• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कतारबाट फर्किएर कृषिमा जमेका शिव, कमाउँछन् मासिक डेढ लाख

  •    शुभेच्छा न्यूज  /३१ श्रावण २०८०, बुधबार १४:०३ ,  प्रकाशीत
  • नेपालमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्ने युवा प्रशस्त छन् । तीनैमध्येका एक हुन्, चितवनको इच्छाकामना गाउँपालिका–३, मृगस्थलीका शिवप्रसाद पौडेल । उनले कृषि पेसाबाटै विदेशमा भन्दा राम्रो आम्दानी गर्न सफल भएका छन् । पौडेलले मासिक एकदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।

    झण्डै डेढ करोडको लगानीमा पौडेलले शुभलक्ष्मी कृषि तथा पशुपक्षी फार्म सुरु गरेका हुन् । २०७२ सालदेखि सुरु भएको उनको फार्ममा अहिले कुखुरा, हाँस, माछा, बाख्रा, गाईभैँसी छन् । उनको फार्ममा अहिले झण्डै ५ हजार ब्रोइलर कुखुरा र ३ सय स्थानीय जातका कुखुरा छन् । यस्तै, दुई कट्ठामा निर्माण गरिएको पोखरीमा उनले माछा पालेका छन् ।

    गाईपालनबाट कृषि पेसा सुरु गरेका उनले केरासमेत व्यावसायिक रूपमा लगाएका थिए । पछि जनशक्ति अभावका कारण गाईपालन, बाख्रा र केराखेती कम गर्दै उनले कुखुरा, हाँस र माछापालनमा जोड दिए । कृषि पर्यटनको अवधारणास्वरुप उनले फार्म निर्माण गरेका हुन् । फार्ममा पाहुनालाई समेत ल्याउन मिल्ने गरी संरचना तयार गरिएको छ ।

    ‘यहाँ आउने पर्यटकले आफैँ माछा मारेर खान पाउनुहुन्छ,’ उनले भने, ‘लोकल कुखुरा आफैँ पकाएर खान सकिन्छ ।’ उनको फार्म ६ हजार ब्रोइलर कुखुरा र एक हजार लोकल कुखुरा अट्ने क्षमताको छ ।

    पौडेलले माछाका लागि भुरा उत्पादन आफैँ गर्छन् । ‘माछामा त्यति धेरै लगानी छैन । सुरुमा लगानी भयो, अहिले नियमित प्रतिफल दिइरहेको छ,’ उनले भने । माछामा लगानीको १५ प्रतिशत पनि खर्च नहुने उनको भनाइ छ । कुखुरा र गाईवस्तुले फालेका दाना माछालाई खुवाउने गरेको पौडेलले बताए । उनले वार्षिक तीन क्वीन्टल माछा निकाल्ने गरेको जानकारी दिए । उनको पोखरीमा कमनग्रास र सिल्भर जातका माछा छन् ।

    पौडेलको फार्ममा जडीबुटी खेतीसमेत छ । उनले दुई हेक्टर जमिनमा हर्रो, बर्रो, अमला, टिमुर, सिलटिमुरलगायतका जडीबुटी लगाएका छन् । उनले कबुलियत मृगस्थली वनको जमिनमा जडीबुटी खेती गरेका हुन् । यसका लागि जिल्ला वन कार्यालयले २ लाख रुपैयाँसमेत अनुदान दिएको थियो ।

    कृषि फार्ममा नियमित तलब दिएर कामदार राखिएको छैन । ‘सबै काम श्रीमान्–श्रीमती मिलेर गर्ने गरेका छौँ,’ उनले भने, ‘आवश्यकतानुसार ज्यालादारी कामदार खोजेर लगाउने गरेका छौँ ।’ बैंकबाट ऋण लिएर कृषि पेसामा लागेका शिवले फार्मकै आम्दानीबाट ऋण तिरेको बताउँछन् । उनले यो फार्मलाई अब कृषि पर्यटनका रूपमा विकास गर्ने लक्ष्य राखेका छन् ।

    अहिलेसम्म राज्यको कुनै पनि निकायबाट सहयोग नलिएको उनी बताउँछन् । ‘कृषि पेसा चुनौतीपूर्ण छ,’ उनले भने, ‘कहिले के हुन्छ भन्ने ठेगान नै हुँदैन ।’ कृषि पेसा आशाको पेसा भएको भन्दै उनी वातावरण, बजार र मूल्यमा भर पर्ने बताउँछन् । ‘ब्रोइलरको दाना र चल्लाको मूल्य कहिल्यै घट्दैन । मासुको मूल्य सधैँ तलमाथि हुन्छ,’ उनले भने, ‘भुस किन्न पनि महँगो छ ।’ किसानलाई प्राकृतिक रूपमा आउने विपत्ति र बजारीकरणको समस्या नै मुख्य समस्या रहेको उनी बताउँछन् । उनले ठूला व्यवसायीसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यताका कारण साना किसान समस्यामा पर्ने गरेको गुनासोसमेत गरे ।

    कृषि पेसा अघिका संघर्ष

    पौडेल रोजगारीका लागि नेपालमै केही गर्न सकिन्छ भनेर विभिन्न पेसामा लागे । उनले कुरिनटारमा चार वर्ष पुस्तक पसलसमेत सञ्चालन गरे । तर, भनेजस्तो आम्दानी नभएपछि अन्य युवाजस्तै उनी विदेशिन बाध्य भए । पौडेल कतारमा चार वर्ष बसे । तर, आम्दानी भने सोचेजस्तो हुन सकेन । कतारको मरुभूमिमा पनि हरियाली देखेका नेपालमै केही गर्न सकिन्छ भन्ने हुटहुटी लिएर घर फर्किए । उनले कृषि पेसामा प्रशस्त सम्भावना देखेर आफ्नै पुर्ख्यौली जमिनमा व्यावसायिक रूपमा कृषि गर्न थाले ।

    २०७२ सालदेखि फार्म दर्ता गरेर व्यवसाय थालेका पौडेल आफ्नो कामप्रति गर्व गर्छन् । उनले छोरालाई डाक्टर र छोरीलाई नर्स पढाएका छन् । छोराछोरीले छात्रवृत्तिमा नाम निकालेको भन्दै उनले वार्षिक रूपमा हुने आम्दानीले आफू सन्तुष्ट रहेको बताए । ‘कृषि पेसाले मानिसलाई सन्तुष्टि पनि दिन्छ,’ उनले भने, ‘अर्ग्यानिक खानेकुरा खान पाइने भएकाले स्वस्थ पनि भइन्छ ।’

    उनलाई यतिबेला बजारको खासै समस्या छैन । नजिकै रहेका मुग्लिन, कुटिनटार र फिस्लिङबाट उनले उत्पादन गरेका वस्तु बिक्री हुन्छन् । कुरिनटारमा रहेको सशस्त्र प्रहरीको तालिम शिक्षालयमा पनि उनले उत्पादन गरेका वस्तु लैजाने गरिएको छ ।

    सरकारले उत्पादित कृषिका सामग्रीलाई बजार व्यवस्थापनका लागि सहयोग गर्नुपर्ने उनको माग छ । ‘सरकारले कृषिमा उत्पादन र कृषिलाई विस्तार गर्न वार्षिक रूपमा अनुदान रकम बाँड्दै आएको छ । तर, कृषकसम्म अनुदान रकम पुग्दैन । वास्ताविक कृषक अनुदानबाट वञ्चित छन्,’ उनले भने, ‘कृषकका लागि ल्याएको कृषि अनुदान किसानले पाउँदैन । यो कतिसम्म विडम्बनाको विषय हो । सरकारले कृषि पेसामा लागेका कृषकलाई उत्साह होइन, विस्थापित गर्न मात्र खोजिरहेको देखिन्छ ।’

    युवालाई सुझाव

    कामको खोजीमा विदेशिनेहरूलाई स्वदेशमै उद्यम गर्न उनको सुझाव छ । ‘विदेशमा अर्काको काम गर्नुभन्दा स्वदेशमै आफ्नै उद्यम गर्नु उपयुक्त छ,’ उनले भने, ‘त्यहाँ गर्ने मिहिनेत आफ्नै ठाउँमा गरेमा विदेशको जस्तै कमाइ यहीँ बसेर गर्न सक्छौँ ।’ रोजगारीका लागि विदेशिने युवालाई विदेश जाने पैसाले यहीँ लगानी गरेर पसिना बगाए यहीँ मनग्य आम्दानी गर्न सकिने पौडेलको सुझाव छ ।

    स्थानीय सरकारले पनि आफ्नो गाउँठाउँमा भएका उत्पादनको प्रवर्द्धनमा जोड दिनुपर्ने पौडेल बताउँछन् । कृषि पेसामा आउन चाहने युवालाई बजारसँग जोडिएर काम गर्न पौडेलको सुझाव छ । ‘कृषि पेसामा चुनौतीका बाबजुद पनि आशाका किरण प्रशस्त छन्’, उनले भने

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.