प्रधानमन्त्री ओलीद्धारा आफुले देखिको सपना पुरा पाइपबाट घरघरमा ग्यास, ओलीद्वारा उद्घाटन
तपाईको प्रतिक्रिया





विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि पाइपबाट घरघरमा ग्यास पु¥याउने भाषण गर्दा खिसिटेउरी गर्नेलाई मंगलबार विराटनगरमा यसको उद्घाटन गरेर जवाफ दिएका छन् ।
नेपालमा पहिलो पटक बायोग्यासबाट पाइपलाइनमार्फत घरघरमा ग्यास आपूर्ति गर्ने कार्यको उनले उद्घाटन गरेका हुन् ।
विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसेवा सदनमा स्थापना गरिएको २ सय घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट निस्केको ग्यास पाइपलाइनबाट पहिलो चरणमा नजिकका ३२ घरमा ग्यास वितरण गरिएको छ ।
अघिल्लो पटकको कार्यकालमा प्रधानमन्त्री ओलीले घरघरमा ग्यास लगिने प्रतिबद्धता व्यक्त गरेका थिए।
सो अवसरमा प्रधानमन्त्री ओलीले सानो क्षमताको भए पनि सो परियोजना नेपाललाई ऊर्जामा आत्मनिर्भरताका साथ समृद्धिको यात्राको थालनी भएको उल्लेख गर्दै यसलाई मुलुकभर विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए ।
उनले भने, ‘आज यहाँका ३२ घरका जनतालाई काँधमा सिलिण्डर बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको छ । सिलिण्डरको बिदाइ भएको छ । यसलाई अभियानकै रुपमा देशैभर विस्तार गरी ऊर्जामा आत्मनिर्भर बन्नु अबको आवश्यकता हो ।’
बायोग्यासबाट उत्पादित ग्यास एलपिजीभन्दा २० प्रतिशत सस्तो हुनाका साथै जोखिमरहित, वातावरणमैत्री र यसबाट प्राङ्गारिक मल निस्कने तथा त्यसले रासायनिक मल पनि प्रतिस्थापन गर्ने भएकाले सो प्रविधिलाई सरकारले प्रोत्साहन गर्ने प्रधानमन्त्री ओलीले बताए ।
उनले गौसेवा सदनको हाताभित्र एक मेगावाटको सौर्य प्रणाली राख्न सकिने धारणा पनि राखे ।
‘अब पनि समस्या छ भनेर बस्ने अवस्था छैन, समस्यालाई सम्पत्तिका रुपमा उपयोग गर्नुपर्छ, आवश्यकता, दृष्टिकोण र प्रतिबद्धताले नै अगाडि बढ्न सकिन्छ’, प्रधानमन्त्रीले भने।
प्राकृतिक स्रोतसाधनले सम्पन्न नेपालले त्यसको अधिकतम उपयोगबाट दुनियाँले नपत्याउने गरी छोटो समयमै विकासमा ठूलो फड्को मार्न सकिने बताउँदै उनले बढ्दो व्यापार घाटा कम गर्ने, आयात प्रतिस्थापन गर्ने, रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर हुने क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे।
सो अवसरमा प्रधामन्त्रीले उक्त बायोग्यास प्लाण्टको निरीक्षण गर्नाका साथै प्लाण्ट स्थापना गर्न सहयोग पु¥याउने विभिन्न संघसंस्थाका प्रतिनिधिलाई सम्मानपत्र प्रदान गरे ।
Related