• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विश्व स्वास्थ्य संगठन साधन, स्रोत र विज्ञताको अभावमा संक्रमण नियन्त्रणको नेतृत्वसमेत लिन सकेन

" सरकार नै अन्योलग्रस्त रहँदा क्षति देशले नै बेहोर्नुपर्‍यो "
  •    शुभेच्छा न्यूज  /३ आश्विन २०७७, शनिबार १६:५४ ,  प्रकाशीत
  • आनन्दराज बतास

    कोरोना भाइरसको महामारी हाम्रा लागिमात्र नभई सिंगो विश्वका लागि अपेक्षित थिएन ।

    प्राकृतिक प्रकोपले बर्सेनि ठूलो धनजनको क्षति भइरहे पनि त्यसबाट हुने मानवीय क्षतिबाहेक उद्धार र पुनस्र्थापनाका काममा संसारका सबै मुलुकले आआफ्ना क्षमता देखाउँदै आएका थिए ।

    प्रकृतिमाथि विजय प्राप्त गरेको मानव जातिले चन्द्रमादेखि मंगल ग्रहसम्म बस्ती बसाउनेसम्मको योजना बनाइरहेको अवस्थामा अचानक देखापरेको कोरोना भाइरसले सम्पूर्ण मानव जातिलाई आफ्नै धरातलमा फर्काइदिएको छ ।

    संसारमा कुनै पनि महामारीको असर यति व्यापक र भयावह हुन्छ भन्ने अनुमान बिरलै गरिएको होला ।

    चीनको वुहानबाट सुरु भएर विश्वका हरेक कुनामा फैलिसकेको कोरोना महामारी नियन्त्रणका लागि विश्वसनीय र प्रभावकारी खोप वा औषधि कहिलेसम्म तयार हुने हो र सर्वसाधारणको पहुँचसम्म यो पुर्‍याउन कति समय लाग्ने हो भन्ने अझै अन्योल छ ।

    भोलिका पुस्ताले जन्मेको केही सातामै अहिले पोलियो, दादुराको खोप लगाएजस्तै कोरोना भाइरसविरुद्ध खोप लगाउनुपर्ने परिस्थिति आउँछ कि यो रोग संसारबाट सधैँका लागि हराएर जान्छ भन्ने पनि अनुमानभन्दा बाहिरको विषय बनेको छ ।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) स्वयं कोरोना नियन्त्रणका सम्बन्धमा कुहिरोको काग बनिरहेको छ ।

    कोरोना भाइरसका सम्बन्धमा डब्लुएचओका कतिपय प्रक्षेपण सत्य साबित हुन नसकेको तथा संक्रमण नियन्त्रणका लागि यसले अघि सारेका मापदण्ड पनि विश्वसनीय नरहेको भन्दै संसारका धेरै मुलुकमा आलोचना भइरहेको छ ।

    साधन, स्रोत र विज्ञताको अभावमा यो संस्था आफैँले संक्रमण नियन्त्रणको नेतृत्वसमेत लिन सकेन । बरु अमेरिका, रुस, चीन,

    बेलायत, जापान, स्वीट्जरल्यान्डलगायतका मुलुकमा अहिले पनि कोरोना भाइरसविरुद्धको खोप अध्ययन अनुसन्धान र परीक्षणको क्रममा रहेकाले आशावादी हुने अवस्था भने छ ।

    तर, यीमध्ये कुनै मुलुकमा भ्याक्सिन सफल भइहालेमा उसले प्रविधि हस्तान्तरण गर्ने हो वा होइन अथवा प्याटेन्ट राइट लागू गरेर उपचारलाई महँगो बनाउने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ ।

    विकसित मुलुकहरुसमेत अन्योल र अनिश्चयबाट अगाडि बढिरहेको अवस्थामा नेपालजस्तो तेस्रो विश्वमा कोरोना भाइरस आतंकको पर्याय भएको छ ।

    गत २०७६ साल चैत दोस्रो सातासम्म दुई जनामा संक्रमण देखिनेबित्तिकै सीमा नाका बन्द र मुलुकभर एकैसाथ लकडाउन गरिँदासम्म यो भाइरस कसरी एक व्यक्तिबाट अर्कोमा सर्छ र यसबाट बच्न कसरी सावधानी अपनाउने भन्ने विषयको ज्ञान सामान्य नेपालीमा थिएन ।

    मास्क र सेनिटाइजरलाई औषधिका रुपमा प्रचार गरिँदा यी वस्तुको कृत्रिम अभाव र कालोबजारी भएको अवस्थालाई फर्केर हेर्दा हामीमा कोरोनाका सम्बन्धमा त्यतिबेला ‘ठूलो भ्रम, सत्य साधारण’मात्र रहेछ भन्ने देखिन्छ ।

    यसरी कोरोना भाइरसको वास्तविकता पत्ता लगाउन र यसबाट कसरी बच्ने भनेर सिक्नमा नै हामीले करिब ६ महिना खर्चनु पर्‍यो ।

    हामी नागरिकमात्र यो अवधिमा अन्योलमा रहेका होइनौ । हामीलाई बाटो देखाउनुपर्ने सरकार नै अन्योलग्रस्त रहँदा क्षति देशले नै बेहोर्नुपर्‍यो ।

    सरकारले गरेको चार महिनाको लकडाउनले घरभित्रै थुनिदा कोरोनाबारे हामीलाई धेरै ज्ञान त दियो तर हाम्रो अर्थतन्त्र भने नराम्ररी थला पर्‍यो ।

    हामी घरभित्र रहेर सरकारलाई कोरोना नियन्त्रणमा निःसर्त सहयोग गर्‍यौँ तर सरकारले यस अवधिमा संक्रमितहरुको पहिचान, कन्ट्याक्ट ट्रेसिङ तथा पीसीआर परीक्षणजस्ता आधारभूत जिम्मेवारीलाई समेत प्रभावकारी ढंगले निर्वाह गर्न सकेन ।

    हुन त यो अवधिमा परीक्षणका पूर्वाधारहरु शून्यबाट अघि बढाएर अहिले दैनिक २० हजारभन्दा बढीको परीक्षण क्षमता विस्तार गरिएको छ बताइएको भने केही उद्धार उडान पनि भएका छन् ।

    तर, सरकारले जति गर्न सक्थ्यो अर्थात् जति गर्न सक्नुपथ्र्यो त्यसको अनुपातमा भने निकै कममात्र उपलब्धि हासिल गरेको यथार्थ स्वीकार्नैपर्छ ।

    परीक्षणमा अनुभवी मुलुक चीनबाट कूटनीतिक पहल गरेरै भए पनि बेलैमा सयौं मेसिन, किट तथा जनशक्ति ल्याएर मास परीक्षण गर्न सकेको भए सम्भवतः दोस्रो चरणको निषेधाज्ञासम्मको अवस्थामा हामी पुग्ने थिएनौ ।

    यतिमात्र नभई रातारात सीमा बन्द गर्नुभन्दा भारतबाट आउन चाहनेलाई बेलैमा भित्र्याएर परीक्षणपछि मात्र घर फर्कन दिइएको भए पनि अवस्था अर्कै हुनसक्थ्यो । किनभने भारतमा असुरक्षितरुपमा बस्नुपर्दा धेरै नेपालीले सीमाबाटै संक्रमण बोकेर फर्कनुपरेको देखिन्छ ।

    अहिले पनि समय धेरै बिग्रिसकेको भने छैन । संक्रमण नियन्त्रणका लागि हामीले सबैभन्दा पहिले परीक्षणको दायरा अझै धेरै फराकिलो बनाउनु जरुरी छ ।

    राज्यले अनुदान दिएर हुन सक्छ अथवा निजी क्षेत्रलाई पनि बृहत् रुपमा सहभागी गराएर नै किन नहोस्, परीक्षणको लागतलाई सुलभ दरमा ल्याउन सकियो भने त्यसबाट सकारात्मक परिणाम ल्याउन सकिन्छ ।

    विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कनेबित्तिकै परीक्षण गर्ने तथा क्वारेन्टिनमा राख्नेदेखि स्वदेशमै पनि उपचार गर्नुनपर्ने तर होम क्वारेन्टाइन र आइसोलेसनमा राख्न नसक्नेहरुका लागि होटलमा बसोवासको बन्दोबस्त मिलाउन सकिन्छ ।

    यसका लागि स्रोत व्यवस्थापन भने बिमामार्फत पनि गराउन सकिन्छ । अहिले नै पनि विभिन्न बिमा कम्पनीहरुले संक्रमण पुष्टि हुनासाथ ५० हजार र १ लाखको बिमा हस्तान्तरण गर्ने व्यवस्था लागू गरिसकेका छन् भने त्यसैबाट होटलमा क्वारेन्टिनको लागत बेहोर्न पनि सकिन्छ ।

    यसरी स्रोतभन्दा व्यवस्थापनको इच्छाशक्तिको अभावजस्ता समस्या हामीमा बढी देखिन्छ ।

    अर्थतन्त्र पुनरुत्थान कसरी ?

    कोरोना नियन्त्रणका लागि गरिएको लकडाउन केही लम्मिनेबित्तिकै सामाजिक सञ्जालमा धेरैले एउटै प्रश्न गरेका थिए– रोगबाट त बचिएला तर भोकबाट कसरी बच्ने ? म आफैँ पनि सामाजिक सञ्जालमा सक्रिय नै रहेको र धेरैथरी विचार सुन्न मन पराउने भएकाले यो प्रश्न आफैँमा निकै पेचिलो लागेको थियो ।

    कर्मचारी, मजदुरदेखि उद्यमीसम्मले सुरक्षितसाथ काममा फर्कन पाऊँ भन्दै सरकारसमक्ष गरेको अनुनय सरकारको

    विरोधका लागि नभई आफू, आफूसँग जोडिएको परिवार तथा आफ्नो उद्योग व्यवसायसँग आश्रित मजदुर, कर्मचारी र तिनको परिवारको रोजीरोटीको चिन्ता हो भनेर बुझिनु आवश्यक छ ।

    अर्थतन्त्र पुनस्र्थापनाका लागि सरकार एक्लैले धेरै गर्न सक्दैनथ्यो । स्रोतको सीमितता तथा तथ्यांकको अभावका कारण वितरणमुखी सहायता हाम्रो मुलुकका लागि सम्भव थिएन ।

    अमेरिकाले जस्तो आफ्ना नागरिकलाई घरमै बस, म तिमीहरुको बैंक खातामा निर्वाह भत्ता पठाइदिन्छु भन्ने अवस्था हाम्रो मुलुकसँग पक्कै नभएकाले सरकारसँग हाम्रो अपेक्षा पनि त्यो थिएन ।

    सरकारसँग हामी उद्योगी व्यवसायी यत्तिमात्र मागिरहेका थियौँ – हामीलाई गरिखाने वातावरण बनाई देऊ । संक्रमण नियन्त्रणका लागि जतिसुकै कठोर प्रावधान र दण्ड सजायको व्यवस्था गरिए पनि काम गर्ने बाटो भने सरकारले निषेधाज्ञा वा लकडाउनका नाउँमा बन्द गर्नु हुँदैन भन्ने नै हाम्रो माग हो ।

    सरकारले कुनै ठोस सहयोग नगर्दै पहिलो लकडाउनको अन्त्यपछि हाम्रो व्यापार व्यवसाय विस्तारै फस्टाउँदै गएको अवस्थामा पुनः निषेधाज्ञाका नाउँमा ठप्प पारियो । यसले व्यवसायमा न कुनै योजना बनाउन सकिने अवस्था छ न भोलिको प्रक्षेपण नै ।

    सरकारले कुनै पनि अवस्थामा उद्योग व्यवसाय एक दिन पनि बन्द हुन दिन्न तर मजदुर र कर्मचारीको सुरक्षा तिमीहरुको हो भनेर अगाडि बढेको भए परिस्थिति अर्कै हुन्थ्यो ।

    हाम्रो व्यावसायिक लागत बढ्थ्यो होला तर उत्पादकत्व अहिलेजस्तो ठप्प हुने थिएन । त्यसै पनि आयातप्रधान मुलुकमा पछिल्लो संकटले लगानीका नयाँ क्षेत्रका सम्भावनाहरु उजागर भइरहेका छन् ।

    कृषिमै व्यावसायीकरणको पर्याप्त सम्भावनाहरु देखिएका छन् भने सूचना प्रविधिको अथाह सम्भावनालाई यतिबेला दिनरात नभनी गति बढाउनुपर्ने अवस्था छ ।

    जनशक्ति अभावको हिजोको समस्या पनि समाधान हुँदैछ भने प्रविधि हस्तान्तरणसँगै हरेक व्यवसायलाई सूचना प्रविधिसँग जोडेर अगाडि बढाउन नीतिगत सहजीकरण चाहिन्छ ।

    इन्टरनेटको देशव्यापी सुलभतादेखि नेपाली उत्पादक र बजारसँग जोड्ने नेपाली नागरिकको शिक्षा र चेतनास्तर सुहाउँदो सूचना प्रविधि आजको आवश्यकता हो ।

    नेपालको उत्पादन लागत यसै पनि महँगो छ भने अर्कोतर्फ उपभोक्तासम्म आइपुग्दा विभिन्न तह पार गर्नुपर्ने भएकाले उपभोक्ताले थप महँगीको सामना गर्नु परेको छ ।

    भूपरिवेष्ठित मुलुक र त्यसमाथि यातायात पूर्वाधार पनि प्रभावकारी नभएको अवस्थामा लागत घटाउन सवारी साधनदेखि पेट्रोलियम पदार्थसम्मको करसम्बन्धी नीतिमा आमूल रुपान्तरण आवश्यक छ ।

    कोरोना महामारीले हामीलाई आन्तरिक उत्पादन नै बलियो बनाउनुपर्ने र आन्तरिक बजारमै जोड दिनुपर्ने सिकाएका कारण यस्ता अव्यावहारिक कर नीतिमा संशोधन आवश्यक छ ।

    यतिमात्र नभई विदेश निर्यात नहुँदा कतिपय स्वदेशी उद्योग र उत्पादन अलपत्र छन् भने ती वस्तुको खपत स्वदेशमै पनि गर्न सकिन्छ । तर, यसका लागि नीति निर्माताले सम्बन्धित क्षेत्रमा काम गरेको निजी क्षेत्रको कुरा उदारतापूर्वक सुन्नुपर्छ ।

    निजी क्षेत्रका केही प्रतिनिधिमूलक संगठनका प्रतिनिधिमात्र नभई फिल्डमा रहेका वास्तविक उत्पादकसँग पनि सरकारले अन्तक्र्रिया र सहकार्य गर्नु आवश्यक छ ।

    कोरोना महामारीले हामीलाई हिजोको कमजोरी र उपलब्धिबारे गम्भीररुपमा आत्मसमीक्षा गर्ने र भोलिका लागि वस्तुगत योजना बनाउने अपूर्व अवसर दिएको छ । यो अवसर खेर नफालौँ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.