बागलुङ –२ बाट माओवादी केन्द्रका पौडेल निर्वाचित
"एमाले र जनमोर्चाको सहयोगमा कांग्रेसलाई पराजित गरेका पौडेल अहिले कांग्रेसको सहयोगमा एमालेलाइ पराजित "
तपाईको प्रतिक्रिया





बागलुङ क्षेत्रनं २ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित भएका छन ।
गठबन्धनबाट उमेदवार बनेका पौडेलले २४ हजार ७७९ मत पाएर बिजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मञ्जु शर्मा चालिसेले २० हजार १८० मत पाएकी थिइन । वर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका पौडेल यस क्षेत्रबाट दास्रो कार्यकालका लागि निर्वाचित भएका हुन । २०७४को निर्वाचनमा बाम गठबन्धनबाट यसै क्षेत्रबाट विजयी भएका पौडेल अहिले सत्तारुढ गठबन्धनका तर्फबाट साझा उमेदवार बनेका थिए ।
०७४ मा एमाले र जनमोर्चाको सहयोगमा कांग्रेसलाई पराजित गरेका पौडेल अहिले कांग्रेसको सहयोगमा एमालेलाइ पराजित गरेका छन । पौडेल माओवादीका स्थायी कमिटी सदस्य हुन् ।
२०२१ सालमा बागलुङको अमलाचौरमा जन्मिएका पौडेल पञ्चायतकाल र जनयुद्धका क्रममा १० वर्ष भूमिगत भएका थिए । अखिल क्रान्तिकारीमा आबद्ध भएर राजनीतिक यात्रा थालेको उनी विद्यार्थी संगठनमा कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरेका थिए ।
२०६२ मा माओवादीको पोलिटव्यूरो सदस्य भएका पौडेल २०७१ मा केन्द्रीय सदस्य भएका थिए । उनी २०७५ तात्कालिन एमालेसंग पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्य समेत बनेका थिए ।
शुरुदेखिनै माओवादी जनयुद्धमा सहभागी भएका पौडेल २०६८ मा डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहाकार बनेका थिए ।
डा.भट्टराईले तत्कालीन एकीकृत माओवादीबाट विद्रोह गरेर नयाँ शक्ति बनाएपछि उनी पनिसँगै गएका थिए । केही समयपछि डा.भट्टराईको साथ छाडेर नेता पौडेल माओवादीमै फर्किएका थिए ।
यस्तै यस क्षेत्रबाट रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारले २ हजार ३२५ मत पाएका छन ।
Related