा नम्बर १७ का अध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा वडा नम्बर २१, २२ का वडा अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ र छोरेपाटन प्रहरी चौकाका प्रतिनिधि र स्वास्थ्य महाशाखका सुजाता पोखरेल सदस्य रहेको खाद्यान्न तथा स्थानीय व्यवस्थन समिति बनाइएको हो ।
वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपालीको संयोजकत्वमा गठित समितिमा ६, ७, १८, २३ र २४ का वडाध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ, वडा प्रहरी कार्यालय बैदामका प्रतिनिधि र स्वास्थ्य महाशाखाका दीपेन्द्र सुनार सदस्य छन् । वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछानेको संयोजकत्वमा स्वास्थ्य महाशाखाका अर्जुन क्षेत्री सदस्य रहने गरी एम्बुलेन्स व्यवस्थापन समिति गठन गरिएको छ ।
यसअघि वडा नम्बर १९ का अध्यक्ष शोभामोहन पौडेल संयोजक र सदस्य महानगरका अधिकृत किरणप्रसाद कोइराला सदस्य रहेको क्वारेन्टाइन व्यवस्थापन समिति बनाइएको थियो ।
सहयोगको घोषणा
महानगरपालिका खडा गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा कर्मचारीले सहयोगको घोषणा गरेका छन् ।
पोखरा महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारी मध्ये श्रेणी विहीन कर्मचारीबाट जनही १ हजार र अन्य शिक्षक, स्वास्थ्यकर्मी लगायत सबै कर्मचारीले कोषमा जनही २ हजार सहयोगको घोषणा गरेको महानगरपालिकाले जानकारी दिएको छ ।
Related