कास्की काँग्रेसद्धारा पोखरा महानगरपालिकामा राजश्व हिनामिनाको विरोध
"१३ करोड बढी रकम हिनामिना हुनु गम्भीर विषयको छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग "
तपाईको प्रतिक्रिया





नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाले राजश्व हिनामिना गरेकोमा विरोध गर्दै बुधबार ज्ञापनपत्र बुझाएको छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा गएको टोलीले महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई ज्ञापनपत्र बुझाएको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।
ज्ञापनपत्रमा नगरबासीले तिरेको कर मध्येको १३ करोड बढी रकम हिनामिना हुनु सामान्य विषय नभएको भन्दै यस्तो गम्भीर विषयको तत्काल छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरिएको छ ।
कास्की काँग्रेसले पोखरा महानगरपालिका वडा नं २१ का वडा सदस्य राम गुरुङले विकास निर्माणको बजेटमा कमिसन मागेको अडियो सार्वजनिक हुनु अत्यन्तै अशोभनिय र लज्जाजनक विषय भएको भन्दै सत्यतथ्य छानविन गरी दोषी उपर कडा कारवाहीको माग गरेको छ ।
यस्ता विषयमा महानगरपालिका समयमा नै गम्भीर नभए अवस्था भयावह हुने चेतावनी समेत कास्की काँग्रेसले दिएको छ ।
त्यस्तै, महामारीको अवस्थामा संक्रमितको उपचारलाई व्यवस्थित गर्न र कोरोना परीक्षणको दायरा बढाउन आवश्यक देखिएकाले त्यसतर्फ गम्भिरता देखाउन महानरपालिकाको ध्यानाकर्षण गराइएको छ ।
लकडाउनका बेला संकलित र वितरित राहत विवरण अझैसम्म सार्वजनिक नभएकोप्रति निन्दा समेत गरेको छ।
तत्काल राहत विवरण सार्वजनिक गर्न र महानगरपालिका भित्रका बेथिति बारे काँग्रेसबाट निर्वाचित ११ जना वडाध्यक्षले उठाएका १६ विषयप्रति गम्भीर बन्न महानगरपालिकाको ध्यानाकर्षण गराइएको छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीले महानगरपालिकाका गतिविधिका कारण जन प्रतिनिधिप्रति जनताको विश्वास घटेको भन्दै दुःख व्यक्त गरे ।
आफूहरुले उठाएका विषयमा गम्भीर नभए आन्दोलन गनुपर्ने अवस्था सृजना हुने उनले चेतावनी दिए ।
Related