विदेशबाट फर्केर गाउँमै भैँसी पालिरहेका हिक्मत भन्छन्–महिनामा एक लाख बचाउँछु
तपाईको प्रतिक्रिया





सुनिता विक
‘नेपालमा रोजगारी छैन । एसएलसी तथा उच्च तहको अध्ययन सकेपछि अब त विदेश जाने तयारी गर्छु । यहाँ भविष्य पनि बन्दैन । विदेश गएर टन्न पैसा कमाएर फर्कन्छु’, पछिल्लो समयका नयाँ युवा पुस्तालाई अब के गर्छौं भनेर सोध्दा पाइने उत्तर हो यो ।
युवाहरूको विदेश जाने चाहना र वैदेशिक रोजगारीमा जानेको संख्या पनि बढ्दो क्रममा देखिन्छ । तर, इच्छाशक्ति भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ मा पशुपालन गर्दै आएका ३७ वर्षीय हिक्मत कडायत । झण्डै आठ वर्ष वैदेशिक रोजगारीमा रहेका उनी अहिले स्वदेशमै कृषि कर्ममा छन् ।
स्वास्थ्य क्षेत्रमा भविष्य देख्दै प्राविधिक तहअन्तर्गत ‘डिप्लोमा इन फार्मेसी’, आयुर्वेदिकतर्फको हेल्थ असिस्टेन्ट र युरोपको साइप्रसबाट बिएससी नर्सिङ अध्ययन गरेका उनी स्वास्थ्यतर्फको रोजगारीमा चासो नराखी वैदेशिक रोजगारीमा लागे । वैदेशिक रोजगारीबाट फर्केपछि भने स्वदेशमै पशुपालन व्यवसायतर्फ आकर्षित भएका छन् ।
उनले कृष्णपुरमा एक बिगाह जमिन भाडामा लिएर पशुपालन गरिरहेका छन् । दुईवटा भैँसीबाट विस्तार गर्दै ११ ओटा भैँसी पुर्याएर हेमा कृषि तथा पशुपन्छी फर्म सञ्चालन गरेका उनले दिनहुँ एक सय १५ लिटर दूध बिक्री गर्ने गरेका छन् ।भैँसीकै दूध बेचेर महिनाको तीन लाखसम्म आम्दानी हुने गरेकाे उनकाे भनाइ छ ।
उनले भने, ‘भैँसीकै दूध बेचेर महिनाको तीन लाख आम्दानी हुन्छ । खर्च कटाएर काम गर्नेलाई दिएर पनि एक लाख महिनाको बचत रहेको छ ।’ उनले जमिनको भाडा वार्षिक ६० हजार रुपैयाँ तिर्दै आएका छन् ।
वैदेशिक रोजगारीमा रहँदा उनले स्वदेश फर्केर फार्मेसी खाेल्ने साेच बनाएका थिए । ‘नेपालमा गएर फार्मेसी खोल्छु होला भन्ने सोच बनाएको थिए । तर, यहाँ आएपछि मनस्थिति बदलियो र एकाएक पशुपालनमा लागेँ । सुरुमा कुखुरा पालन गरेँ । त्यसमा घाटा भएपछि अहिले भैँसी पालन गरिरहेको छु । यसबाट भने आम्दानी सन्तोषजनक छ ।’ उनले हालसम्म भैँसी पालनमा करिब २३ लाख रुपैयाँ लगानी भइसकेको बताए ।
व्यवसायिक पशुपालन गर्दा उनलाई श्रीमती हेमाले पनि साथ दिइरहेकी छिन् । साथै फर्ममा दुई जनालाई रोजगारी पनि दिएका छन् । उनी भन्छन्, ‘एक जनाले घाँस काट्छ, दूध दुहुन्छ र अर्काेले दूध बजारसम्म पुर्याउने काम गर्छन् । यसमा म पनि बिहान ४ बजेदेखिनै खटिने गर्छु ।’
उनले दूधमा गुणस्तर कायम गर्न सक्नुपर्ने बताए । उनले भने, ‘हामीले दूध गुणस्तरीय भएको उपभोक्तालाई ग्यारेन्टी दिन्छौँ जसका कारण हाम्रो दूधको माग बढी छ । फाटेमा, दही नजमेमा पैसा नै लिँदैनौँ । ग्राहकलाई ध्यानमा राखेर पनि काम गरिरहेका छौँ ।’
विदेशमा गरिने श्रम स्वदेशमै गरिए आम्दानी गर्न समस्या नरहेको उनको भनाइ छ । उनले वैदेशिक रोजगारीमा यहाँभन्दा बढी कमाए पनि घण्टौँ ड्युटी र परिवारबाट टाढा बस्नुपर्ने बाध्यताले खुसी नमिलेकाे बताए । ‘अर्काको देशमा तड्पिएर काम गर्छौं, तर पनि सुख छैन । आफ्नै देशमा सामान्य काम गरे पनि गर्व लागिरहेको छ ।’
Related