राष्ट्रिय झण्डा जलाए तीन वर्ष कैद हुने ! कम्मरमुनिको भागमा लगाइने कुनै पनि कपडामा झण्डा राख्न नपाइने
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा । तपाईंले राष्ट्रिय झण्डा जलाउने वा अपमान हुने गरी यसको प्रयोग गर्नुभएको त छैन ? छ भने अब नदोर्होयाउनुुस् ।
राष्ट्रिय झण्डा जलाउने र जानाजान प्रयोग गर्नै नहुने ठाउँमा राष्ट्रिय झण्डाको प्रयोग गर्नेलाई अब तीन वर्ष कैद सजाय हुने भएको छ ।
भदौ १ देखि मुलुकी देवानी (संहिता) ऐन, मुुलुकी देवानी कार्य्विधि (संहिता) ऐन, मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन लागू हुँदैछ ।
सो ऐनले अपराध संहिताअनुसार यस्तो कार्य गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
सरकारले राष्ट्रिय झण्डा र गानको प्रयोगसम्बन्धी कार्यविधि २०६९ बनाएको छ, जसमा कहाँ र कुन अवस्थामा यसको प्रयोग गर्ने भन्नेबारे प्रस्ट व्यवस्था छ ।
कार्यविधीमा राष्ट्रिय झण्डा च्यात्न, जलाउन, फ्याँक्न, कुनै सामान पोको पार्न, व्यापारिक प्रयोजनका लागि विज्ञापनमा प्रयोग गर्न, कम्मरमुनिको भागमा लगाइने कुनै पनि भित्री वा बाहिरी कपडामा झण्डाको चिह्न/प्रतीक राख्न, फहराउने प्रकृति (राष्ट्रिय झन्डा ओरालेर राख्दाबाहेक) अन्यन्त्र राष्ट्रिय झण्डाको प्रयोग गर्न निषेध गरेको छ ।
ऐनको १५१ मा राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षतिसम्बन्धी शीर्षकमा भनिएको छ, ‘कसैले नेपाल वा नेपाल सरकारविरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन ।’
यस्तै ऐनको १५१ को उपदफा ३ र ४ मा नेपालसँग मैत्री सम्बन्ध भएका देशका झण्डा जलाउने साथै संयुक्त राष्ट्रसंघ वा संयुक्त राष्ट्रसंघसँग आबद्ध संस्था र नेपाल सदस्य रहेका कुनै अन्तर्राष्ट्रिय÷क्षेत्रीय संस्थाको अपमान वा घृणा हुने गरी उनीहरूको झण्डा स्वीकृतिबिना प्रयोग गर्ने वा दुरुपयोग गर्नेलाई एक वर्षको कैद, १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
Related