निर्मला हत्या प्रकरण : विशाल र प्रदीपले अपराध स्वीकारे, डिएनए रिपोर्टको पर्खाईमा प्रहरी
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
काठमाडौं । साउन १० मा कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि विभिन्न चरणमा आन्दोलन भइरहेका छन् ।
प्रहरीले वास्तविक हत्यारा पत्ता लगाउन नसक्दा प्रहरी नै दुर्नाम भइरहेको छ । तर, यही बेला प्रहरीले निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेको दावी गरेको छ ।
सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको आरोपमा पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकार गरेका छन् । उनीहरु महेन्द्रनगर–१८ भगतपुरका बासिन्दा हुन् । दुवै लागुऔषध सेवन गर्थे ।
पक्राउ परेका प्रदीपले निर्मलालाई आफूले पहिले नै चिनेको बताएका छन् । त्यो दिन बाटोमा आफूले निर्मलालाई साइकलको चेन बनाइरहेको अवस्थामा भेटेको र गफ गर्न भन्दै उनलाई कर गरेर खोलापारि लगेको बताएका छन् । बलात्कारका क्रममा निर्मलाले प्रतिकार गरेपछि हत्या गरेको दुवैले बयान दिएका छन् ।
उनीहरूबारे संकलन भएका विभिन्न प्रमाणले निर्मलाको बलात्कार र हत्यामा संलग्नताको बलियो आधार देखाएको प्रहरी अधिकारीहरू बताउँछन् । तर, डिएनए रिपोर्ट नै निर्णायक हुने उनीहरूको भनाइ छ ।
साथी विशाल चौधरी पनि लागुऔषध सेवनका लागि आसपासमै रहेको र आफूले निर्मलालाई लिएर गएको देखेपछि पछि–पछि आएको उनको भनाइ छ । निर्मलासँग गफ गर्ने क्रममा आफू उत्तेजित भएपछि उखुबारीमा लगेर बलात्कार गरेको उनले बताएका छन् । पछि विशालले समेत बलात्कार गरेको उनले प्रहरीलाई बताएका छन् ।
दुवै जनाले लागुऔषधको नसामा बलात्कार गरेको बताएका छन् । तर, उनीहरूको भनाइलाई मात्र आधार नमानेर प्रहरी बलियो प्रमाण खोज्नतर्फ लागेको छ ।
पक्राउ परेका अर्का अभियुक्त दिनेश चौधरीको भने प्रत्यक्ष संलग्नता नरहेको पाइएको छ । विशाल र दिनेशलाई बिहीबार महेन्द्रनगरबाट काठमाडौं ल्याएर सोधपुछ अघि बढाइएको छ । उनीहरूलाई अभिभावकसहित काठमाडौं ल्याइएको हो ।
शंकास्पद भनिएका प्रदीप, विशाल र दिनेशको डिएनए परीक्षण प्रक्रिया अघि बढिसकेको छ । रिपोर्ट आएपछि मात्र उनीहरूविरुद्ध थप प्रमाण संकलन गरिने प्रहरीले जनाएको छ ।
sorce nayapatrika daily
Related