बालेनको एक्सन : छात्रवृति नदिने ३ सय ४२ स्कुलको नाम सार्वजनिक गर्दै अनुमति खारेजको चेतावनी
तपाईको प्रतिक्रिया





काठमाडौँ महानगरपालिकाले कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध नगराई अटेर गर्ने संस्थागत विद्यालयको नाम सार्वजनिक गरेको छ ।
विद्यालयले कुल विद्यार्थीको १० प्रतिशतलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्नेमा छात्रवृत्ति नदिने त्यस्ता ३४२ विद्यालयको नाम सार्वजनिक गरिएको छ । काठमाडौँ महानगरपालिकामा ५०४ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् ।
चालु शैक्षिक सत्र २०८० का लागि छात्रवृत्ति उपलब्ध नगराएको भनी सार्वजनिक गरिएका विद्यालय ठूला, महङ्गा र पहुँचवालाका पनि छन् । कतिपय विद्यालय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय प्याब्सन, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)का केन्द्रीय पदाधिकारीका पनि छन् ।
कामपाले गत वैशाख २४ गते परिपत्र गरी जेठ १५ गतेभित्र छात्रवृत्ति विवरण कामपालाई दिइसक्नुपर्ने परिपत्र जारी गरेको थियो । सो अवधिभित्र कामपाको शिक्षा विभाग वा इमेलमा विवरण नपठाएका विद्यालयहरुको नाम सार्वजनिक गरिएको हो । कामपाले जेठ २८ गतेभित्र छात्रवृत्ति विवरण पेस नगरेमा विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने चेतावनी दिएको छ ।
यसरी नाम सार्वजनिक भएकामध्ये टेक्सास इन्टरनेसनल स्कुल, आलोक विद्याश्रम, ग्रामर स्कुल, पाठशाला नेपाल फाउन्डेसन, ज्ञानकुन्ज इबो स्कुल, हिमालयन ह्वाइटहाउस स्कुल, संस्कार विद्यापीठ, माउन्ट ग्लोरी इबो स्कुल, संस्कृति स्कुल, भीएस निकेतन मावि, समता निकेतन स्कुल, काठमाडौँ निस्ट स्कुल, एपेक्स लाइफ स्कुल, जेभियर इन्टरनेसनल स्कुल, केएमसी स्कुल रहेका छन् ।
त्यस्तै काष्ठमन्डप स्कुल, किस्ट स्कुल, प्यारागन पब्लिक स्कुल, काठमाडौँ मोडेल स्कुल, काठमाडौँ कोलम्बस स्कुल, साइपाल एकेडेमी, लालिगुराँस मावि, क्यान्भास इन्टरनेसन स्कुल, मेरिडियन स्कुल, कान्जिरोवा नेसनल स्कुल, दी न्यु समिट मावि, क्याम्ब्रिज इबो स्कुल लगायत छन् ।
कामपाले आगामी शैक्षिक सत्रबाट कुल विद्यार्थीको पाँच प्रतिशत सम्बन्धित विद्यालयले छात्रवृत्ति उपलब्ध गराउनुपर्ने र बाँकी पाँच प्रतिशत छात्रवृत्ति बराबरको रकम महानगर शिक्षा कोषमा जम्मा गर्नुपर्ने नियम कार्यान्वयन गर्ने भएको छ ।
Related