जीवन रक्षा कोषको कार्यान्वयन छिट्टै ; अर्थमन्त्री गुरुङ
"पोउवा संघको ३३ औँ महाधिवेशनको समुद्घाटन "
तपाईको प्रतिक्रिया





पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन शुक्रबार सुरु भएको छ ।
महाधिवेशनको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले समुद्घाटन गर्नुभयो । महाधिवेशनअन्तर्गत शनिबार हुने निर्वाचन कार्यक्रमले संघमा नयाँ नेतृत्वसमेत चयन गर्दैछ ।
महाधिवेशनको उद्घाटन गर्दै गण्डकीका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी सरकारले स्थापना गरेको व्यवसाय जीवन रक्षाकोषलाई छिट्टै कार्यान्वयनमा ल्याइने बताउनुभयो ।
गण्डकी प्रदेश सरकारले बजेट भाषणमार्फत् कोभिड–१९ को प्रकोपबाट पीडित भएका व्यवसायीको जीवन रक्षाको लागि भन्दै १ अर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोष घोषणा गरेको थियो ।
‘गण्डकीमा रहेका साना र मझौला व्यवसायलाई लक्षित गरी हामीले यसको ( जीवन रक्षाकोषको ) कार्यविधि बनाएका छौँ’, कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भन्नुभयो,‘हामी यो कार्यक्रमलाई यो आर्थिक वर्षभित्र सम्पन्न गर्नेछौँ भने अर्को आर्थिक वर्षमा यो कार्यक्रमलाई निरन्तरता दिइनेछ ।!
उहाँले जीवन रक्षा कोषलाई प्रभावकारी बनाउन सरोकारवालासँग सहकार्य गरिनुे प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
पारदर्शीतालाई कडाईका साथ लागु गर्नुपर्छ भन्ने मान्यताका कारण सो कोष संचालनमा ढिलाइ भएको बताउँदै उहाँले अगाडि भन्नुभयो,‘पारदर्शीतालाई कडाईका साथ अघि बढाउँदा तथा सुशासनलाई जोड दिँदा बितरण र अनुदानका काम ढिलो हुँदो रहेछ ।’
उहाँले आर्थिक विकासको लागि राजनीतिक स्थिरता जरुरी भएको स्वीकार्दै संसद विघटन र निर्वाचन घोषणाले केही अन्यौलता थपेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले संसद पुनःस्थापना वा चुनाव नै भएपनि देश आर्थिक रुपले पछि पर्ने अवस्था आउने बताए ।
देशले २–३ वर्षमा निर्वाचन धान्न सक्दैन भन्दै उहाँले चुनावमा कालोधनको प्रवेश तथा चुनावताका हुने भ्रष्टाचारले प्रश्रय पाउने आशंका पनि व्यक्त गर्नुभयो ।
उहाँले संघीय संसद भंग भएसँगै प्रदेश सरकार विघटनको हल्ला चल्दा निजी क्षेत्रमाथि पिरलो थपिएको जनाउनुभयो ।
‘संसद विघटन संवैधानिक÷असंवैधानिक हाम्रो चासोको विषय होइन’,उहाँले भन्नुभयो,‘के राजनीतिक दलहरुले आर्थिक विकासमा चासो नदेखाएकै हुन् त ? जनजिविकाको बाटो नहेरेकै हो त ?’
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दीनेश श्रेष्ठले कोभिड–१९ ले जर्जर बनाएको अर्थतन्त्रलाई सबै मिलेर माथि उठाउनुपर्ने बताउनुभयो ।
उहाँले कोभिड–१९ ले निजी क्षेत्र प्रताडित भएकाले कर्जाको ब्याज चुक्ता गर्ने समयसीमा बढाउन सरकारसँग आग्रह पनि गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कुविरकुमार श्रेष्ठले राजनीतिक अस्थिरताले लगानीको वातावरण खल्बल्याएको बताउनुभयो ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दामु अधिकारीले छिमेकी देशमा पनि कोभिड–१९ विरुद्धको खोप लगाउने प्रक्रिया सुरु भएको स्मरण गर्दै छिटोभन्दा छिटो खोपको व्यवस्था गर्न एवं नागरिकको जीवन रक्षाप्रति संवेदनशील बन्न नेपाल सरकार र गण्डकी प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले कोभिड–१९ ले जर्जर बनाएको उद्योग÷व्यवसाय उत्थानमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
पोखरा पर्यटन परीषदका अध्यक्ष गोपीबहादुर भट्टराईले साना व्यवसायीले समयमा पुनर्कर्जा नपाए धेरै व्यवसायी पलायन हुने अवस्था भएको बताउनुभयो ।
उत्कृष्ट व्यवसायी सम्मान
पोखरा उद्योग वाणिज्य संघले वितवरण गर्ने पोखरा उद्योग वाणिज्य संघ उत्कृष्ट व्यवसायी सम्मान २०७७ बाट विनायक फ्रेस हाउस चिप्लेढुंगा र गण्डकी मेसिनरी प्रोडक्टस् औद्योगिक क्षेत्र सम्मानित हुनुभयो ।
लक्ष्मी विद्यापदक वितरण
यता लक्ष्मी हाउसद्धारा स्थापित तथा पोखरा उद्योग वाणिज्य संघबाट संचालित लक्ष्मी विद्यापदकबाट यो वर्ष विविएतर्फ लाग्राण्डी
कलेजका डिक्सन लिम्बु र विविएसतर्फ गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसकी छात्रा सुप्रिया गुरुङ नगद, प्रमाणपत्र र मेडलसहित सम्मानित हुनुभयो ।
Related