जेठ २ सम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान स्थगित
"सरकारले पछिल्लोपटक थपेको १२ दिने लकडाउन यही वैशाख १५ गते सकिँदै "
तपाईको प्रतिक्रिया





सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान मे १५ अर्थात् जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।
शनिबार मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समिति बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडानलाई थप समय रोक्ने निर्णय लिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए ।
यसअघि सरकारले वैशाख १८ अर्थात् अप्रिल ३० सम्ममात्र अन्तर्राष्ट्रिय र आन्तरिक उडान स्थगित गर्ने निर्णय गरेको थियो। लकडाउनको निरन्तरता र यसको मोडालिटीबारे छलफल भए पनि यसको विषयमा निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्ने सचिव विडारीले बताए ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा एक महिना लकडाउनले पारेको प्रभाव र संक्रमणको संभावित जोखिमबारे छलफल भएको हो । सरकारले पछिल्लोपटक थपेको १२ दिने लकडाउन यही वैशाख १५ गते सकिँदैछ।
संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै बैठकमा यसलाई छिमेकी देशले अगाडि सारेका कार्यक्रमका आधारमा अगाडि बढाउने उनले बताए। लकडाउनको अवधि र मोडालिटीबारे समितिकै सिफारिसको आधारमा मन्त्रिपरिषद्ले निर्णय गर्ने विडारीको भनाइ छ।
सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लम्बाइएको थियो।
छिमेकी भारतमा वैशाख २१ सम्म लकडाउन घोषणा गरिएकोले त्यो भन्दा पहिले यहाँ लकडाउन खुल्दा खुला सिमा कारण जोखिम थप बढ्ने भएकोले पनि सरकार लकडाउन थप्ने तयारीमा सरकार पुगेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाबाट २८ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् भने झन्डै दुई लाखले ज्यान गुमाएका छन्। नेपालमा पनि संक्रमितको संख्या ४९ पुगेको छ। जसमध्ये ११ जनाभने निको भएका छन् ।
Related