बागलुङ कालिका भगवतीमा भक्तजनको भीड, कालिकाको शक्तिबारे यस्तो छ रोचक किम्बदन्ती
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
बागलुङ/ विषेशगरी नवरात्रको सुरुवातसँगै बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा दर्शनार्थीहरुको भीड लागेको छ ।बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो । यहाँ छिमेकी मुलुक भारतबाट पनि हजारौँ दर्शनार्थी आउने गर्दछन् ।
हिन्दू धर्ममा कालिका भगवतीको महत्वूर्ण स्थान छ ।शक्ति प्राप्तिका लागि कालिका भगवतीको पूजा आराधना गर्ने विश्वास गरिन्छ । कालिका भगवतीप्रति विश्वास राखेर पूजा पाठ गर्नाले उनी प्रसन्न हुन्छिन् र फल प्राप्ति हुन्छ भन्ने किंवदन्ती रहँदै आएको छ ।
कहिले र कसरी भएको थियो मन्दिरको निर्माण ?
बागलुङ नगरपालिका २ मा मन्दिर अवस्थित छ । पूर्व र दक्षिणमा काठेखोला, पश्चिममा बागलुङ बजार र उत्तरतिर पवित्र कालिगण्डकी नदीको मनोरम दृश्य देखिने ठाउँमा मन्दिरको निर्माण गरिएको छ । मन्दिरको वरिपरि साल, सल्लो, चिलाउने र काईयोका ठूला ठूला रुखहरुले घेरिएको दृश्य देख्न पाइन्छ ।
मन्दिर परिसरमा ५ वटा सत्तलहरु, मन्दिरको वरिपरि भित्तामा १४ वटा प्रस्तर मुर्ति र १०८ वटा तामाका दियोगहरु राखिएका छन् । सत्तलहरुमा पूजापाठ गर्ने, भजन कीर्तन गर्ने, भक्तजनहरु बास बस्ने, जाग्राम बस्ने गर्दछन् ।मन्दिर तथा सत्तलका छानाहरुमा परेवाहरुले आकर्षण दिइरहेका हुन्छन् ।
मन्दिरको वरिपरि विभिन्न व्यक्ति तथा संस्थाहरुले चढाएका घण्टहरु झुण्ड्याइएका छन् । यी घण्टहरुमा चढाउने व्यक्तिहरुको नाम र मिति राखिएको देखिन्छ । मन्दिरको मूल द्वारबाट भित्र छिरेपछि दायाँतिर अखण्ड धुनी र बायाँतिर एउटा ठूलो नगरा राखिएको देख्न सकिन्छ ।
नगरा बिहान बेलुका नित्य पूजाको समयमा बजाइन्छ । त्यहाँबाट भित्र गएपछि १० फिट लम्बाई र १० फिट चौडाई भएको एउटा मण्डप छ । त्यसै मण्डपभित्र भूगर्भमा बागलुङ कालिका भगवतीको मूर्ति सीधा आँखाले हेर्न नसकिने हुँदा स्थापनाकालदेखि नै जमिनमुनि राखिएको छ ।
मण्डपको छेउमा शिवलिङ्ग र गणेशको पनि स्थापना गरिएको छ । मन्दिरको पश्चिम र उत्तरतिर बोका, कुखुरा, सुँगुर, राँगो र परेवा बलि दिने छुट्टाछुट्टै ठाउँहरुको व्यवस्था गरिएको छ ।
मन्दिरको चार दिशामा चार ढोका रहेका छन् । पूर्व दिशाको ढोका सितिमिति खोलिदैन । त्यो ढोका खोले नाग उत्पन्न हुने र अनिष्टको खतरा हुने भन्दै बन्द रहँदै आएको छ ।मन्दिर जीर्णोद्वारको बेला वि.सं. १९८२ मा उक्त ढोका खोल्दा यस्तै भएको विश्वास रहँदै आएको छ ।
कालिका भगवती मन्दिरको पूजा सञ्चालन, संरक्षण, रेखदेखका साथै अन्य आवश्यक व्यवस्था गर्न ‘कालिका भगवती गुठी सञ्चालक समिति’ रहेको छ । पूजा सञ्चालनको लागि पुजारीको रुपमा मन्दिरको स्थापना कालदेखि नै विशेष गरेर खड्का (क्षेत्री) हरुलाई राख्ने गरेको पाइन्छ ।
मन्दिर अवस्थित जंगलको बीचबाट कालीगण्डकी नदी झर्ने बाटो छ । त्यो बाटोमा एउटा बाफ आउने दुलो छ । त्यही दुलोबाट हरेक मध्यरातमा कालिका भगवती बाघमा चढी कालीगण्डकी नुहाउन जान्छिन् भन्ने भनाई रहँदै आएको छ ।
राती जाग्राम बस्ने कतिपय महिलाहरुले देवी बाघमा चढ्दा देखेको अनुभूति सुनाउने पनि गर्छन् । राजकुमारीले देवीको प्रत्यक्ष दर्शन पाउँथिन् भन्ने किम्बदन्ती पनि रहेको छ ।
मनोकामना पुरा हुने विश्वास
बागलुङ कालिका भगवतिको दर्शन गर्न देशभरीका दर्शनार्थीहरु बागलुङ पुग्ने गर्छन् । सडकमार्ग हुदैँ प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको दर्शन गर्न जाने दर्शनार्थीहरु बागलुङ कालिका भगवतिको दर्शन गर्न पुग्ने गर्दछन् ।
प्रत्येक मंगलबार, शनिबार र अष्टमी लगायत विभिन्न तिथीहरूमा ब्राह्मणहरू मार्फत देवी स्थानमा रुद्रीपाठ, चण्डीपाठ, पूजापाठ आदि शुभ कार्य गरिन्छ । दर्जनौं ब्राह्मणहरू तथा अन्य व्यक्तिहरू पाठपूजाका निम्ति मन्दिर वरिपरि बसेको देख्न सकिन्छ ।
Related