पोखरा–मुग्लिन सडक विस्तार गर्ने बिषयमा महानगर प्रमुख आचार्य र एडिबीको टोली बिच छलफल
तपाईको प्रतिक्रिया





पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको काम अगाडी बढाउने विषयमा नगर प्रमुख धनराज आचार्य र एडिबीको टोली बिच छलफल भएको छ ।
प्रमुख आचार्यको कार्यकक्षमा भएको छलफलमा एडिबीका निर्देशक सल्लाहकार मोहम्मद जाविव र मिसन लिडर सिनवाइ चाङ (एन्जल) लगायतको सहभागिता थियो । टोलीमा परियोजना निर्देशक चूडाराज ढकाल, यातायात विज्ञ भूपेन्द्र भट्ट, परियोजना विश्लेषक प्रमोद पुडासैनी र प्रोजेक्ट म्यानेजर (पोखरा खण्ड) अमित कुमार श्रेष्ठ लगायत सहभागी थिए ।
भेटका क्रममा पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डमा काम अगाडी बढाउने विषयमा छलफल भएको प्रमुख आचार्यले बताए ।
महानगरपालिकाको तर्फबाट यस खण्डमा काम अगाडी बढाउन कुनै समस्या नरहेको र काम गर्दै गर्दा कुनै प्रकारको समस्या देखिए त्यसको तत्काल समाधानका लागि महानगरपालिका प्रतिबद्ध रहेको आचार्यले बताए ।
प्रमुख आचार्यले भने, “अहिले हामीले पोखरा खण्डको राइट अफ वे खालि गराउने काम सम्पन्न गरिसकेका छौँ /अभियान कै रूपमा सडकको मापदण्ड खाली गराउने काम गरिएको हो/ अब केही स्थायी संरचनाहरू हटाउन बाँकी छ/ मुआब्जाको प्रक्रिया सकिना साथ ती सबै संरचनाहरू तत्काल हटाइनेछ ।”
हाल काम अघि बढाउनका लागि वातावरण तयार गरिएको उनले बताए । उनका अनुसार काम अघि बढाउन एडिबीको टोली सकारात्मक देखिएको छ ।
यो राजमार्ग एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा विस्तार गरी चार लेनको बनाउन लागिएको हो । सडक आयोजनाको मापदण्ड अन्तर्गत पोखरा खण्ड ४६ मिटर चौडाइको हुनेछ ।
सेती नदीमा हाल भएको पुलभन्दा माथि र तल २–२ लेनको दुइटा पुल बनाउन १ अर्ब ७ करोड रुपैयाँमा नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सनले ठेक्का पाएको छ भने, सेती पुलबाहेक राजमार्गको पश्चिम खण्डमा ४ वटा ठुला र १२ वटा साना पुल बन्नेछन् ।
Related